धार्चुला बजार जाने नेपालीहरुको सीमानाकामै कोरोना परिक्षण गर्दै भारत

0
619
धार्चुला बजार जाने नेपालीको सीमानाकामा कोरोना परिक्षण गर्दै भारतीय स्वास्थ्यकर्मी

बिरा दत्त भट्ट

दार्चुला, असार ३ गते ।
दार्चुला सदरमुकाम खलंगा स्थित नेपाल भारत सीमानाकामा आवत जावत सहज भएको छ । मंगलबार देखि भारतीय बजार धार्चुलामा जाने नेपालीहरुको भारतीय स्वास्थ्यकर्मीहरुको टोलीले सीमानाकामै कोरोना परिक्षण गरिरहेको पुलघाट प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गगन सिह भाटले जानकारी दिनुभयो ।

विगत दुई तीन दिन देखि भारतले धार्चुला बजार जाने नेपालीहरुका लागि सीमानाकामा सहज गरेको छ । विनाकाम घुम्न जानेहरुलाई प्रबेश गर्न नदिएपनि आवस्यक कामकाजका लागि धार्चुला बजार जानेहरुलाई विहान १० बजे देखि भारतले कोरोना परिक्षण गरि प्रबेश गराइरहेको छ ।
कामकाजका लागि धार्चुला बजार जाने नेपालीहरुको भारतीय स्वास्थ्यकर्मीको टोलीले कोरोना परिक्षण गरिरहेको छ । मंगलबार भारतीय स्वास्थ्यकर्मीको टोलीले १ सय २२ जना नेपालीहरुको एन्टीजेन परिक्षण गरेको पुलघाट प्रहरी पोष्टका इन्चार्ज भाटले बताउनुभयो । बुधबार १ सय ५० जनाको र आज १ सय ५९ जना नेपाली नागरिकहरुको भारतले सीमामा कोरोना परिक्षण गरेको उहाँले बताउनुभयो । बुधबार परिक्षणका क्रममा भारतमा तीन जनामा कोरोना पुष्टि भएको थियो भने आज परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ । कोरोना पुष्टि भएका नेपाली नागरिकहरुलाई भारतले नेपाल तर्फ नै फिर्ता गर्ने गरेको छ । ‘बुधबार कोरोना पुष्टि भएका तीनै जनालाई भारतले सीमाबाटै फिर्ता गरेको थियो, हामीले स्वास्थ्य कार्यालयको जिम्मा लगाएका हौ’ प्रहरी सहायक निरीक्षक भाटले भन्नुभयो । भारतले यस भन्दा अघिल्ला दिनहरुमा धार्चुला प्रबेश गर्नका लागि ७२ घण्टे पिसिआर रिर्पाेट अनिवार्य रुपमा बुझाउनुपर्ने नियम बनाएको थियो । तर एक्कासी विगत तीन, चार दिन देखि भारतले सीमानाकामा आवत जावतमा खुकुलो गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भए संगै भारतले आफ्नो क्षेत्रमा प्रबेश गर्नका लागि पिसिआर अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले समेत नेपाल भित्रिने भारतीयहरुले पिसिआर रिर्पाेट अनिवार्य बुझाउनुपर्ने निर्णय गरेको थियो । पुलघाटमा भारतबाट आउनेहरुको अनिवार्य रुपमा कोरोना रिर्पाेट हेर्ने गरिएको पुलघाट पोष्टका इन्चार्ज भाटको भनाई छ । भारतीयहरु थोरै मात्र आउने गरेका छन्, जति आएपनि हामीले कोरोना रिर्पोट हेरेर नेपाल प्रबेश गर्न दिइरहेका छौ, उहाँले भन्नुभयो । भारतीय बजारको सामान नेपाली बजारमा ल्याउनका लागि भारतीय ब्यापारिहरुले पुल घाट सम्म ल्याएर नेपाली ब्यापारीले वारि भित्र्याइरहेका छन् ।