टिंकर सडक निर्माणलाई गति दिन ठोस पहल गर्दैछु : पूर्वमन्त्री बडू

0
365

दार्चुला
पूर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुला टिंकर सडक निर्माणलाई गति दिन आफुले पहल गरिरहेको बताएका छन् । शुक्रबार खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले टिंकर सडक खण्डलाई छुट्टै आयोजना र बजेट शीर्षकमा राख्ने गृहकार्य अघि बढि सकेको बताउनुभयो ।
अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाली सेनाको विकास निर्माण निर्देशनालय संग यसबारे छलफल र सहमति भइसकेको समेत नेता बडुको भनाइ छ । राष्ट्रिय महत्त्वको सडक भएकोले सरकारले उच्च प्राथमिकताका साथ टिंकर सडकमा बजेट व्यवस्थापन गर्नुपर्ने आवाज आफुले पटक पटक उठाउदै आएको पूर्वमन्त्री एवं सांसद दिलेन्द्र प्रसाद बडुले बताउनुभयो ।
टिंकर सडकमा पर्याप्त बजेट व्यवस्थापन गरेर सडक निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाउन निरन्तर पहल र अनुगमनको आवश्यकता रहेको पनि उहाँको भनाइ छ । चालू आर्थिक वर्षमा टिंकर सडक निर्माणका लागि सरकारले नेपाली सेनालाई १४ करोड रूपैयाँ बजेट दिएको छ । यो बजेट पर्याप्त नभएकोले आगामी माघ महिनामा टिंकर सडकमा थप बजेट व्यवस्थापन हुने नेता बडुको भनाइ छ ।
व्यासक्षेत्र जोड्ने पैदलमार्ग सञ्चालनमा समेत सघाउ पुग्नेगरी सेनाबाट दुम्लिङ देखि घाटिबगर सम्मको क्षेत्रमा तत्काल सडक निर्माण सुरू गराउन आफुले पहल गर्ने पूर्वमन्त्री बडुले बताउनुभयो । आगामी पाँच वर्षभित्र टिंकर सडकको निर्माण सम्पन्न गराउन आफुले केन्द्रीय स्तरमा पहल गर्ने तथा जिल्ला र भुगोलमा नियमित अनुगमन गरिरहने सांसद बडुले जानकारी दिनुभयो । मंसिर १७ गतेदेखि गृहजिल्ला भ्रमणमा रहनुभएका नेता बडुको पहल, उपलब्धि र भावी प्रयासबारे जानकारी दिन नेपाल प्रेस युनियनले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।