महाकाली कोरिडोरमा चार ठेक्काको निर्माण कार्य सम्पन्न

0
28

दार्चुला, असार ३० गते ।
महाकाली कोरिडोरमा चालु आर्थिक वर्ष २०८२–८३ मा चारवटा ठेक्काको निर्माण कार्य पूरा गरिएको छ । कोरिडोरमा चालू अवस्थामा रहेका १३ वटा ठेक्कामध्ये ४ ठेक्काको निर्माण कार्य सम्पन्न भएको योजना कार्यालयले जनाएको छ ।
निर्माण कार्य पूरा भएका ठेक्कामध्ये दार्चुलामा दुइटा, बैतडी र डडेल्धुरा जिल्लाको भूगोलमा एक–एक छन् । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा सडक ग्राभेल गर्ने ठेक्का पूरा भएको इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो ।
धन्थला–धरमघर क्षेत्रमा २ दशमलव ५ किलोमिटर सडक ग्राभेलस्तरमा स्तरोन्नती गरिएको उहाँले बताउनुभयो । २०७९ कार्तिकमा सम्झौता गरिएको सडक ग्राभेलको ठेक्का शक्ति–रोजिन जेभीले पाएको थियो ।
सडक ग्राभेलको ठेक्का ६ करोड ५८ लाख ७९ हजार ३६६ रुपैयाँ ४० पैसामा सम्झौता गरिएकोमा ९८ दशमलव ६५ प्रतिशत प्रगति भएको योजना कार्यालयले जनाएको छ । सडक ग्राभेलको ठेक्कामा ६ करोड ४९ लाख ९१ हजार ८८८ रुपैयाँ ३१ पैसा भुक्तानी गरिएको छ ।
चालू वर्षमा निर्माण पूरा भएको अर्को ठेक्का सुन्सेरा क्षेत्रको छ । गल्थादेखि मुस्ताङधारसम्मको २ किलोमिटर लामो सडकको स्तरोन्नती गर्ने र नाली निर्माण गर्ने ठेक्का लगाइएको थियो ।
आर्थिक वर्ष २०७८–७९ मा सम्झौता गरिएको यो ठेक्का शनिदेव निर्माण सेवाले पाएको थियो । ५ करोड ५२ लाख ५५ हजार ७६२ रुपैयाँ २५ पैसाको ठेक्का सम्झौता रकम रहेकोमा महाकाली कोरिडोर सडक योजनाले ५ करोड ३४ लाख २ हजार ३४२ रुपैयाँ ८५ पैसा कम्पनीलाई भुक्तानी गरेको छ । यो ठेक्कामा ९६ दशमलव ६५ प्रतिशत प्रगति भएको इन्जिनियर दिनेश रैखोलाको भनाई छ ।
बैतडीमा सडक ट्रयाक निर्माण गर्न २०७८ असारमा सम्झौता गरिएको कन्काइ–कर्ण जेभीको ठेक्का पनि सम्पन्न भएको छ । कुल १३ करोड ९० हजार ७७२ रुपैयाँ २५ पैसामा ठेक्का सम्झौता गरिएकोमा १२ करोड ९४ लाख ५७ हजार २२३ रुपैयाँ ९२ पैसा कम्पनीलाई भुक्तानी गरिएको छ । यो ठेक्कामा ९९ दशमलव ५१ प्रतिशत प्रगति भएको योजना कार्यालयको अभिलेख छ ।
डडेल्धुरा जिल्लाको जोगबुढा क्षेत्रमा १७५० मिटर कालोपत्रे गर्ने ठेक्का पनि सम्पन्न गरिएको छ । २०७९ कार्तिकमा मालिका–जेबी जेभीसंग भएको सम्झौता रकम ८ करोड ८ लाख ८४ हजार ८४० रुपैयाँ ९० पैसा रहेको थियो । यो ठेक्कामा ९८ दशमलव ४६ प्रतिशत प्रगति भएको र ७ करोड ९६ लाख ४२ हजार ८१७ रुपैयाँ ४९ पैसा कम्पनीलाई भुक्तानी गरिएको कोरिडोर कार्यालयले जनाएको छ ।
ठेक्का सम्झौताअनुसार ९५ प्रतिशतभन्दा बढी प्रगति भएको अवस्थामा ठेक्का सम्पन्न गरी अन्तिम भुक्तानी दिन सकिने प्रावधान रहेकोले यो वर्ष चारवटा ठेक्का सम्पन्न गरिएको योजना प्रमुख ईश्वर कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here