के के संरचना बनाइदैछ व्यासको गुल्ममा ?

813
फाईल फोटोः छाङरु क्षेत्र

दार्चुला, असोज ९ गते ।
सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका लागि छाङरुको गागामा सुविधा सम्पन्न भवन निर्माण गरिदैछ । सरकारले गत आर्थिक वर्षमै भवन निर्माणका लागि ११ करोड बजेट उपलब्ध गराइसकेको छ । ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवन हिमपातका समयमा समेत बस्नलायक बनाइने छ । ढुंगा, माटो र काठबाट भवनको छतमा कर्कटपाता राखिनेछ ।
बहुतले ब्यारेक भवनको संरचना निर्माण गरिने सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताउनुभयो । १५ रोपनी क्षेत्रफलको जमिनमा तीन दर्जन कोठा निर्माण गरिनेछन् । तीन तलाको व्यारेक भवन निर्माणको योजना छ । गुल्म परिसरमा शौचालय, ब्यारेक भवन, कार्यालय भवन र प्रवेशवद्धार पनि बनाइने छ । भवन निर्माणको डिजाइनअनुसार ढुंगाको काम ११ सय ८ क्युविक मिटर, सिजिआइ छत ७ सय ७० वर्ग मिटर र १९ सय ८ वर्गमिटर काठको काम छ ।
सशस्त्र प्रहरीले व्यासको गुल्म भवन निर्माणका लागि अनुभवी निर्माण कम्पनीबाट प्रस्ताव मागेको थियो । ३ वर्षमा १३ करोड ४७ लाखको निर्माण कार्य गरेको र ७ करोड १० लाखको यस्तै प्रकृतिको निर्माण कार्यको अनुभव भएकाबाट ठेकेदार छनौट गरिएका छन् ।
दुई महिनामा केही कोठा तयार गरिने
शुक्रवार गृहमन्त्रीबाट शिलान्यास हुन लागेको भवन निर्माणमध्ये केही कोठा दुई महिनाभित्रै तयार गरिसक्ने योजना छ । हिउदको सिजनमा सशस्त्र प्रहरीको टोली बसाल्न केही कोठा तयार गरिने सशस्त्र प्रहरीको योजना छ ।
भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीबाट युद्धस्तरमा भवन निर्माणको कार्य गर्न ताकेता गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको प्राविधिक टोली समेत निर्माणस्थलमा खटिने तयारी छ । सशस्त्र प्रहरीको हेडक्वाटरबाट प्राविधिकतर्फका डिएसपी मिलनराज मास्के र सई चन्द्रवहादुर रोकाया फिल्डमा खटिनेछन् ।
छाङरुस्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मको नेतृत्व डिएसपी धिरेन्द्र शाहले गरिरहेका छन् । यसअघि विओपीको संरचनामा सशस्त्र प्रहरी निरीक्षक लिलिवहादुर चन्दको कमाण्ड थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !