कम्पनीले २३ सयमा भनेको ग्यास २५ सयमा बेचिदैं

0
42

दार्चुला, साउन ३ गते ।
ग्यास कम्पनीले खलंगामा २३ सय रुपैयाँमा बिक्री गरिने भनेर जानकारी दिएको ग्यास सिलिण्डर २५ सयमा बिक्रीवितरण भइरहेको छ । नेपाल आयल निगमले असार ३१ देखि १४ दशमलव २ किलोग्रामको ग्यास सिलिण्डर बिक्री सुरु गरेपछि सदरमुकाम खलंगामा नयाँ सिलिण्डर पुर्याइएका छन् । तर, महंगोमा बिक्रीवितरण भइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा ग्यास आपूर्ति गर्दैआएका रेडियन्ट र साइपाल ग्यास कम्पनीले आयल निगमको धनगढीस्थित प्रादेशिक कार्यालयमा दार्चुला खलंगाको बिक्री मूल्यको विवरण बुझाएका छन् । उक्त विवरणअनुसार ग्यास सिलिण्डरको उपभोक्तालाई बिक्री मूल्य २२ सय ९० रुपैयाँ १३ पैसा मात्र हो । तर खलंगामा सबैजसो पसलमा निर्धारित मूल्यभन्दा बढीमा सिलिण्डर बिक्री भइरहेका छन् ।
ग्यास कम्पनीहरुले खलंगामा उपभोक्तालाई बिक्री हुने मूल्य विवरण बुझाएको निगमका धनगढीस्थित प्रादेशिक कार्यालय प्रमुख मनोहर डिसीले बताउनुभयो । ग्यासको मूल्य, ढुवानी भाडा र डिलरको कमिशन सबै जोडेर मूल्य विवरण कम्पनीले निगमलाई बुझाएका छन् ।
भ्याटसहित २ हजार ४ रुपैयाँ ८० पैसामा ग्यास सिलिण्डर कम्पनीलाई डिलरलाई उपलब्ध गराएका छन् । धनगढीदेखि दार्चुलासम्मको ग्यास सिलिण्डरको ढुवानी भाडा प्रति सिलिण्डर २३० रुपैयाँ देखाइएको छ । डिलरलाई प्रति सिलिण्डर ५५ रुपैयाँ १३ पैसा कमिशन पनि उल्लेख गरिएको छ । यी सबै जोड्दा २२ सय ९० रुपैयाँ १३ पैसामा सिलिण्डर बिक्री गर्नुपर्ने हुन्छ ।
खलंगामा भने २४ सय ५० र २५ सयमा ग्यास सिलिण्डर बिक्री भइरहेका छन् । केही पसलमा २४ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ भने केहीमा २५ सय रुपैयाँ मूल्य राखिएको छ ।
ग्यास कम्पनीहरुले पेश गरेको मूल्य विवरणअनुसार खलंगामा ग्यास सिलिण्डरको अधिकतम मूल्य २३ सय हुनुपर्ने निगमका धनगढीस्थित प्रमुख डिसीको भनाई छ । निर्धारित मूल्यभन्दा बढीमा बिक्रीवितरण भइरहेको अवस्थामा वाणिज्य विभाग, जिल्ला प्रशासन र स्थानीय तहले अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो ।
निगमले ग्यास आपूर्तिको व्यवस्थापन गर्ने र बजार मूल्यको अनुगमनको जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहको हुने डिसीको भनाई छ । ‘निर्धारित मूल्यभन्दा बढीमा बिक्रीवितरण भइरहेको छ भने सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन र स्थानीय तहले यसको अनुगमन गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
खलंगा क्षेत्रका ग्यास बिक्रेताहरु भने ग्यास सिलिण्डरको ढुवानी महंगो भएको कारण मूल्य बढाउनुपरेको बताउँछन् । ग्यास कम्पनीको गाडीमा ढुवानी गरिदा मात्रै निर्धारित २३० रुपैयाँ ग्यास सिलिण्डर खलंगासम्म ढुवानी हुने अवस्था रहेको ग्यास बिक्रेताको भनाई छ । भनेको समयमा ग्यास कम्पनीको गाडीले ढुवानी नगर्ने भएकाले अन्य नीजिक्षेत्रका गाडीमार्फत ग्यास सिलिण्डर ढुवानी भइरहेको बिक्रेताहरु बताउँछन् ।
ग्यास कम्पनीहरुको गाडीमार्फत सुरक्षित रुपमा सिलिण्डर ढुवानी गराउन सकिएमा निर्धारित मूल्यमा ग्यास बिक्रीवितरण हुने अवस्था देखिन्छ । बजार अनुगमनको जिम्मेवारी पाएका निकायहरु चुपचाप बस्दा ग्यास ढुवानीको नाममा भइरहेको महंगी अनियन्त्रित बनेको छ । ढुवानी भाडा बढी देखाउदै ग्यास बिक्रेताहरुले आफुखुशी ग्यास सिलिण्डरको बिक्रीमूल्य निर्धारण गर्दैआएका छन् ।
ग्यास सिलिण्डरको ढुवानी, आपूर्ति र बिक्रीवितरणबारे आफुले सम्बन्धित पक्षहरुबाट जानकारी लिइरहेको दार्चुलाका प्रजिअ वर्तराज पौडेलको भनाई छ । असार अन्तिम सातादेखि मात्रै प्रजिअको जिम्मेवारी सम्हालेका पौडेलले ग्यास सिलिण्डरको चर्को मूल्यबारे स्थानीय प्रशासनको ध्यानाकर्षण भएको र केही दिनमै यसबारे छलफल गरी टुंगो लगाइने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here