गृहमन्त्रीको टोलीमा सांसद, सचिव, आइजिपी र सल्लाहकारहरु पनि

0
701

दार्चुला, असोज ९ गते ।
गृहमन्त्री बादलसंग व्यासको छाङरुमा भवन शिलान्यास गर्ने कार्यक्रममा सहभागी हुने उच्च तहका प्रतिनिधिहरु दार्चुला पुगेका छन् । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना, गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र थापा व्यासको छाङरु पुगेका छन् ।
गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल, नेपाली सेनाका सहायक रथी पवनराज घिमिरे, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी पनि टोलीमा सहभागी छन् ।
गृहमन्त्री र गृहसचिवको पहिलो दार्चुला भ्रमण समेत हो । शुक्रवार मध्यान्ह १२ः१० बजे गृहमन्त्री सवार सेनाको हेलिकोप्टर दार्चुला सदरमुकाम खलंगा पुगेको थियो । खलंगास्थित नेपाली सेनाको व्यारेकमा २० मिनेटको विश्रामपछि गृहमन्त्रीको टोली छाङरु प्रस्थान गरेको छ । छाङरुमा गृहमन्त्रीसहितको टोली छोडेर सेनाको हेलिकोप्टर खलंगा फर्किएको छ । शनिवार विहान सशस्त्र प्रहरीको खाद्यान्न लगेर सेनाको हेलिकोप्टर छाङरु जाने तालिका रहेको स्रोतले बतायो ।
शनिवार विहान सशस्त्र प्रहरीका प्राविधिक डिएसपी मिलनमान मास्केसहित केही सुरक्षाकर्मी र नापी कार्यालयका एक प्राविधिक कर्मचारी पनि छाङरु जाँदैछन् । सशस्त्र प्रहरीको भवन निर्माणका लागि प्राविधिक टोली जान लागेको हो ।