दार्चुलामा थप ९ जनामा कोरोना पुष्टि

0
420

दार्चुला, माघ ६ गते ।
दार्चुलामा विहिबार ९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार जिल्लाका विभिन्न स्थानमा गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल दार्चुलामा ४ जना, गोकुलेश्वर अस्पतालमा ३ जना र पुलघाटमा २ जनामा कोरोना पुष्टि भएको हो । आज जिल्लाभरी जम्मा २६ जनाको कोरोना परीक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै दार्चुलामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ ।
पुष १ गतेदेखि हालसम्मको अवधिमा जम्मा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जना निको भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जसमध्ये महाकाली नगरपालिकामा ३० जना, मालिकार्जुन गाउँपालिकामा ९ जना, शैल्यशिखर नगरपालिकामा ४ जना, मार्मा गाउँपालिकामा २ जना र दुहूँ गाउँपालिकामा एक जना कोरोना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
जिल्लाका ब्याँस गाउँपालिका, नौगाड गाउँपालिका, अपिहिमाल गाउँपालिका र लेकम गाउँपालिकामा भने कोरोना संक्रमण पुष्टि भइसकेको छैन । जिल्लाका कुल कोरोना संक्रमितको संख्यामध्ये २ जना स्वास्थ्यकर्मी समेत रहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । उहाँका अनुसार जिल्ला अस्पताल दार्चुलाका दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइ आईसोलेशनमा बसिरहेका छन् ।