खलंगामा गण, छाङरुमा गुल्म

0
1074
फाइल फोटो

दार्चुला, साउन ८ गते ।
दार्चुला सदरमुकाम खलंगामा सशस्त्र प्रहरीको गण बस्ने भएको छ । व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुमा रहेको विओपीमा गुल्म राख्ने गरी सांगठनिक संरचना स्वीकृति भएको छ ।
मन्त्रिपरिषद्को असार २९ गतेको बैठकले सशस्त्र प्रहरी वल नेपालको संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन २०७७ स्वीकृत गरेको सशस्त्र प्रहरी वलका प्रवक्ता एवं डिआइजी प्रविणकुमार श्रेष्ठले बताउनुभयो । नयाँ संरचनाअनुसार खलंगामा गण र छाङरुमा गुल्म स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।
दार्चुला जिल्लाभरीको कार्यक्षेत्र हेर्ने गरी खलंगामा ४४ नम्बर गण राखिने भएको छ । हाल खलंगामा रहेको ५० नम्बर गुल्मलाई छाङरुमा सारिनेछ । गणको नेतृत्व सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र गुल्मको नेतृत्व सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी)ले गर्नेछन् ।
गण र गुल्मको मातहतमा सिमाक्षेत्रमा विओपीहरु सञ्चालन हुनेछन् । हाल व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु, वडा नम्बर २ दुम्लिङ, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजिवी र लेकम गाउँपालिकाको वडा नम्बर ३ लालीमा सशस्त्र प्रहरीको विओपी छ । व्यासको तिंकर गाउँनजिकको छियालेक र जोलजिवीमा विओपी भवन निर्माणका लागि टेण्डर खोलिएको छ ।
व्यासको छाङरुमा गुल्म स्थापना भएपछि तिंकर र कौवाक्षेत्रमा विओपी स्थापना गरिने ५० नम्बर गुल्मका गुल्मपति डिएसपी डम्बरवहादुर विष्टले बताउनुभयो । तिंकर चीनको सिमानजिक र कौवाक्षेत्र भारतको सिमानजिक पर्दछ । सशस्त्र प्रहरीले महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तु र व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा पनि विओपी स्थापनाको गृहकार्य गरेको छ । गण र गुल्म स्थापना भइसकेपछि सबैस्थानमा विओपी स्थापना गरिने सशस्त्र प्रहरीले जनाएको छ ।
खलंगामा गण र छाङरुमा गुल्मको स्थापनापछि सिमा सुरक्षाका साथै आन्तरिक सुरक्षा व्यवस्थापनमा थप सहजता आउने सुरक्षा अधिकारी बताउँछन् । ‘पर्याप्त जनशक्ति उपलब्ध भएपछि आवश्यकता अनुसार सिमा सुरक्षा र आन्तरिक सुरक्षा व्यवस्थापन प्रभावकारी बन्छ’ दार्चुलामा कार्यरत एक सुरक्षा अधिकारीले भन्नुभयो ।
सशस्त्र प्रहरीको गणमा ६ सय २१ जना र गुल्ममा १ सय ६० जनशक्ति रहने व्यवस्था छ । गणमा एसपीको कमाण्डमा ५ डिएसपी, १४ जना इन्सपेक्टरको दरबन्दी रहन्छ ।
सशस्त्र प्रहरीको नयाँ संरचनाअनुसार देशभरी ४४ गण र २७ गुल्म रहनेछन् । ८ बाहिनी र १२ शिक्षालय (तालिम केन्द्र) को संरचना स्वीकृत भएको छ । हालसम्म शसस्त्र प्रहरीका ५ वटा मात्रै तालिम केन्द्र थिए । नयाँ संरचनाअनुसार ७ तालिम केन्द्र थपिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा दुइ गण थपिएका छन् । कैलालीको वनभेडा र दार्चुलाको खलंगामा गणको संरचना स्वीकृत भएको हो । कैलालीको अत्तरियामा बाहिनी छ भने धनगढी, कञ्चनपुरको झलारी र डोटीमा गण रहेको छ । । सुदूरपश्चिममा गणको संख्या ५ र गुल्मको संख्या ७ रहनेछ । प्रत्येक जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति हुने गरी नयाँ संरचना स्वीकृत भएको छ । बाजुरा र बझाङ जिल्लामा आश्रित गुल्म रहनेछ ।