चार महिनामा दार्चुलाको विकास खर्च पाँच प्रतिशत

0
2194

दार्चुला, मंसिर ३० गते ।
दार्चुलामा चार महिनामा विकास बजेट ५ प्रतिशत मात्रै खर्च भएको छ । नेपाल सरकारको बजेट कार्यान्वयन गर्ने जिल्लास्थित दुई दर्जन सरकारी निकाय छन् । साउनदेखि कार्तिक मसान्तसम्मको अवधिमा जिल्लाभरी ५ दशमलव २५ प्रतिशत पूजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
चालु वर्षमा दार्चुला जिल्लाभरीको पूजीगत बजेट ५२ करोड ७० लाख २६ हजार रहेको छ । कार्तिक मसान्तसम्मको अवधिमा २ करोड ७७ लाख ११ हजार ६ सय ८९ रुपैयाँ पूजीगत बजेट खर्च भएको कोष नियन्त्रक भूपालसिह कार्कीले बताउनुभयो । यो नेपाल सरकारले मात्रै खर्च गर्ने बजेट हो । यसबाहेक प्रदेश सरकार र स्थानीय सरकारहरुले पनि करोडौं बजेट दार्चुलाका लागि विनियोजन गरेका छन् ।
कार्तिक महिनामा मात्रै ८ लाख ५४ हजार ६७ रुपैयाँ पूजीगत बजेट खर्च भएको छ । पूजीगत बजेटलाई विकास बजेटका रुपमा लिइन्छ । विकास बजेट खर्च न्युन भएकोले जिल्लाको विकास निर्माण ठप्पप्रायः देखिएको नागरिक अगुवा एवं अधिवक्ता गगनसिह धामीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा जिल्लास्थित १९ वटा सरकारी निकायमा पूजीगत बजेट प्राप्त भएको छ । यीमध्ये ९ वटा कार्यालयले मात्रै चार महिनाको अवधिमा पूजीगत बजेट खर्च गरेका छन् । कार्तिक महिनामा ५ कार्यालयले मात्रै पूजीगत बजेट खर्च गरेको कोष नियन्त्रक भूपालसिह कार्कीले बताउनुभयो । ‘पूजीगत बजेटको खर्च अत्यन्तै न्युन छ, थोरै कार्यालयले मात्रै पूजीगत बजेटको सानो रकम मात्रै खर्च गर्न सकेका छन्’ उहाँले भन्नुभयो ।
चार महिनामा खर्च भएको २ करोड ७७ लाख पूजीगत बजेटमध्ये दार्चुला तिंकर सडक योजनाको मात्रै २ करोड ५१ लाख ५३ हजार ६ सय ८ रुपैयाँ छ । गत वर्षमै सम्पन्न गरिएको निर्माण कार्यको भुक्तानी गरिएकोले दार्चुला तिंकर सडकको बजेट खर्च देखिएको योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो ।
प्रथम चौमासिकमा पूजीगत बजेट खर्च गर्ने कार्यालयहरुमा जिल्ला सरकारी वकिलको कार्यालयबाट १ लाख ३४ हजार ६ सय ३२ रुपैयाँ र महाकाली नदी नियन्त्रण आयोजनामा ११ लाख ६२ हजार ३ सय ६ रुपैयाँ पूजीगत बजेट खर्च भएको छ । कारागार कार्यालयमा ६१ हजार ३ सय, सशस्त्र प्रहरी ५० नम्बर गुल्ममा १ लाख ६ हजार २ सय ५० र जिल्ला प्रशासन कार्यालयमा ३४ हजार २ सय ५८ रुपैयाँ पूजीगत बजेट खर्च गरिएको छ ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा ५ लाख ५० हजार रुपैयाँ, मालपोत कार्यालयमा २ लाख ५९ हजार ३ सय ३५ रुपैयाँ र नापी कार्यालयमा २ लाख ५० हजार रुपैयाँ पूजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको विवरण छ ।
जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रकको कार्यालय, इलाका प्रहरी कार्यालय गोकुलेश्वर, लटिनाथ र हुती, जिल्ला प्रहरी कार्यालय, सिमा प्रहरी चौकी लालीले पूजीगत बजेट प्राप्त गरे पनि प्रथम चौमासिकमा खर्च गर्न सकेका छैनन् । यसैगरी, मालिकार्जुन गाउँपालिकामा पनि पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि नेपाल सरकारले २५ लाख रुपैयाँ पूजीगत बजेट उपलब्ध गराए पनि अहिलेसम्म खर्च हुन सकेको छैन ।
विकासे कार्यालयको खर्च निराशाजनक
पूजीगत बजेट खर्च गर्ने विकासे कार्यालयहरुको अवस्था निराशाजनक भएकोले खर्च प्रतिशत न्युन देखिएको हो । जिल्लामा सबैभन्दा बढी पूजीगत बजेट भएको दार्चुला तिंकर सडक योजना छ । तिंकर सडकमा ३२ करोड ६० लाख पूजीगत बजेटमध्ये २ करोड ५१ लाख मात्रै कार्तिक मसान्तसम्म खर्च भएको छ ।
महाकाली नदी नियन्त्रण आयोजनामा चालु वर्षमा १४ करोड पूजीगत बजेट रहेको छ । यो मध्ये ११ लाख ६२ हजार ३ सय ६ रुपैयाँ मात्रै प्रथम चौमासिकमा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सुचना अधिकारी इन्द्रसिह धामीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा २ करोड ४ लाख, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा १ करोड ७७ लाख ३० हजार र सशस्त्र प्रहरीको ५० नम्बर गुल्ममा १ करोड ११ लाख २५ हजार पूजीगत बजेट रहेको छ । प्रशासन कार्यालयको भवन निर्माण र सशस्त्र प्रहरीको व्यास क्षेत्रमा सुरक्षा पोष्ट (विओपी) स्थापनाका लागि पूजीगत बजेट प्राप्त भएको हो ।
जिल्ला प्रहरी कार्यालयमा १० लाख ७५ हजार र कोष तथा लेखा नियन्त्रक कार्यालयमा १० लाख २० हजार रुपैयाँ पूजीगत बजेट छ । तथा जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, कारागार कार्यालय र इलाका प्रहरी कार्यालयहरु गोकुलेश्वर, लटिनाथ, हुती तथा सिमा प्रहरी चौकी लालीमा १० लाखभन्दा न्युन पूजीगत बजेट रहेको छ । यसैगरी, मालपोत कार्यालय, नापी कार्यालय, दुर्गादल गुल्म र शिक्षा विकास तथा समन्वय इकाईमा पनि १० लाख भन्दा न्युन पूजीगत बजेट रहेको छ ।
पूजीगत बजेट बढी रहेको दार्चुला तिंकर सडक र महाकाली नदी नियन्त्रण आयोजनामा खर्च बढ्न सकेमा मात्रै दार्चुलाको पूजीगत खर्चमा वृद्धि हुने कोष नियन्त्रक भूपालसिह कार्कीको भनाई छ । ‘यो वर्षको कुल ५२ करोड पूजीगत बजेटमध्ये तिंकर सडकमा ३२ करोड र नदी नियन्त्रणमा १४ करोड छ, अन्य निकायहरुको पूजीगत न्युन छ’ कार्कीले भन्नुभयो ।
चालुतर्फ ३० प्रतिशत बजेट खर्च
दार्चुलाका सरकारी निकायहरुमा प्रथम चौमासिक अवधिको चालुतर्फको बजेट खर्च भने ३० दशमलव ५३ प्रतिशत रहेको छ । जिल्लाभरीका दुई दर्जनभन्दा बढी निकायहरुबाट चालुतर्फको बजेट खर्च भइरहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा दार्चुला जिल्लाभरीमा चालुतर्फ ३ अरब २३ करोड ९४ लाख ४६ हजार ७ सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएको छ । योमध्ये कार्तिक मसान्तसम्म ९८ करोड ९२ लाख ६३ हजार ३ सय ४७ रुपैयाँ ९९ पैैसाँ खर्च भइसकेको कोलेनिका दार्चुलाका सुचना अधिकारी इन्द्रसिह धामीले बताउनुभयो ।
कर्मचारीको तलब, भत्ता, तालिम, कार्यालय सञ्चालन, राशनलगायत नियमित खर्च शीर्षकहरु चालुतर्फ पर्दछन् । सेना, प्रहरी, शिक्षक, कर्मचारी सबैको तलबभत्ताको खर्च भएकोले चालुतर्फको बजेटको मात्रा ठूलो रहदैआएको छ । कार्तिक महिनामा मात्रै चालुतर्फ १० करोड ४० लाख २१ हजार ५१ रुपैयाँ ९० पैसा राज्यकोषबाट खर्च भएको तथ्यांक छ ।
चालु र पूजीगततर्फ गरी साउनदेखि कार्तिक मसान्तसम्म नेपाल सरकारको १ अरब १ करोड ६९ लाख ७५ हजार ३६ रुपैयाँ ९९ पैसा बजेट खर्च भइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलाले जनाएको छ ।