दार्चुला जिल्ला अदालतमा ७६ प्रतिशत मुद्दा फस्र्यौट

0
56

दार्चुला, साउन १ गते ।
दार्चुला जिल्ला अदालतमा आर्थिक वर्ष २०८२–८३ मा ७६ दशमलव २९ प्रतिशत मुद्दाहरु फस्र्यौट गरिएका छन् । एकजना मात्रै जिल्ला न्यायाधिशको दरबन्दी रहेको जिल्ला अदालतमा गतवर्ष १७७ वटा मुद्दाहरु फस्र्यौट गरिएका छन् ।
अघिल्लो वर्ष २०८१–८२ बाट जिम्मेवारी सरिआएका ६८ मुद्दा र आर्थिक वर्ष २०८२–८३ मा १६४ नयाँ मुद्दा दर्ता भएको जिल्ला अदालतको तथ्याङ्क छ । २०८२ असार मसान्तसम्मको कुल मुद्दा संख्या २३२ रहेकोमा १७७ मुद्दा फस्र्यौट गरिएका छन् ।
अब ५५ मुद्दाहरुको नयाँ आर्थिक वर्षमा जिम्मेवारी सरेको छ । दुई वर्ष नाघेको कुनै पनि मुद्दा जिल्ला अदालतमा नरहेको जिल्ला न्यायाधिश भुवन गिरीले बताउनुभयो । १८ महिना नाघेको एउटा मुद्दा र १८ महिनाभित्रका ५४ मुद्दा मात्रै जिल्ला अदालतमा विचाराधिन छन् ।
आर्थिक वर्ष २०८२–८३ मा मेलमिलाप सम्बन्धि २८ मुद्दाहरु रहेकोमा मेलमिलापकर्ताबाट ६ मुद्दा टुंगिएको र १७ मुद्दा अदालतको फैसलाबाट फस्र्यौट गरिएका छन् ।
वालवालिका संलग्न भएका मुद्दाहरुको संख्या १० छ । गतवर्ष दर्ता भएका ६ र अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका ४ मुद्दा रहेको जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले बताउनुभयो । यीमध्ये ४ वटा मुद्दा १२० दिनभित्र फस्र्यौट गरिएका छन् भने १२० दिन नाघेर ५ मुद्दा फस्र्यौट गरिएका छन् । वालवालिका संलग्न भएको एउटा मुद्दा भने टुंगिन बाँकी छ ।
जिल्ला अदालतमा गतवर्ष विशेष प्रकृतिका र फुटकर गरी ७३ वटा निवेदन दर्ता भएकोमा ६९ निवेदन फस्र्यौट गरिएका छन् । ३ वटा फुटकर निवेदन मात्रै फस्र्यौट हुन बाँकी रहेको अदालतको अभिलेख छ ।
मृत्युको न्यायिक घोषणा सम्बन्धि ४ वटा निवेदन दर्ता गरिएकोमा सबै निवेदन फस्र्यौट गरिएका छन् । १२ वर्षसम्म वेपत्ता भएका नागरिकलाई मृत्यु घोषणा गर्न यस्तो निवेदन जिल्ला अदालतमा दर्ता गर्नुपर्ने व्यवस्था छ । मृत्युदर्ताको प्रमाणपत्र, वडा कार्यालयको सिफारिस र प्रहरी मुचुल्का लगायतका कागजपत्रको आधारमा जिल्ला अदालतले मृत्युको न्यायिक घोषणा गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here