दार्चुलाका स्थानीय तहमा संघीय सरकारको ८ करोड ९५ लाख विशेष अनुदान

2318

दार्चुला, पुष ३ गते ।
नेपाल सरकारले दार्चुलाका स्थानीय तहहरुलाई चालु वर्षमा ८ करोड ९५ लाख रुपैयाँ विशेष अनुदान दिएको छ । स्थानीय तहहरुबाट गरिएको प्रस्तावहरुमा राष्ट्रिय योजना आयोगले अनुदान बजेट बाँडफाँड गरेको हो ।
बुधवार सार्वजनिक अनुदान विवरणअनुसार अपिहिमाल गाउँपालिका बाहेक दार्चुलाका सबै स्थानीय तहहरुमा विशेष अनुदान प्राप्त भएको छ । शैल्यशिखर नगरपालिकामा विशेष अनुदानबाट ४ वटा योजना कार्यान्वयन गरिने भएका छन् । लटिनाथ मावि बस्कोट भवन निर्माणमा ३५ लाख, मालिकार्जुन मावि आगरको भवन निर्माणमा २५ लाख, युवा स्वरोजगार कुक सम्बन्धि तालिममा ५० लाख र आधुनिक तरकारी खेती कार्यक्रममा ५० लाख रुपैयाँ विशेष अनुदान प्राप्त भएको छ ।
महाकाली नगरपालिका र नौगाड, दुहुँ र मार्मा गाउँपालिकामा २÷२ वटा योजनाका लागि विशेष अनुदान प्राप्त भएको छ । मालिकार्जुन, व्यास र लेकम गाउँपालिकामा एक÷एक योजनाका लागि अनुदान पाइएको छ ।
महाकाली नगरपालिकाअन्तर्गत सरसफाई केन्द्र निर्माणमा ७५ लाख र महिला, वालवालिका तथा दलित लक्षित कार्यक्रममा ५० लाख रुपैयाँ विशेष अनुदान रहेको छ । नौगाड गाउँपालिकाअन्तर्गत खार स्वास्थ्य चौकी भवन निर्माणमा ८४ लाख, दल्लेखमा कोल्डस्टोर निर्माणमा ६६ लाख ८३ हजार ८ सय रुपैयाँ अनुदान प्राप्त भएको छ ।
मार्मा गाउँपालिकाको सल्लेधार मावि मुर्रैको भवन निर्माणमा १ करोड र प्लाष्टिक घरमा तरकारी खेती कार्यक्रममा ५० लाख रुपैयाँ विशेष अनुदान छ । मालिकार्जुन गाउँपालिकाको शंकरपुर बृहत खानेपानी योजनामा १ करोड, व्यास गाउँपालिकाको अपिनाम्पा क्याम्पस र रानीस्थान आधारभूत विद्यालय भवन निर्माणमा ३५ लाख रुपैयाँ विशेष अनुदान दिइएको छ । लेकम गाउँपालिकाको ॐ आशा कृषि पशुपालन तथा दुग्ध उत्पादन केन्द्रमा ७५ लाख रुपैयाँ अनुदान छ ।
नेपाल सरकारबाट स्वीकृत भई विशेष अनुदान विनियोजन भएका १५ योजना तथा कार्यक्रमका लागि स्थानीय तहहरुबाट २३ करोड ८७ लाख ४६ हजार ३ सय रुपैयाँ अनुदान प्रस्ताव गरिएको थियो । नेपाल सरकारले भने ८ करोड ९५ लाख ८३ हजार ९ सय रुपैयाँ विशेष अनुदान दिएको छ ।
क्षेत्रगत रुपमा शिक्षाक्षेत्रमा ४, खाद्य सुरक्षा, खानेपानी र समावेशीकरण तथा मूलप्रवाहीकरणमा ३÷३ वटा तथा स्वास्थ्य र फोहरमैला व्यवस्थापनमा १÷१ वटा योजना तथा कार्यक्रममा संघीय सरकारबाट विशेष अनुदान प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !