सङ्कटकालीन अवस्था !

0
374

सम्पादकीय ।  

कोरोना सङ्क्रमणका कारण देश पुनः सङ्कटकालीन अवस्थामा फर्किएको छ तर सङ्कटकालीन अवस्थामा आइपर्ने चुनौतिसँग लड्न भने राज्य तयार देखिएको छैन ।

बिगतमा खरिद गरिएको चौबिस लाख डोज खोप गायब छ भने त्रिभुवन विमान स्थलमा विदेशबाट ल्याइएको खोप अलपत्र छ । पहुँचवालाहरुको घर र पसलमा खोप पुगेको छ भने अग्रपङ्तिमा रहने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि जिल्लामा बुस्टर डोज उपलब्ध हुन सकेको छैन । जिल्लाको अवस्था अझ प्रतिकूल छ । दुई महिनादेखि जिल्ला अस्पताल पदाधिकारीविहीन छ भने स्वास्थ्यकर्मीहरुले पाउने भनिएको जोखिम भत्ता बिगत छ महिनादेखि पाएका छैनन् । प्राप्त खोप हराउनु र विमान स्थलमै रहनु, अग्रपङ्तिमा रहने जनशक्तिका लागि बुस्टरडोजको व्यवस्था सबैतिर समान हिसाबले नहुनु, व्यवस्थापनको जिम्मेवारी कसैलाई नदिनु र सङ्क्रमित नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने स्वास्थ्यकर्मीहरुलाई भत्ता उपलब्ध नगराउनु लोककल्याणकारी राज्यको काम किमार्थ हुन सक्दैन ।

सङ्कटकालीन अवस्थामा राज्यका सबै निकाय र ती निकायमा प्रतिनिधित्व गर्ने व्यक्तिहरु निक्कै संवेदनशील र जिम्मेवार हुनु पर्दछ र उनीहरुले सोहीअनुसार आफ्नो कार्यसम्पादन गर्नु पर्दछ । उपयुत्र्तm अवस्थाले राज्यका ती निकाय र तिनमा प्रतिनिधिन्व गर्ने व्यक्तिहरु जिम्मेवार नभएको प्रष्ट देखिन्छ । ती व्यक्तिहरु जिम्मेवार भईदिएको भए चौबीस लाख डोज हराउने थिएन, विमान स्थलसम्म आइपुगेको खोप व्यवस्थापन भई सक्थ्यो, पहुँचवालाहरुको घर र पसलसम्म खोप पुग्दैनथ्यो, अग्रपङ्तिमा रहने जनशक्तिका लागि देशभर एकै पटक खोप उपलब्ध हुन्थ्यो, अस्पतालहरु व्यवस्थापकीय व्यक्तिविहीन हुँदैनथे र स्वास्थ्यकर्मीहरुले भत्ता पाइसकेका हुन्थ्ये । तर विडम्बना प्रत्येक नागरिकको जीवन रक्षाका लागि संवेदनशील हुनु पर्ने यो बेला सरकार र त्यसका निकायहरुले कार्यसम्पादन चुस्त देखिएको छैन । सङ्क्रमणलाई गम्भीरताका साथ लिएको देखिदैन ।

हवाइ उड्यन खुला छ, यातायात खुला छ, दुई देशसँग जोडिको सीमाहरु खुला छन्, बजार खुला छ, कार्यालयहरु खुला छन् तर विद्यालय बन्द छन् । सङ्क्रमण भित्रैबाट सुरु हुने जस्तो गरी आवागमन खुला तर विद्यालय बन्द गरिएको अवस्थाले सरकार सङ्कटकालीन अवस्थाका लागि तयार छैन भन्ने प्रष्ट भएको छ । नयाँ सरकार गठनभएपछि पुरानो सरकारले गरेका कमजोरीहरु दोहोरिने छैनन् र नागरिकले राज्यको सेवा सुविधा सहजै पाउनेछन् भन्ने आशा गर्नु अन्यथा होइन तर अघिल्लो सरकारको भन्दा सजिलो अवस्थामा पनि व्यवस्थापन फितलो देखिउनुले अहिले कोभिडका बिरुद्ध गरिने कार्यक्रम पनि प्रभावकारी नहुने तथा नागरिकको स्वास्थ्यमा प्रतिकूलता थपिन सक्ने पर्याप्त आधारहरु दिएको छ । विद्यालय बन्द गराएर र मास्क अनिवार्य गराउँदैमा सङ्क्रमण रोकिने होइन । यसका अन्य व्यवस्थापकीय र प्रतिकार्यका कार्यहरु सञ्चालन गरिनु पर्दछ ।