छाङरुमा फोन सेवा सञ्चालन गर्न अझै केहि समय लाग्ने

0
620
छाङरुको सर्चीकोटमा रहेको स्काई फोन सेवाको टावर

दार्चुला, असार ३ गते ।
ब्यास गाउँपालिकाको वडा नं १ छाङरुमा फोन सेवा सञ्चालन गर्नका लागि अझै केहि समय लाग्ने भएको छ ।

छाङरुको सर्चीकोटमा रहेको नेपाल टेलिकमको स्काई टावर सुचारु गर्नका लागि प्राविधिकहरुको टोली दार्चुला सदरमुकाममा तयार रहेको छ । हिउदमा हिमपातले क्षति गरेको टावर मर्मतका लागि प्राविधिक टोली तयार रहेपनि त्यस क्षेत्र सम्म पुग्ने बाटो नेपाल र भारत दुबै ठाउँमा हाल अवरुद्ध भएकाले त्यस क्षेत्र तर्फ जान समस्या भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । ‘छाङरुको स्काई फोन सेवा सञ्चालन गर्न भारतको बाटो भएर जान पास समेत बनाईसकेका छौ तर भारतको गर्वाधार क्षेत्रमा पहिरोले बाटो अवरुद्ध भएकाले जान सकिएन, नेपाल हुदै जाने बाटो पनि अवरुद्ध छ’ टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले भन्नुभयो । हिउदँमा हुने अत्याधिक हिमपातले टावरमा क्षती भएपछि चीन र भारत सीमा जोड्ने दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र सञ्चार विहिन बनेको छ ।
ब्यास गाउँपालिकाको वडा नं १ मा रहेको त्रिदेशीय सीमा क्षेत्रका दुई वटा गाउँहरु छाङरु र तिंकरका स्थानियहरु सदरमुकामबाट बसाईसरि गाउँ पुगेको एक महिना भन्दा बढी भएपनि छाङरुको टावर सञ्चालनमा नआउदाँ नागरिकहरुलाई सञ्चारमा समस्या भइरहेको छ । फोन सेवा सुचारु नहुदाँ वाहिर रहेका आफन्तहरु संग कुराकानी गर्न समेत समस्या भइरहेको छाङरुका स्थानिय योगेश बोहराको भनाई छ ।
नेपाल टेलिकमको स्काई टावर रहेको छाङरुको सर्चिकोट डाडामा हिउदमा भारि हिमपात हुदाँ लिङ्क सिस्टममा समस्या भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख गुरुङको भनाई छ । ‘छाङरुका स्थानियहरुले फोटो पठाएका थिए, विटिएस सिस्टम राम्रै रहेपनि लिङ्क सिस्टममा समस्या रहेको देखिएको छ, वास्तविक समस्या के मा भएको छ, त्यो टोली गएपछि नै थाहा हुन्छ’ उहाँले भन्नुभयो । छाङरुको टावर सञ्चालनमा ल्याउनका लागि भारतको बाटो भएर जान टेलिकम प्रमुख कृष्ण बहादुर गुरुङ र प्राविधिक प्रलाह्द अधिकारीले भारतको धार्चुलाका एसडिएमबाट पास समेत बनाई सकेका छन् ।
‘भारतको सडक खुलेपछि हामी त्यस क्षेत्र तर्फ जान्छौ, लिङ्क सिस्टममा मात्रै समस्या भए टावर सञ्चालनमा आईहाल्छ, अरु उपकरण खराब भए काण्माण्डौबाट मगाउनुपर्ने हुन सक्छ’ टेलिकम दार्चुलाका प्रमुख गुरुङले भन्नुभयो ।
हाललाई छाङरुका स्थानियहरुले सशस्त्र प्रहरीको ५० नम्बर गुल्मको सेटेलाईट ल्याण्डलाइन बाट तथा भायोनेटको वाईफाईबाट आफन्तहरु संग सम्पर्क गरिरहेको ब्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष असोक सिह बोहराले बताउनुभयो ।
छाङरुमा गत बर्ष देखि भायोनेट सञ्चालनमा रहेको छ । भायोनेटबाट भिडियो कल, अडियो कल लगायत गर्न सकिने भएपनि सबैका लागि त्यो प्रवधि पहुँचमा नहुदाँ आम नागरिक सञ्चारबाट बन्चीत छन् ।
भायोनेट पनि बेला बेला अवरुद्ध हुने गरेको स्थानियहको गुनासो छ । छाङरुका स्थानियहरु संग सशस्त्रको फोन लाइन तथा भायोनेट प्रयोग गर्ने विकल्प रहेपनि तिंकर गाउँका नागरिकहरुका लागि सञ्चार सहज छैन । छाङरुमा रहेको स्काई फोन सेवाको टावर सुचारु भएमा तिंकरका बासिन्दालाई केहि तल हिडेर फोन लाग्ने गरेको भएपनि हाल स्काई टावर समेत अवरुद्ध हुदाँ सञ्चार विहिन अवस्थामा बस्नु परेको छ ।