टिंकर सडकमा बजेट अभाव, पुष २६ देखि सडक निर्माण बन्द

0
380

दार्चुला, माघ १६ गते ।
नेपाली सेनामार्फत निर्माण भइरहेको दार्चुला—टिंकर सडकमा बजेट अभाव भएको छ । बजेट अभावले सडक निर्माणको कार्य बन्द गरिएको छ । पुष २६ गतेदेखि व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाक्षेत्रमा निर्माण भइरहेको सडक निर्माण कार्य बन्द भएको स्थानीयवासीले बताएका छन् ।
‘बजेट सकिएकाले सडक निर्माणको कार्य बन्द भएको खवर छ’ व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुवरले भन्नुभयो । व्यास गाउँपालिकाको वडा नम्बर २ को भूभागमा सडक निर्माण भइरहेकोमा हाल निर्माण कार्य बन्द रहेको उहाँले बताउनुभयो ।
पुष २६ गतेदेखि टिंकर सडक निर्माणमा संलग्न सयौं मजदूरहरु निर्माणस्थलबाट घर फर्किएको व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङका स्थानीय मुकेश सिंह बुढाथोकीले बताउनुभयो । ‘सडक निर्माणमा ३ सयभन्दा बढी मजदुर संलग्न थिए, अहिले कुनै पनि स्थानमा निर्माण कार्य भइरहेको छैन’ उहाँले भन्नुभयो ।
नेपाली सेनाले भने वार्षिक लक्ष्यअनुसार सडक निर्माण कार्य भइरहेको जनाएको छ । चालु आर्थिक वर्षमा २ किलोमिटर नयाँ ट्रयाक खोल्ने र डेढ किलोमिटर सडकको स्तरोन्नती गर्ने लक्ष्य रहेको छ । पुष मसान्तसम्ममा १४ सय मिटर नयाँ ट्रयाक खोलिएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताएका छन् । ‘वार्षिक लक्ष्यअनुसार काम भइरहेको छ, थिइ भन्ने स्थानमा नयाँ क्याम्प स्थापनाको काम पनि भइरहेको छ’ प्रवक्ता भण्डारीले भन्नुभयो ।
व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर २ को दुम्लिङसम्मको क्षेत्रमा सेनाले सडकको ट्रयाक खोल्ने कार्य गतवर्षदेखि सुरु गरेको हो । माघी र माघे संक्रान्ति तिहारमा केही मजदूर घर फर्किएको सेनाको भनाई छ । ‘विभिन्न ९ ठाउँबाट सडक निर्माणको कार्य भइरहेकोमा अहिले तुषारपानी भन्ने ठाउँमा मात्र काम भइरहेको छ’ सैनिक प्रवक्ता भण्डारीले भन्नुभयो । धेरैजसो ठाउँमा चट्टानी भूभाग भएकोले मेसिनको काम बढी रहेको उहाँको भनाई छ ।
सरकारले चालु आर्थिक वर्षमा टिंकर सडक निर्माणका लागि नेपाली सेनालाई ९ करोड ५० लाख बजेट छुट्याएको छ । विनियोजित बजेटको अधिकांश हिस्सा सडक निर्माणमा खर्च भइसकेको देखिन्छ । वार्षिक २ किलोमिटर नयाँ ट्रयाक निर्माणको लक्ष्य राखिएकोमा अहिलेसम १४ सय मिटर सडक निर्माण भइसकेको सेनाले जनाएको छ । वार्षिक लक्ष्यअनुसार थिई भन्ने स्थानमा नयाँ क्याम्प स्थापना पनि भइरहेको छ । निर्धारित क्रियाकलापको संख्या र मात्रा पूरा भइरहेको बताउदै सेनाले टिंकर सडकमा बजेट अभाव रहेको सन्देश दिएको छ ।
टिंकर सडक निर्माणका लागि नेपाली सेनाले चालु वर्षमा २५ करोड बजेट माग गरेको थियो । तर सरकारले साढे ९ करोड मात्रै बजेट उपलब्ध गराएको छ । नयाँ बजेटबाट ४ वटा कम्प्रेसर मेसिन पनि सडक निर्माणमा थपिएको सेनाले जनाएको छ ।
‘सरकारले उपलब्ध गराएको बजेट सीमामा रहेर हामीले काम गर्ने हो, टिंकर सडक निर्माणमा निर्धारित वार्षिक लक्ष्यअनुसारको प्रगति भइरहेको छ’ नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भन्नुभयो ।
टिंकर सडकमा विस्फोटक पदार्थ पनि सकिएको छ । केही दिनभित्रै सडक निर्माणस्थलमा विस्फोटक पदार्थ ढुवानी भइसक्ने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । ‘विस्फोटक पदार्थ ढुवानीपछि थप कामदार परिचालित हुनेछन्’ उहाँले भन्नुभयो ।
मजदूर फर्किएको र जिलेटिन सकिएको अवस्थासंगै दार्चुला—टिंकर सडक आयोजनाका प्रमुख कर्णेल शिव केसी पनि कार्यक्षेत्रमा छैनन् । पुषको अन्तिम साता विदा र केही दिनको अफिसियल काजमा कर्णेल केसीले दार्चुला छोडेको स्रोतले बतायो । तिन हप्तादेखि आयोजना प्रमुख पनि कार्यक्षेत्रमा नहुनुले पनि दार्चुला—टिंकर सडकको निर्माण कार्य अलपत्र परेकोमा स्थानीयवासीको चिन्ता छ ।
टिंकर सडक निर्माणले स्थानीयस्तरमा रोजगारीको पनि अवसर मिलेकोमा सडक निर्माण बन्द हुँदा स्थानीयवासीमा निराशा छाएको वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिंह बुढाथोकीले बताउनुभयो । ‘राप्ला, दुम्लिङक्षेत्रका दर्जनौं स्थानीयले कामको अवसर पाएका थिए, तर सडक निर्माण बन्द भएपछि स्थानीयवासी चिन्तित छन्’ उहाँले भन्नुभयो । टिंकर सडक निर्माणमा व्यास गाउँपालिकाका स्थानीयसंगै नौगाड गाउँपालिकाका दुई सयभन्दा बढी मजदूरले काम गर्दैआएका थिए । दैलेख, जाजारकोट घरभएको कामदारहरुको समूहले पनि सडक निर्माण गर्दैआएकोमा अहिले सबै कामदार घर फर्किएको दुम्लिङका स्थानीय मुकेशसिंह बुढाथोकीले बताउनुभयो ।
विस्फोटक पदार्थको अभाव रहेको र सडक निर्माणस्थलबाट मजदूर टोली फर्किएको अवस्थाले टिंकर सडकमा बजेट अभाव रहेको देखाउछ । ‘बजेट सकिएर सडक निर्माण कार्यमा सुस्तता आएको खवर छ, टिंकर सडक निर्माणमा तत्काल बजेट थप्नुपर्छ’ व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीले भन्नुभयो । टिंकर सडकलाई उच्च प्राथमिकता दिएर पर्याप्त बजेट व्यवस्थापन गर्न केन्द्रीय सरकारलाई स्थानीय सरकारले माग र दबाव दिइरहेको उहाँले बताउनुभयो ।