असार २६ मा लिपुलेक नाका खुल्दै

0
59

दार्चुला, असार २४ गते ।
भारत र चीनको सहमतिमा असार २६ देखि लिपुलेक नाका खुल्ने तयारी छ । अतिक्रमित नेपाली भूमि रहेको सो क्षेत्रमा भारतको प्रशासनिक र सैनिक नियन्त्रण रहेको छ । उत्तरको छिमेकी चीनले पनि नेपालको आपत्तिलाई नजरअन्दाज गरि भारतसंगको तिर्थयात्रा र व्यापार खुलाउदै छ ।
लिपुलेक नाका भएर कैलाश–मानसरोवर यात्रा गर्ने भारतीय तिर्थयात्रीहरुको पहिलो टोली सोमबार अतिक्रमित नेपाली भूमि गुञ्जी पुगेको छ । दिल्लीबाट टनकपुर–पिथौरागढ–धारचुला हुँदै सडक मार्गबाट यात्राको टोली गुञ्जी पुगेको हो ।
कैलाश यात्रा र व्यापारका लागि लिपुलेक नाका प्रयोग गर्न भारत–चीनबीच भएको सहमतिप्रति नेपालले आपत्ति जनाउदै आएको छ । तर दुबै छिमेकीले कैलाश यात्रा र व्यापार सुरु गर्न लागेका छन् । कैलाश यात्राको पहिलो टोलीलाई भारतको विदेश मन्त्रालयले असार २० गते दिल्लीबाट विदाई गरेको थियो ।
दिल्लीबाट हिडेको कैलाश यात्राको टोली शनिवार बेलुकी टनकपुर पुगेको थियो । कैलाश यात्राको व्यवस्थापन उत्तराखण्ड सरकारको कुमाउँ मण्डल विकास निगमले गरिरहेको छ । टनकपुरमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पहिलो टोलीलाई स्वागत गरेका छन् । टनकपुर मुख्यमन्त्री धामीको विधानसभा क्षेत्रमा पर्ने बजार पनि हो । टनकपुरबाट आइतवार पिथौरागढ हुँदै यात्राको टोली धारचुला पुगेको छ ।
पिथौरागढमा डिएम आशीष भटगाईले स्वागत गरेका थिए । दमाहा र छलिया बाजासहित कुमाउँ संस्कृतिसहितको झाँकीले कैलाश यात्रीहरुलाई स्वागत गरिएको छ ।
धारचुलाबाट सोमबार कैलाश–मानसरोवर यात्राको टोली गुञ्जी पुगेको छ । गुञ्जीमा कुमाउँ मण्डल विकास निगमको पर्यटक आवाश गृहमा टोलीलाई राखिएको छ । कैलाश यात्राको सुरक्षा व्यवस्थापन भारत–तिब्बत सीमा पुलिसलाई दिइएको छ ।
यो वर्ष लिपुलेक नाकाबाट १० वटा टोलीले कैलाश दर्शन गर्नेछन् । हरेक टोलीलाई ५० यात्रीहरु हुनेछन् । पहिलो टोलीमा १५ महिला र ३४ जना पुरुष सहभागी रहेको कुमाउँ मण्डल विकास निगमका प्रबन्धक दिनेश गुरुरानीले जानकारी दिएका छन् ।
पिथौरागढ जिल्ला प्रशासनले कैलाश यात्राको टोलीको स्वागत, आवाश, भोजन, स्वास्थ्य परीक्षण, सुरक्षा, यातायात र अन्य आवश्यक व्यवस्थापन पूरा भएको जनाएको छ ।
पिथौरागढमा कैलाश यात्रीहरुले उत्तराखण्ड सरकारले सञ्चालन गरेको हाउस अफ हिमालयाज स्टलको अवलोकन पनि गरेका छन् । यो स्टलमा जंगली माहुरीको मह, पहाडी टोपी, मुन्स्यारी क्षेत्रको राज्मा, कालो भट्ट र हर्बल चियाप्रति यात्रीहरुको आकर्षण देखिएको छ ।
पिथौरागढका जिल्ला अधिकारी (डिएम) आशीष भटगाईले यात्रा मार्गको सुरक्षा, चिकित्सा, खानेपानी, सरसफाई र अन्य आधारभूत सुविधाको उचित व्यवस्थापन गरिएको बताएका छन् । कैलाश यात्रीहरुको सहजता र सुरक्षित यात्राका लागि स्थानीय प्रशासन सक्रिय रहेको जानकारी दिइएको छ । यात्रीहरुको लागि टोलीलाई एकजना चिकित्सक पनि खटाइएका छन् ।
तीन हजार २०० मिटरको उचाईमा रहेको गुञ्जीक्षेत्रमा कैलाश यात्रीलाई दुई दिन विश्राम गराइने तालिका छ । गुञ्जीदेखि २२ किलोमिटर उत्तरतर्फ नाभीढागमा थप दुई दिन कैलाश यात्रीहरुलाई विश्राम गराइने छ । कालापानीभन्दा ९ किलोमिटर माथि लिपुलेकको फेदमा नाभीढाँग रहेको छ ।
कैलाश–मानसरोवर यात्राको पहिलो टोली जुलाइ १० मा अर्थात असार २६ गते लिपुलेक नाका भएर चीनको सीमामा प्रवेश गर्नेछ । लिपुलेकबाट २० किलोमिटरको सडक दूरीमा रहेको चीनको ताक्लाकोट बजारमा कैलाश यात्रीहरुलाई जुलाइ १० मा विश्राम गराइने तालिका छ ।
लिपुलेक नाका कटेपछि भारतीय तिर्थयात्रीहरुको यात्रा व्यवस्थापन चीनिया पक्षले गर्नेछ । दोभाषे, केही गाइडहरु र शाकाहारी खाना पकाउने कुक टीम पनि तिर्थयात्रीहरुसंगै हुनेछन् ।
कोभीड महामारी र गलवान घटनाका कारण सन् २०२० देखि कैलाश–मानसरोवर यात्रा रोकिएको थियो । गतवर्षदेखि मात्रै भारत र चीनले कैलाश यात्रा पुनःसञ्चालन गरेका थिए ।
गतवर्ष लिपुलेक नाकाबाट कैलाश यात्रीको ५ टोलीले यात्रा गरेको थियो भने नाथुला नाकाबाट १० टोलीले यात्रा गरेको थियो । यो वर्ष लिपुलेकबाट १० टोलीले यात्रा गर्ने तालिका छ ।
कैलाश–मानसरोवर यात्रासंगै लिपुलेक नाकाबाट व्यापार पनि खुलाउने तयारी छ । कैलाश यात्रा गतवर्षदेखि खोलिए पनि लिपुलेकबाट व्यापार भने यो वर्षदेखि खोलिन लागेको हो । चीनको ताक्लाकोट बजारमा व्यापारका लागि जान भारत सरकारले २६ जनालाई ट्रेडपास (व्यापार अनुमतिपत्र) दिइसकेको छ । यीमध्ये १७ व्यापारी र ९ जना सहयोगी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here