कैलाश यात्राको पहिलो टोली पुग्यो ताक्लाकोट

0
17

दार्चुला, असार २७ गते ।
लिपुलेक नाका भएर कैलाश–मानसरोवर यात्राको पहिलो टोली चीनको ताक्लाकोट पुगेको छ । ५ हजार मिटर उचाईको लिपुलेक नाका भएर भारतीय तिर्थयात्रीहरुको टोली शुक्रवार विहान चीनको तिब्बत क्षेत्रमा प्रवेश गरेको हो ।
नेपालको आपत्तिका बीच भारत र चीन दुबै छिमेकीले लिपुलेक नाकाबाट कैलाश यात्रा सुरु गरेका हुन् । सन् २०२६ मा १० वटा भारतीय तिर्थयात्रीहरुको टोली लिपुलेक नाका भएर कैलाश यात्रा गर्ने तयारी छ ।
उत्तराखण्ड सरकारको कुमाउँ मण्डल विकास निगमको व्यवस्थापनमा कैलाश यात्रा भइरहेको हो । पहिलो टोलीले शुक्रवार विहान ९ बजे लिपुलेक नाका पार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कालापानीभन्दा ९ किलोमिटर माथि नाभीढाँग क्षेत्रमा रहेको कैलाश यात्रीको टोली शुक्रवार विहान ७ बजे लिपुलेकतर्फ हिडेको थियो । दुई घण्टाको पैदल हिडाइपछि ९ बजे लिपुलेक नाकामा टोली पुगेको थियो ।
भारत–तिब्बत सीमा पुलिसले कैलाश यात्रा टोलीको सुरक्षा व्यवस्थापन र चीनिया पक्षसंग समन्वय गरिरहेको जनाइएको छ । हतियारविना तर वर्दी लगाएर आइटिबीपिको सुरक्षा टोली कैलाश यात्रीहरुसंगै लिपुलेक पुगेको थियो ।
लिपुलेक नाकामै कैलाश यात्रीलाई स्वागत गर्न चीनिया टोली पुगेको थियो । चीनिया अध्यागमन विभाग र चिनिया पुलिसको टोली पनि वर्दीमै लिपुलेक नाकामा पुगेको थियो । चीनिया सुरक्षाकर्मीले पनि कुनै हतियार बोकेका थिएनन् ।
भारत र चीनबीच सीमाक्षेत्रमा हतियारसहित सुरक्षाकर्मी परिचालन नहुने सहमति भएकोले दुबै देशका सुरक्षाकर्मी आफ्नो कम्ब्याट पोशाकमा तर विनाहतियार सीमानाकामा पुगेका हुन् ।
कैलाश यात्राको पहिलो टोलीमा ४८ यात्री, एकजना डाक्टर र ३ जना भान्से छन् । कैलाश तिर्थयात्रीहरुका लागि शुद्ध शाकाहारी भोजन तयार गर्न आवश्यक खाद्यान्न सामग्रीसहित भान्सेहरु खटाइएका हुन् ।
चीनको प्रशासनिक क्षेत्रमा यातायात र होटल व्यवस्थापनको जिम्मेवारी चिनिया पक्षले हेर्ने गर्छ । कैलाश यात्रीहरुले पवित्र मानसरोवर तालको परिक्रमका साथै कैलाश पर्वतको पनि परिक्रमा गर्नेछन् । कैलाश र मानसरोवरको परिक्रमासहित दर्शन गरिसकेपछि ताक्लाकोट बजारभन्दा दक्षिणतर्पm रहेको खोज्जरनाथ मन्दिर दर्शन गर्ने परम्परा छ । खोज्जरनाथ मन्दिर नेपालको हिल्सा नाका नजिक पर्दछ ।
असार २० गते दिल्लीबाट हिडेको कैलाश यात्राको पहिलो टोलीले दुई दिन गुञ्जी र दुई दिन कालापानी र नाभीढाँग क्षेत्रमा बिताएको थियो । पहिलो टोलीका सबै कैलाश यात्री सकुशल लिपुलेक नाका भएर ताक्लाकोट पुगिसकेको अधिकारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here