टिंकर सडकमा बजेट थप्न निर्देशन

0
166

दार्चुला, पुस ५ गते
संसदकाे राज्यव्यवस्था समितिले दार्चुला-टिंकर सडकमा बजेट थप्न सरकारलाई निर्देशन दिएको छ । विहिवार सम्पन्न समितिकाे बैठकले टिंकर सडकबारे महत्त्वपूर्ण निर्णय गरेको हाे ।
समितिकाे एघाराैं बैठकले टिंकर सडक निर्माणलाई उच्च महत्त्व र प्राथमिकता दिएर निर्माण गर्नुपर्ने निस्कर्ष निकालेकाे सांसद दिलेन्द्रप्रसाद बडुले बताउनुभयो ।
बैंठकले टिंकर सडक निर्माणबारे छुट्टै निर्णय गरेर अर्थ मन्त्रालयलाई यथाशीघ्र आवश्यक बजेट निकासा दिन निर्देशन दिएको उहाँले बताउनुभयाे । `टिंकर सडककाे राष्ट्रिय महत्त्वलाई ध्यानमा राख्दै यथाशीघ्र आवश्यक बजेट निकासा दिन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको´ समितिका सदस्य समेत रहनुभएका सांसद बडुले बताउनुभयाे ।
समितिले समयवद्ध याेजना निर्माण गरि टिंकर सडक चाँडाे सक्न नेपाली सेनालाई पनि निर्देशन दिएको छ । टिंकर सडक निर्माणमा आवश्यक समन्वय र सहजिकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय र राष्ट्रिय याेजना आयाेगलाई समेत समितिले निर्देशन दिएको छ ।
समितिकाे निर्णय र निर्देशन महत्त्वपूर्ण भएकोले यसकाे तत्काल कार्यान्वयन गरिनुपर्ने सांसद बडुकाे भनाइ छ । दार्चुलाबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री बडुले केही दिनअघि व्यासक्षेत्र भ्रमण गर्नुका साथै टिंकर सडक निर्माणबारे जिल्लास्तरमा अन्तरक्रिया समेत गर्नुभएको थियाे ।