सडक निर्माण गर्ने सेना समाजसेवामा पनि सक्रिय

0
45

दार्चुला, असार २९ गते ।
सामरिक र रणनीतिक महत्वको टिंकर सडक निर्माणमा सक्रिय नेपाली सेनाले महाकालीको सीमाक्षेत्रमा समाजसेवा पनि गरिरहेको छ । नेपाल सरकारको निर्णयअनुसार टिंकर सडक सडक निर्माणको मुख्य जिम्मेवारी रहे पनि स्थानीय नागरिकको सेवामा पनि सेना सक्रिय छ ।
व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर १ टिंकर भञ्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माणमा सेना सक्रिय छ । अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा निर्माण भइरहेको यो सडकले भारत र चीन दुबै छिमेकीको भूगोललाई जोड्छ ।
सडक निर्माणको मुख्य जिम्मेवारीसंगै स्थानीय जनजीवन सहज बनाउन सेना सक्रिय छ । सेनाले गतवर्ष मात्रै व्यास गाउँपालिकाको वडा नम्बर २ कल्जुक्षेत्रमा सडकको ट्रयाक खोल्दा छाङरु–टिंकरसम्मको पैदलबाटो सञ्चालनमा आएको छ ।
व्यास क्षेत्र जोड्ने पैदलबाटोका लागि व्यास गाउँपालिकाले साढे ५ करोडको छुट्टै ठेक्का सम्झौता गरेको थियो । तर, कल्जुक्षेत्रको कडा र भिरालो चट्टानमा सेनाले सडकको ट्रयाक खोल्दा मात्रै व्यासको पैदलबाटो प्रयोगमा आउन सम्भव भयो ।
कल्जुक्षेत्रको ६ सय मिटर लामो कडा चट्टानमा ट्रयाक खोल्नु निकै चुनौतिपूर्ण थियो । तर दुबैतर्फबाट एकसाथ काम थालेर सेनाले कल्जुक्षेत्रमा सडकको ट्रयाक खोलिदियो । सेनाको यो कार्यले पैदलबाटो सञ्चालन आउन ठूलो योगदान पुगेको भन्दै गतवर्ष व्यास गाउँपालिकाले सेनालाई सम्मान गरेको थियो । दुम्लिङमा पैदलबाटो सञ्चालनमा आएको घोषणा कार्यक्रममा टिंकर सडक आयोजना प्रमुख रहेका प्रमुख सेनानी राजेश कटवाललाई सम्मानपत्र दिइएको थियो ।
सेनाले सडक निर्माणको प्रारम्भिक बिन्दु तुषारपानीदेखि मालगाउँसम्मको ५ किलोमिटर सडक २०८१ माघमा सञ्चालनमा ल्याएको थियो । गतवर्षको कार्तिक २४ गते व्यास गाउँपालिकाको वडा नम्बर २ राङथलसम्मको थप ३ किलोमिटर लामो सडक पनि खुलाएको थियो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले झोलुंगे पुल निर्माण गरेर चर्चामा रहेको दुम्लिङ गाउँमा पनि गाडी पुगेको छ । सेनाले गत वैशाख २६ गते पहिलोपटक दुम्लिङमा गाडी पुगाएको हो । आफुले निर्माण गरिरहेको टिंकर सडकअन्तर्गत १२ किलोमिटर लामो सडक सेनाले खुलाएको छ । हाल दुम्लिङसम्मको सडकमा गाडी, टेक्टर सञ्चालन भइहेका छन् ।
सेनाले गतवर्ष २०८२ को वैशाखमा व्यास गाउँपालिका–१ छाङरुमा सडक निर्माणका लागि क्याम्प स्थापना गरेको छ । हेलिकोप्टरमार्फत स्काइभेटर मेसिन ढुवानी गरि छाङरुको गागाक्षेत्रमा २ किलोमिटर सडकको ट्रयाक पनि निर्माण गरेको छ ।
छाङरुमा सेनाले सरकारी बजेटमै क्याम्पको भँौतिक संरचना पनि निर्माण गर्दैछ । सडक निर्माणमा संलग्न सेनाको फौजका लागि छाङरुको सुतलामा क्याम्पको संरचना बनाइदैछ ।
छाङरुमा सेनाको क्याम्प राखिएपछि स्थानीयमा टिंकर सडक निर्माणले गति पाउने आश जागेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहरा बताउनुहुन्छ । तर सरकारले पर्याप्त बजेट नदिएपछि जनताको अपेक्षाअनुसारको गतिमा सडक निर्माण हुन नसकेको उहाँको गुनासो छ ।
सडक निर्माणका लागि छाङरुमा क्याम्प स्थापना भएलगत्तै आएको आर्थिक वर्ष २०८२–८३ को बजेटले स्थानीयलाई निराश बनायो । केपी ओली नेतृत्वको सरकारले यो बजेटमा टिंकर सडक निर्माणका लागि मात्र एक करोड बजेट राखिदियो । न्युन बजेटका कारण चालू वर्षमा छाङरु क्षेत्रमा सडक निर्माणको थप काम हुन सकेको छैन ।
सरकारले नयाँ बजेटमा पनि टिंकर सडकका लागि पर्याप्त बजेट छुट्याएको छैन । आर्थिक वर्ष २०८३–८४ का लागि सेनाले ३०–३५ करोड बजेट प्रस्ताव गरे पनि बालेन नेतृत्वको रास्वपा सरकारले १३ करोड रुपैयाँ मात्रै टिंकर सडकमा बजेट दिएको छ । पर्याप्त बजेट नभए पनि नयाँ बजेटबाट छाङरु क्षेत्रको सडक निर्माण हुने स्थानीयको आश छ ।
नेपाली सेनाले गतवर्षको बर्खायाममा व्यास गाउँपालिका वडा नम्बर ३ र २ जोड्ने फतङगाड खोलामा अस्थायी काठेपुल निर्माण गरेको थियो । टिंकर सडक निर्माण क्षेत्रमा स्थानीयवासीको आवश्यकतालाई सम्बोधन गर्न अस्थायी काठेपुल राखिएको सेनाले जनाएको छ । माल र दुम्लिङक्षेत्रका वासिन्दालाई सुन्सेरा, तुषारपानी, सिना गाउँसम्म आवतजावत गर्न यो पुल आवश्यक छ ।
सेनाको सडक निर्माणका कारण फतङगाडमा रहेको झोलुंगेपुल क्षतिग्रस्त भएको थियो । बर्खायाममा खोलामा पानी बढ्दा पैदल आवतजावत गर्ने स्थानीय र भेडाबाख्रा तथा खच्चर व्यवसायीलाई समस्या थियो । सेनाले काठेपुल राखिदिएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।
केही हप्ताअघि मात्रै सुन्सेरा र मालगाउँको छेउमा भएका दुइटा ट्याक्टर दुर्घटनामा सेनाले टोलीले तत्काल उद्धार गरेको थियो । दुर्घटनाको केही मिनेटमै सेनाको टोलीले दुबै घटनामा उद्धार र सहायता गरेको थियो । सडक निर्माणमा खटिएको सेनाले आपतकालिन अवस्थामा उद्धार र सहायताको कार्य पनि गरेकोमा स्थानीय खुशी छन् ।
दार्चुला–टिंकर सडक आयोजनाको कार्यालय रहेको सुन्सेरामा असार २३ गते मात्रै सेनाले गोरक्ष बाटिका निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ । सुन्सेरामा रहेको गोरखनाथ मन्दिर परिसरमा निर्माण गरिएको गोरक्ष बाटिकामा स्वयम्भु, पशुपतिनाथ र गुरु गोरखनाथको प्रतिक बनाइएको छ ।
गोरक्षा बाटिकामा फुल र विरुवाहरु रोपेर आवश्यक संरक्षणका लागि स्थानीय समुदायलाई हस्तान्तरण गरिएको सेनाको भनाई छ । गोरखनाथ मन्दिर र गोरक्ष बाटिकाको सुन्दरता बढाउन सौन्दर्यिकरण गर्नुका साथै झिलिमिली बत्ती जडान गरिएको छ ।
सुन्सेरास्थित आयोजना कार्यालयमा सेनाको स्वास्थ्य युनिट पनि छ । फौजको स्वास्थ्य सेवाका लागि खटिएका टोलीले स्थानीयवासीलाई पनि स्वास्थ्य सेवा र परामर्श दिदैआएको छ । दैनिक १०–१५ जना स्थानीयवासी स्वास्थ्य सेवा तथा परामर्शका लागि सुन्सेरास्थित सेनाको क्याम्प पुग्ने गरेका छन् ।
सुन्सेरा, तुषारपानी, गल्था र सिना वस्तीका नागरिक स्वास्थ्य सेवाका लागि सेनाको क्याम्प पुग्ने गरेका छन् । आफुसंग उपलब्ध औषधि र उपचार सेवा स्थानीयवासीलाई नियमित रुपमा उपलब्ध गराउदैआएको सेनाको भनाई छ ।
गतवर्षको बर्खामा खलंगा–सुन्सेरा सडक अवरुद्ध भएन । केही स्थानमा सडक अवरुद्ध हुँदा तत्कालै सडक खुलाएर यातायात सञ्चालनमा ल्याइएको थियो । सुन्सेरामा सेनाको आयोजना कार्यालय रहेकाले सुन्सेरासम्मको सडक नियमित सञ्चालनमा योगदान पुगेको सुन्सेराका स्थानीय पत्रकार मान सिंह कुवँर बताउँछन् ।
सुन्सेरादेखि तुषारपानीसम्मको ३ किलोमिटर लामो सडक सञ्चालनमा पनि सेनाको योगदान रहेको स्थानीय बताउँछन् । गतवर्ष बर्षातले अवरुद्ध भएको तुषारपानीनजिकको सडक सेनाले गत असोजमा खुलाएर सञ्चालन ल्याएको थियो । टिंकर सडकको जिरो पोइन्टसम्म पुग्नका लागि सेनाले यो सडक खण्ड खुलाएको थियो ।
सुन्सेरा, दुम्लिङ, थिई र छाङरु गरी चार ठाउँमा सेनाको क्याम्प रहेको छ । सडक निर्माणका लागि क्याम्प स्थापना गरिएका हुन् । तर सेनाको उपस्थितिले सीमाक्षेत्रमा थप सुरक्षाको प्रत्याभूति भएको व्यास गाउँपालिका–२ का स्थानीय जनकसिंह धामी बताउँछन् । ‘ठाउँठाउँमा सेनाको क्याम्प छ, आवतजावतका साथै आर्थिक गतिविधिमा पनि योगदान पुगेको छ’ उहाँले भन्नुभयो– ‘सेनाले स्थानीय तरकारी र कृषि उत्पादन उपभोग गरिरहेको छ । यसबाट स्थानीयलाई फाइदा भएको छ ।’
खलंगास्थित सेनाको २ नम्बर विकास निर्माण गणले सदरमुकाम खलंगाको पुलघाट क्षेत्रमा देशभरका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको फोटोसहितको जानकारीमूलक पोष्टर राखेका छ । दुई वर्षअघि राखिएको यो पोष्टरले भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई सकारात्मक सन्देश दिइरहेको छ ।
टिंकर सडक निर्माणमा पर्याप्त बजेट उपलब्ध नहुँदा स्थानीयवासीले अपेक्षा गरेको गतिमा सडक निर्माण हुन सकेको छैन । तर सेनाले विकास निर्माणका साथै समाजसेवामार्फत सीमाक्षेत्रमा आफ्नो सक्रियता बढाएको छ । सीमाक्षेत्रका नागरिक सेनाको यो सक्रियताप्रति खुशी भएका छन् । सरकारसंग टिंकर सडकमा पर्याप्त बजेटको एकसुत्रिय माग स्थानीयको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here