३६ जनाले भ्रमण गरे १ नम्बर पिलर

0
24

दार्चुला, साउन ३२ गते ।
नेपाल–चीन सीमाना तिंकर भञ्ज्याङस्थित १ नम्बर पिलर भ्रमणप्रति आकर्षण बढिरहेको छ । दुइ महिनाको अवधिमा ३६ जनाले १ नम्बर पिलर क्षेत्रको भ्रमण गरेको तिंकरको छियालेकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार जेठ र असार महिनामा ११ टोलीले १ नम्बर पिलर क्षेत्रको भ्रमण गरेको छ । यस अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि १ नम्बर पिलरमा पुगेको छ ।
इलाका प्रहरी कार्यालय छियालेक तिंकरले १ नम्बर पिलर क्षेत्र भ्रमण गर्ने सबैको अभिलेख राखेको छ । उच्च हिमालय र सीमाक्षेत्र भएकोले त्यसक्षेत्र भ्रमण गर्नेहरुको अभिलेख राखिएको इप्रका तिंकरका इन्चार्ज एवं प्रहरी नायव निरीक्षक धनसिंह धामीले बताउनुभयो ।
भ्रमण गर्ने व्यक्तिहरुको सुरक्षा र हिमपात लगायतको जोखिम भए उद्धार गर्ने उद्देश्यले भ्रमणकर्ताको अभिलेख राख्ने गरिएको प्रहरी भनाई छ ।
धेरैजसो भ्रमण टोलीसंगै छियालेकस्थित प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी पनि जाने गरेका छन् । भ्रमणकर्ताको आग्रह र शारीरिक अवस्था हेरेर सुरक्षाकर्मीलाई पनि संगसंगै पठाउने गरिएको प्रनानि धामीले बताउनुभयो ।
समुद्री सतहबाट ५२७० मिटरको उचाईमा रहेको १ नम्बर पिलर क्षेत्र भ्रमणकर्ताहरुको आकर्षक गन्तव्य बन्ने सम्भावना छ । अन्तर्राष्ट्रिय सीमाक्षेत्र र उच्च हिमालय क्षेत्र रहेकोले १ नम्बर पिलर घुम्नेको संख्या बढिरहेको व्यास गाउँपालिका– १ का वडाअध्यक्ष अशोकसिंह बोहराको भनाई छ ।
तिंकर गाँउ ३६०० मिटरको उचाईमा छ । तिंकर गाउँबाट २ किलोमिटर दूरीमा छियालेक क्षेत्र पर्छ । छियालेकमा सशस्त्र प्रहरीको विओपी र नेपाल प्रहरीको इप्रका रहेको छ । छियालेकबाट करिब ८ किलोमिटरको पैदल उकालो चढाइपछि १ नम्बर पिलर क्षेत्र पुगिन्छ ।
छियालेक, डोङकाङ, टाटा क्षेत्रका घासे फाँटहरुले भ्रमणकर्ताहरुको मन लोभ्याउँछन् । वरिपरिका हिमालय श्रृंखलाका साथै टाटा क्षेत्रको हिमताल र १ नम्बर सीमास्तम्भ पनि यहाँका आकर्षण हुन् । खम्पा विद्रोहका नाइके वाङदी मारिएको ऐतिहासिक टाटा क्षेत्रबारे धेरैको चाँसो हुने गर्छ ।
नेपाल–चीन सीमाको १ नम्बर पिलरमा पुगेर फोटो खिच्ने, भिडियो बनाउने र राष्ट्रिय झण्डा फहराउने रहर पनि धेरैलाई हुन्छ । अहिलेसम्म भ्रमण गर्नेहरुले यो अभ्यास गदैआएका छन् ।
पैदलमार्ग भए पनि छियालेकदेखि १ नम्बर पिलरसम्मको बाटो अप्ठेरो छैन । उकालो चढ्नुपर्ने र हावामा अक्सिजनको मात्रा न्युन हुने भएकाले पैदलयात्रामा ५–६ घण्टा समय लाग्छ ।
प्रायःजसो भ्रमणकर्ताले छियालेक वा तिंकर गाउँबाट राती १–२ बजेनै यात्रा सुरु गर्छन् । विहान ६–७ बजे १ नम्बर पिलरमा पुग्न सकेमा खुला मौसममा वरिपरिको दृश्यावलोकन गर्ने मौका मिल्छ । मध्यान्ह ११–१२ बजेपछि हावा चल्ने भएकाले १ नम्बर पिलरको यात्रा गर्न चुनौतीपूर्ण हुन्छ ।
उच्च हिमालय क्षेत्र भएकोले छिनछिनमै बादलले ढाक्ने र खुल्ने अवस्था हुन्छ । वरिपरिको हिमालय मात्रै होइन आकाशमा पनि छिनछिनमै बादल फैलिने र हट्ने रोचक दृश्य देखिन्छ ।
भारतले अतिक्रमित गरेको भूमि कालापानीभन्दा केही माथि नाभीढाँग भन्ने स्थानमा दर्शन गर्न सकिने ओम हिमाल टाटाक्षेत्रको शिरानमा छ । ॐ को आकृति उत्तरतर्फ फर्किएकाले नाभीढाँगबाट दृश्यालोकन गर्न सकिन्छ ।
टाटाक्षेत्रबाट १ नम्बर पिलरतर्फ जादा यही ओम हिमालको पछाडिको भागमा हिड्नुपर्छ । एकहिसाबले ओम पर्वतलाई स्पर्श गर्ने अवसर पनि यहाँ छ । आध्यात्मिक दृष्टिले हेर्दा ओम पर्वतको स्पर्श गर्ने अवसर १ नम्बर पिलरसम्मको यात्राले दिन्छ ।
चीनको ताक्लाकोट जाने मान्छे र सामान बोक्ने घोडाखच्चरहरु अहिले छियालेकदेखि अगाडि डोङकाङ, टाटा र १ नम्बर पिलर छेउसम्म भेटिन्छन् । भ्रमणकर्ताको लागि यी मान्छे र घोडाखच्चर पनि सहयोगी बन्ने गरेका छन् । केही अप्ठेरो हुँदा सहयोग तथा उद्धारको सम्भावना पनि रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here