दार्चुलामा १८ करोड विकास बजेट फ्रिज

0
309

दार्चुला, साउन ३२ गते ।
आर्थिक वर्ष २०७९/८० मा दार्चुला जिल्लामा १८ करोड रुपैयाँभन्दा बढी विकास बजेट फ्रिज भएको छ । संघीय सरकारका निकायहरुको ९ करोड ३८ लाख ७३ हजार २ सय १८ रुपैयाँ पूँजीगत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुला जिल्लाभरीका ३२ वटा सरकारी निकायहरुमा संघीय सरकारले गतवर्ष पूँजीगत बजेट निकासा दिएको कोष नियन्त्रक जगन्नाथ भट्टले बताउनुभयो । संघीय सरकारको १ अर्ब १७ करोड ५६ लाख ३७ हजार ५ सय ४४ रुपैयाँ बजेटमध्ये १ अर्ब ८ करोड १७ लाख ६४ हजार ३ सय २५ रुपैयाँ खर्च भएको कोलेनिका दार्चुलाको तथ्यांक छ । संघीय बजेटको ८ प्रतिशत पूँजीगत बजेट फ्रिज भएको छ ।
दार्चुलामा प्रदेश सरकारको गतवर्ष ८ करोड ६९ लाख १४ हजार ८२ रुपैयाँ पूजीगत बजेट फ्रिज भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला जिल्लाभरीका ११ सरकारी निकायहरुमा पूँजीगत बजेट निकासा दिएको थियो । कुल ८९ करोड २९ लाख २२ हजार २ सय ३ रुपैयाँ बजेट निकासा भएकोमा असारसम्म ८० करोड ६० लाख ८ हजार १ सय २० रुपैयाँ विकास बजेट खर्च भएको कोलेनिका दार्चुलाले जनाएको छ ।
सर्वाधिक बजेट खर्च महाकाली कोरिडोरमा
दार्चुलामा सबैभन्दा बढी पूजीगत बजेट खर्च महाकाली कोरिडोर सडक आयोजनामा भएको छ । गत आर्थिक वर्षमा महाकाली कोरिडोर सडक आयोजनाले ५४ करोड ३५ लाख ९९ हजार ४ सय ३५ रुपैयाँ विकास बजेट खर्च गरेको छ । महाकाली नदी नियन्त्रण आयोजनामा २६ करोड ९० लाख ८१ हजार १ सय २२ रुपैयाँ पूँजीगत बजेट खर्च भएको कोलेनिका दार्चुलाको तथ्यांक छ ।
जिल्ला प्रहरी कार्यालयले ३ करोड ६३ लाख ४९ हजार २ सय ६ रुपैयाँ पूँजीगत खर्च गरेको छ । जिल्ला प्रशासन कार्यालयले २ करोड ६५ लाख ६ हजार ८१ रुपैयाँ र सशस्त्र प्रहरी वलको ५० नम्बर गुल्म छाङरुले १ करोड ५९ लाख २४ हजार ६ सय ८८ रुपैयाँ पूजीगत खर्च भएको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी र सशस्त्र प्रहरीको ५० नम्बर गुल्म तिनवटै निकायले कार्यालय भवनमा पूँजीगत बजेट खर्च गरेका हुन् ।
प्रदेश सरकारको पूँजीगत बजेटमध्ये सिँचाई विकास डिभिजनले सर्वाधिक ३४ करोड ९२ लाख रुपैयाँ खर्च गरेको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयले २६ करोड ६४ लाख, डिभिजन कार्यालयले ९ करोड २० लाख र सामाजिक विकास कार्यालयले ६ करोड ३५ लाख रुपैयाँ पूजीगत बजेट खर्च गरेका छन् ।