खाद्य कम्पनीले गहुँ पनि बिक्री गर्दै

0
29

दार्चुला, असार २२ गते ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दार्चुलामा चामलका साथै गहुँ बिक्रीवितरण थालेको छ । सदरमुकाम खलंगास्थित कम्पनीको शाखा कार्यालयबाट पहिलोपटक गहुँ बिक्री थालिएको कम्पनीले जनाएको छ ।
बजारको आवश्यकता र स्थानीयको मागको आधारमा गहुँ बिक्री थालिएको शाखा कार्यालयका प्रमुख हर्कराज उपाध्यायले बताउनुभयो । गत जेठ ५ देखि सुरु भएको गहुँ हालसम्म ३६ क्वीन्टल बिक्री भइसकेको छ ।
गत जेठमा ३० क्वीन्टल गहुँ बिक्री भएपछि थप ७० क्वीन्टल गहुँ बिक्रीका लागि दार्चुला ल्याइएको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । ‘हामीसंग ६४ क्वीन्टल गहुँ मौज्दात छ, आवश्यकता अनुसार थप ढुवानी पनि हुन्छ’ उहाँले भन्नुभयो ।
खाद्य कम्पनीले प्रतिकिलो ५३ रुपैयाँमा गहुँ बिक्री गरिरहेको छ । बजारमा नीजिक्षेत्रले भने ५६ रुपैयाँ प्रतिकिलो गहुँ बिक्री गर्दैआएको छ । बजारको भन्दा सस्तो मूल्य भएपछि खाद्यको गहुँ उपभोक्ताले किनिरहेका छन् ।
२५ किलोग्रामको गहुँको बोरा १३ सय २५ रुपैयाँमा बिक्री भइरहेको छ । सस्तो र गुणस्तरीय गहुँ भएकोले ग्राहकहरुले खाद्य कम्पनीको गहुँ किन्ने गरेको उपाध्यायको भनाई छ । सदरमुकाम खलंगाबाहेक दार्चुलाका १८ स्थानमा खाद्य बिक्रीहरु रहेका छन् । स्थानीयको माग र आवश्यकताअनुसार बिक्री केन्द्रहरुमा चामलसंगै गहुँ पनि बिक्री गरिने कम्पनीले जनाएको छ ।
हाल व्यासको राप्ला र छाङरु बिक्री केन्द्रमा पनि गहुँ बिक्री भइरहेको छ । अन्य बिक्रीकेन्द्रहरुमा पनि आवश्यकता अनुसार गहुँ बिक्रीवितरण गरिने कार्यालय प्रमुख उपाध्यायले भन्नुभयो । यसका लागि सम्बन्धित क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने ठेकेदार र वडा कार्यालयबीच छलफल हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । ‘स्थानीयस्तरमा माग र आवश्यकता छ भने सम्बन्धित ठेकेदारबाट ढुवानी गराएर बिक्रीवितरण गर्न सकिन्छ’ उहाँको भनाई छ ।
खाद्य कम्पनीको बिक्री डिपो रहेको अपीहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा केही दिनभित्रै गहुँ बिक्री सुरु गर्ने तयारी पनि भइरहेको छ । गहुँको मूल्य गा्रमिण भेगका बिक्री केन्द्रहरु र डिपोमा भने प्रतिकिलो ५४ रुपैयाँ निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here