दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

0
396

दार्चुला,असोज २० गते ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि दार्चुला जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
असोज २३ गते आइतबार प्रत्यक्ष तर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रम अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका साथै जिल्लास्थित राजनैतिक दलका पदाधिकारीहरुको सहभागिता रहेको थियो । यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने छ भने निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको बिषयमा समेत अनुगमन गर्नेछ । उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिदै गरेपनि कतिपय दलहरुले उम्मेदवारको टुगों लगाउन सकेका छैनन् । निर्वाचनका लागि दार्चुलामा ८९ हजार १५४ जना मतदाता कायम रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । एक सङ्घीय निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा पुरुष ४५हजार ५४३ र महिला ४३ हजार ६११ मतदाता रहेको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । एक सङ्घीय निर्वाचन क्षेत्र, दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा कुल मतदानस्थलको संख्या ११२ रहेका छन भने मतदान केन्द्रको संख्या १४१ कायम भएको निर्वाचन कार्यालयका सूचना अधिकारी चित्र प्रकाश जोशीले जानकारी दिनुभयो । सुचना अधिकारी जोशीका अनुसार प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष २५ हजार ९२७ जना तथा महिला २५ हजार १२० जना गरी जम्मा ५१ हजार ४७ जना कायम भएको उहाँले बताउनु भयो । यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा मतदानस्थल ६० तथा मतदानकेन्द्र ७९ रहेका छन । प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा पुरुष १९ हजार ६१६ तथा महिला १८ हजार ४९१ गरी जम्मा ३८ हजार १०७ जना रहेको निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी जोशीले जानकारी दिनु भएको छ ।
यो क्षेत्रमा मतदानस्थल ५२ छन भने मतदानकेन्द्र ६२ रहेका छन । सरकारले स्थानीय तहको निर्वाचन पछि असारदेखी नयाँ मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालयले अनलाइनमार्फत समेत मतदाता नामावली दर्ता सुरु गरेको थियो । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि जिल्लामा क्रियाशील प्रमुख राजनीतिकदलहरूले चुनाव केन्द्रित कार्यक्रम अघि बढाएका छन् । दलहरुले आन्तरिक भेला,प्रशिक्षण तथा संगठन विस्तारका कार्यक्रम गाउँ गाउँसम्म सञ्चालन गरेका छन ।