दार्चुला, साउन २ गते ।
दार्चुला भन्सार कार्यालयले नयाँ आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँ भन्सार राजश्व संकलनको नयाँ लक्ष्य पाएको छ ।
गतवर्ष १ करोड १६ लाख १२ हजार २७८ रुपैयाँ भन्सार राजश्व संकलन गरेको कार्यालयले चालू वर्षमा १ करोड २० लाख संकलनको दायित्व पाएको छ । भन्सार विभागबाट नयाँ लक्ष्य दिइएको सुचना अधिकारी विकास सुनारले बताउनुभयो ।
वार्षिक लक्ष्यलाई हरेक महिनामा बाँडिएको छ । साउनमा ८ लाख ४० हजार, भदौंमा ९ लाख ६० हजार, असोजमा १० लाख ८० हजार र कार्तिकमा ७ लाख २० हजार भन्सार संकलनको लक्ष्य छ ।
यसैगरी, मंसिरमा ७ लाख २० हजार, पुषमा ८ लाख ४० हजार, माघमा ९ लाख ६० हजार र फागुनमा ९ लाख ६० हजार भन्सार संकलन गर्ने लक्ष्य राखिएको छ ।
चैत्रमा १० लाख ८० हजार, वैशाखमा १२ लाख, जेठमा १४ लाख ४० हजार र असारमा १२ लाख रुपैयाँ भन्सार राजश्व संकलनको लक्ष्यसहित तालिका छ ।
दार्चुलामा हाल एउटा मात्रै भन्सार कार्यालय छ । सदरमुकाम खलंगास्थित भन्सार कार्यालयले खलंगा र धारचुला जोड्ने सीमानाकाबाट मात्रै भन्सार संकलन गर्दछ ।
नेपाल–चीनको सीमानाका टिंकरमा पनि छोटी भन्सार कार्यालयको दरबन्दी छ । तर टिंकरमा भन्सार कार्यालय सञ्चालनमा आएको छैन ।







