फरार १०७ मध्ये ८४ अभियुक्त पक्राउ गरेकोमा प्रहरीलाई जिल्ला अदालतको सम्मान

0
25

दार्चुला, असार २९ गते ।
जिल्ला अदालत दार्चुलाले फैसला कार्यान्वयनमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलालाई सम्मान गरेको छ । चालू आर्थिक वर्षमा फरार १०७ अभियुक्तमध्ये ८४ जनालाई पक्राउ गरिएको प्रहरी अभिलेख छ ।
जिल्ला अदालतको फैसलाबाट दोषि ठहर गरिएका तर फरार रहेका व्यक्तिलाई पक्राउ गर्ने कार्यमा प्रहरीले सक्रियता देखाएको छ । फरारमध्ये ७८ दशमलव ५० प्रतिशत अभियुक्तहरु पक्राउ गरी मुद्दाको फैसलाअनुसार जेल चलान गरिएको प्रहरीको भनाई छ ।
शुक्रवार जिल्ला अदालत परिसरमा जिल्ला न्यायाधिश भुवन गिरीले जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी गौरव महत र प्रहरी निरीक्षक हेमराज भट्टलाई सम्मानपत्र प्रदान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका अभियुक्तहरुबाट ३४ वर्ष ८ महिनाको कैद र ५ लाख ३० हजार ३९४ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ ।
जिल्ला प्रहरीको वार्षिक कार्य सम्पादनमा कम्तिमा २० प्रतिशत फरार अभियुक्त पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गर्ने शर्त राखिएको डिएसपी गौरव महतले बताउनुभयो । जिल्लामा सिंगो प्रहरी संगठनको सक्रियता र परिचालनले फरार अभियुक्तहरु ठूलो संख्यामा पक्राउ गर्न सफल भएको उहाँको भनाई छ ।
यसैगरी, चालू आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा १२७ मुद्दाहरु दर्ता भएकोमा ९२ वटा फस्र्यौट गरिएका छन् । फस्र्यौट गरिएका मुद्दाहरुको प्रतिशत ७२ प्रतिशत छ । ३० वटा मुद्दाहरु मुतलबी (पेन्डिङ)मा छन् भने ५ मुद्दा चालू अवस्थामा छन् ।
चालू वर्षमा दर्ता गरिएका मुद्दाका प्रतिवादी संख्या १५७ रहेकोमा १५३ जना पक्राउ गरिएको प्रहरीको भनाई छ । चारजना प्रतिवादी भने फरार छन् ।
चालू वर्षमा जघन्य कसुरका १० वटा मुद्दाहरु रहेकोमा सबैको अनुसन्धान कार्य सम्पन्न गरेर फस्र्यौट गरिएको सुचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज भट्टले बताउनुभयो । जघन्य कसुरका मुद्दामध्ये कर्तव्य ज्यानका ४ र जबर्जस्तीकरणीका ६ मुद्दा रहेको उहाँको भनाई छ ।
गतवर्ष २०८१–८२ मा भने जिल्ला प्रहरीमा मुद्दा दर्ता संख्या १४९ थियो । चालू वर्षमा २२८ वटा ठाडो उजुरी जिल्ला प्रहरीमा प्राप्त भएको र ती सबै फस्र्यौट गरिएको दार्चुला प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here