प्रशासकीय भवन र अस्पताल निर्माणमा १३ करोड खर्च

0
536

दार्चुला, साउन ३१ गते ।
दार्चुलाका स्थानीय तहहरुमा निर्माण भइरहेका प्रशासकीय भवन र अस्पतालमा गतवर्ष १३ करोड ३० लाख ९३ हजार २ सय ७४ रुपैयाँ खर्च भएको छ । संघीय सरकारको अनुदानमा निर्माण भइरहेका प्रशासकीय भवन र अस्पतालहरुमा यो बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा ६ वटा स्थानीय तहमा प्रशासकीय भवन र अस्पताल निर्माणका लागि पूँजीगत बजेट खर्च गरिएको कोलेनिका दार्चुलाका प्रमुख जगन्नाथ भट्टले बताउनुभयो । संघीय सरकारबाट स्थानीय तहको प्रशासकीय भवन र अस्पताल निर्माणका लागि १८ करोड ६८ लाख ५१ हजार रुपैयाँ निकासा भएको थियो ।
संघीय सरकारले स्थानीय तह प्रशासनिक भवन निर्माण कार्यक्रम र स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार कार्यक्रमअन्तर्गत स्थानीय तहहरुलाई बजेट उपलब्ध गराएको हो । यी दुबै कार्यक्रमलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।
गत वर्ष प्रशासकीय भवन र अस्पताल निर्माणका लागि अपिहिमाल गाउँपालिकामा ३ करोड ६१ लाख ९६ हजार १ सय ६८ रुपैयाँ भुक्तानी गरिएको छ । नौगाड गाउँपालिकामा २ करोड ८२ लाख ५ हजार ६ सय ६९ रुपैयाँ, मार्मा गाउँपालिकामा ४ करोड ८८ लाख ६८ हजार १ सय ५३ रुपैयाँ र मालिकार्जुन गाउँपालिकामा २ करोड ३९ लाख ५१ हजार ४ सय ५२ रुपैयाँ भुक्तानी गरिएको कोलेनिका दार्चुलाले जनाएको छ ।
यसैगरी, लेकम गाउँपालिकामा १ करोड रुपैयाँ र व्यास गाउँपालिकामा २ करोड २० लाख ६८ हजार रुपैयाँ प्रशासकीय भवन र अस्पताल निर्माणमा खर्च भएको अभिलेख छ ।
गत असार महिनामा मात्रै कुल खर्चको आधा रकम भुक्तानी गरिएको छ । कोलेनिका दार्चुलाको अभिलेखअनुसार असार महिनामा ६ करोड ७८ लाख १८ हजार ३ सय ३५ रुपैयाँ भुक्तानी भएको छ ।
गतवर्ष प्रशासकीय भवन र अस्पताल निर्माणका लागि दुहुँ गाउँपालिकामा भने बजेट विनियोजन नभएकाले कुनै खर्च नभएको कोलेनिका दार्चुलाले जनाएको छ ।
महाकाली बाहेक सबै तहमा प्रशासकीय भवन बनाइदै
दार्चुलामा महाकाली नगरपालिका बाहेक सबै स्थानीय तहमा प्रशासकीय भवन निर्माण भइरहेका छन् । मार्मा गाउँपालिकाको भवन एक–दुइ महिनाभित्रै निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष जमन सिंह धामीले बताउनुभयो । व्यास गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भइ रंगरोगनको कार्य भइरहेको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो ।
दुहुँ गाउँपालिकाको प्रशासकीय भवन केही महिनाभित्र निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष नरेन्द्रसिह बडालले जानकारी दिनुभयो । नौगाड गाउँपालिकामा चालु वर्षभित्रै प्रशासकीय भवन निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले बताउनुभयो ।
अपिहिमाल गाउँपालिकामा पनि चालु वर्षभित्रै प्रशासकीय भवन निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेले बताउनुभयो । लेकम र मालिकार्जुन गाउँपालिकामा प्रशासकीय भवन निर्माण सुरु गरिएको छ ।
शैल्यशिखर नगरपालिकाले पनि प्रशासकिय भवन निर्माणको कार्य हालै सुरु गराएको छ । सदरमुकाम क्षेत्र रहेको महाकाली नगरपालिकाले भने प्रशासकीय भवन निर्माण थालेको छैन । भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने कार्य भने नगरपालिकाले थालेको छ ।
नौगाड र मालिकार्जुनमा अस्पताल निर्माण सम्पन्न हुँदै
नौगाड र मालिकार्जुन गाउँपालिकामा १० शैयाको अस्पतालको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । दार्चुलाका सातवटै गाउँपालिकाहरुमा अस्पतालको संरचना निर्माण गर्न संघीय सरकारले अनुदान उपलब्ध गराएको छ । महाकाली नगरपालिका क्षेत्रमा जिल्ला अस्पताल र शैल्यशिखर नगरपालिका केन्द्रमा गोकुलेश्वर अस्पताल सञ्चालनमा छन् ।
मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकामा अस्पतालको संरचना निर्माणाधिन छ । लेकम र दुहुँ गाउँपालिकामा अस्पताल संरचना निर्माणको ठेक्का सम्झौता भए पनि ठेकेदारले निर्माण थालेका छैनन् । निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु नगरेपछि ठेक्का सम्झौता रद्द गर्ने तयारीमा दुबै पालिका छन् ।
सम्झौतागरी लामो समयसम्म निर्माण कार्य सुरु नगरिएकाले ठेक्का रद्द गर्नुपर्ने अवस्थामा पुगेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । दुहुँ गाउँपालिकाको वडा नम्बर ४ धारीमा निर्माण गरिनुपर्ने १० शैयाको अस्पताल निर्माण कार्य सुरु हुन नसकेको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह बडालले बताउनुभयो । केही समयभित्रै ठेक्का रद्दको प्रक्रिया सुरु गरिने उहाँको भनाई छ ।