दलका प्रमुख र पत्रकारहरुसंग नयाँ सिडिओको पहिलो भेटघाट

0
18

दार्चुला, असार २७ गते ।
दार्चुलाका नयाँ प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जिल्लास्थित राजनीतिक दलका प्रमुख र पत्रकारहरुसंग परिचयात्मक भेटघाट गरेका छन् । शुक्रवार दार्चुलामा सिडिओको जिम्मेवारी सम्हालेपछि पौडेलले शनिवार दलका जिल्ला प्रमुखहरु र पत्रकारहरुसंग छुट्टाछुट्टै रुपमा सामूहिक भेटघाट गरेका हुन् ।
गृह मन्त्रालयको असार १९ गतेको निर्णयअनुसार पौडेल दार्चुलाको सिडिओको जिम्मेवारीमा आएका हुन् । शनिवार विहान ११ बजे पत्रकारहरुसंग र १२ः३० बजे राजनीतिक दलका प्रमुखहरुसंग प्रजिअ पौडेलको परिचयात्मक भेटघाट भएको सहायक प्रजिअ मोहन सिंह धामीले बताउनुभयो ।
पत्रकारहरुसंगको भेटघाटमा जिल्लाको समसामयिक अवस्था र स्थानीय प्रशासनले प्राथमिकता दिनुपर्ने विषयहरुबारे छलफल गरिएको थियो । पत्रकार महासंघ दार्चुलाका अध्यक्ष राजेन्द्रसिंह धामी, पूर्वअध्यक्ष शंकर सिंह धामी, सचिव सुन्दर सिंह धामी, सहसचिव हरिप्रसाद जोशीलगायतले नयाँ प्रजिअलाई सुझाव दिएका छन् ।
यसैगरी नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टले पनि सिडिओ पौडेललाई जिल्लाको आवश्यकता र वस्तुस्थितिबारे सुझाव दिएका छन् ।
दिउसो १२ः३० बजे भएको राजनीतिक दलका प्रमुखहरुसंगको भेटघाटमा पनि जिल्लाको वस्तुस्थितिबारे छलफल गरिएको छ । दार्चुलाका क्रियासिल ७ वटा राजनीतिक दलका जिल्ला प्रमुखहरु छलफलमा सहभागी थिए ।
रास्वपा जिल्ला अध्यक्ष राजेश सिंह सामन्त, काग्रेसका जिल्ला उपसभापति मान सिंह बुढाथोकी, एमालेका जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्ति, नेकपाका जिल्ला इन्चार्ज ललितसिंह ठगुन्ना ‘प्रविण’ छलफलमा सहभागी थिए । यसैगरी, राप्रपाका जिल्ला अध्यक्ष प्रकाश दयाली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मनवीर दमाई संघीय लोकतान्त्रिक मञ्चका पार्टी प्रतिनिधि गगन सिंह ठगुन्ना भेटघाटमा सहभागी थिए ।
राजनीतिक दलका जिल्ला प्रमुखहरुसंगको भेटघाटमा जिल्लाको समसामयिक वस्तुस्थिति, विकास निर्माण, जनजीवनलाई सहज बनाउने, गाडीभाडा निर्धारण, भन्सार सहजिकरण, अन्तर्राष्ट्रिय नाकाको सहज सञ्चालन लगायतको विषयमा छलफल गरिएको छ ।
शुक्रवार मात्रै दार्चुला आइपुगेका सिडिओ पौडेलले सोही दिन जिल्ला सुरक्षा समिति, जिल्लास्थित कार्यालय प्रमुखहरु र जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुसंग परिचयात्मक बैठक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here