दार्चुलाका ७ वटा स्थानिय तहहरुले सार्वजनिक गरे आगामी आर्थिक बर्षको बजेट

0
913

बिरा दत्त भट्ट, दार्चुला ।

दार्चुला जिल्लाका सात वटा स्थानीय तहहरुले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् । यद्दपी निति तथा कार्यक्रम ९ वटै स्थानियतहहरुले ल्याईसकेका छन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार दार्चुलाका स्थानिय तहहरुले समयमै नीति, कार्यक्रम तथा बजेट ल्याईसकेका छन् ।

महाकाली नगरपालिकाले आगामी वर्षको वार्षिक बजेट ६३ करोड ३२ लाख ७१ हजार १ सय ६ रुपैयाँ ल्याएको छ ।  संघीय सरकारको वित्तीय सामानीकरण अनुदानबाट १३ करोड ४ लाख, प्रदेश समानीकरण अनुदानबाट ६९ लाख ४३ हजार र संयिय सशर्त अनुदानबाट २७ करोड ७८ लाख खर्च हुने गरि बजेट अनुमान गरेको छ ।

संघीय राजश्व बाँडफाँटबाट ७ करोड १८ लाख ६ हजार १ सय ६ रुपैया, प्रदेश राजश्व बाँडफाँट र यातायात करबाट १४ लाख ६५ हजार, संघिय सम्पुरक अनुदान अनुमान ३ करोड ५० लाख र संघिय विशेष अनुदान अनुमान ९७ लाख बजेट रहेको छ ।  सामाजिक सुरक्षा भत्ता अनुदान ५ करोड , प्रधानमन्त्री रोजगार कार्यक्रम ५१ लाख ७० हजार, झोलुगें पुल क्षेत्रगत कार्यक्रम ३३ लाख, सडक बोर्ड ३० लाख, राष्ट्रिय परिचय तथा पञ्जिकरण कार्यक्रमबाट १६ लाख र आन्तरिक आम्दानी १ करोड २५ लाख बजेट अनुमान गरेको छ ।

शैल्यशिखर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ३० लाख ६७ हजार ७० रुपैयाँ अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले बताउनु भयो ।  नगरपालिकाले आगामी वर्ष आन्तरिक आम्दानी अनुमान २ करोड, संघीय सरकारको समानीकरण अनुदान १३ करोढ १ लाख, प्रदेशसको समानीकरण ६८ लाख ६९ हजार, संघीय सरकार राजस्व बाडफाड ७ करोड ३३ लाख ४५ हजार ७० रुपैयाँ र प्रदेश राजस्व १३ लाख ५२ हजार बजेट अनुमान गरिएको छ । यस्तै संघीय ससर्त अनुदान २३ करोड ५४ लाख, विशेष अनुदान ७५ लाख, समपुरक अनुदान  ६७ लाख, प्रदेश विशेष अनुदान ६८ लाख, समपुरक अनुदान ५० लाख १ हजारको बजेट सार्वजनिक गरिएको छ ।

मालिकार्जुन गाँउपालिकाले ४७ करोड १९ लाख ७ हजार बराबरको अनुमानित बजेट गाउँसभामा पेश गरेको छ । आर्थिक बर्ष २०७७÷७८का लागि अनुमानित बजेट, निति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको गाँउपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनु भयो ।

मार्मा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड २५ लाख ८१ हजार आठ सय चालिस रुपैयाँ अनुमान गरिएको अध्यक्ष जमन सिंह धामीले बताउनु भयो । कोरोना भाइरसबाट प्रभावित बेरोजगार युवाहरुलाई अध्यक्ष रोजगार कार्यक्रमका लागि ३० लाख, कोभिड–१९ लक्षित प्रविधिमैत्री शिक्षा कार्यक्रमका लागि ५ लाख, कोरोना प्रकोप व्यवस्थापन कोषमा ९९ लाख ८० हजार विनियोजन गर्ने जनाएको छ । यस्तै संघीय सरकारबाट प्राप्त समपुरक अनुदान तर्फ सार्सी बजानी सडक निर्माणमा एक करोड, पारिबगड गुल्जर बझाङ जोड्न् सडकका लागि एक करोड र ग्रामीण जलस्रोत परियोजना समपुरक तर्फ १ करोड बजेट गाउँपालिकाका सातौँ गाउँसभामा पेश गरिएको छ ।

लटिनाथ खेलकुद मैदान निर्माणका लागि २५ लाख, तपोबन खेल मैदान निर्माणका लागि १० लाख, स्वास्थ्य इकाई भवन निर्माणका लागि १६ लाख बजेट विनियोजन गरिने छ । यस्तै  शिक्षा क्षेत्र तर्फ १ करोड ३० लाख, स्वास्थ्य तर्फ १ करोड ५० लाख, कृषि र पशु क्षेत्र तर्फ ४३÷४३ लाख, न्यायिक समितिका लागि १० लाख र खेलकुद तर्फ ५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै वडातर्फ १५ देखि २० लाख बजेट विनियोजन गरिने भएको छ । वडा नम्बर १, ४ र ६ मा २० लाखका दरले बजेट विनियोजन गरिने छ भने, वडा नम्बर २, ३ र ५ मा १५ लाखका दरले बजेट विनियोजन गरिने गाउँपालिकाले जनाएको छ ।

नौगाड गाउँपालिकाले आगामी आर्थिक वर्षको आन्तरिक राजश्व आय प्रक्षेपण ६५ लाख, संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड तर्फ ६ करोड ९६ लाख ५० हजार तीन सय ४० रुपैयाँ, संघीय समपुरक अनुदान बाफत एक करोड १३ लाख अनुमान गरिएको छ । संघीय विशेष अनुदान तर्फ रकम दुई करोड ५० लाख, प्रदेश सरकार बाट प्राप्त वित्तीय समानिकरण अनुदानतर्फ ६९ लाख ८० हजार, प्रदेशबाट प्राप्त राजश्व बाँडफाँड तर्फ नौ लाख ३१ हजार, प्रदेश समपुरक अनुदान तर्फ ९९ लाख ७९ हजार, प्रदेश विशेष अनुदान तर्फ ६० लाख गरी कुल ४१ करोड ७ लाख ४० हजार ३ सय ४० रुपैया अनुमान गरिएको अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो ।

लेकम गाउँपालिकाले ३८ करोड ५३ लाख ६० हजार ६०  रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले ३८ करोड ५३ लाख ६० हजार ६० रुपैँया अनुमानित बजेट सार्वजनिक गरिएको छ । संघीय राजश्व बाडफाडतर्फ ५ करोड ४६ लाख ७६ हजार ६० रुपैँयाँ, वित्तिय समानीकरणतर्फ १० करोड २८ लाख, सशर्त अनुदानतर्फ २० करोड १३ लाख, विशेष अनुदानतर्फ एक करोड ५० लाख रुपैँया प्राप्त भएको छ । सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानतर्फ ७० लाख, सवारी साधन करतर्फ ५ लाख ८४ हजार रुपँैया प्राप्त भएको छ ।

दुहूँ गाउँपालिकामा समानीकरणमा ८ करोढ ८४ लाख, सशर्त अनुदान तर्फ १२ करोड ६९ लाख संघीय राजस्व बाँडफाँड तर्फ ४ करोड ८६ लाख २३ हजार, प्रदेश समानीकरणतर्फ ६८ लाख ९४ हजार र सवारी साधन करबाट १४ लाख ७४ हजारको अनुमान गरिएको छ । दुहूँमा आगामी वर्ष ३३ करोडको बजेट ल्याइएको उपाध्यक्ष ईश्वरी जोशीले बताउनु भयो ।

ब्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाले भने आगामी आर्थिक बर्षको अनुमानीत बजेट प्रस्तुत गरेका छैन्न ।