कोठेधार–तिंकर सडकको नयाँ डिपिआर बनाएर निर्माण गर्दै सेना, छाङरुमा क्याम्प राखिने

0
646

बिरा दत्त भट्ट

दार्चुला, बैशाख ८ गते ।

दार्चुला तिंकर सडकको निर्माणका लागि नेपाली सेनाले व्यास गाउँपालिका वडा नं १ छाङरुमा क्याम्प राख्ने तयारी गरेको छ ।

व्यास गाउँपालिका वडा नं २ कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट पनि सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो । क्याम्प स्थापना हुने ठाउँको विहिबार नेपाली सेना र जिल्ला सुरक्षा समितिले हेलिकोप्टर मार्फत छाङरु पुगेर अनुगमन गरेको छ । साथै सेनाले निर्माण गरिरहेको सडकको समेत हवाई अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।नेपाली सेनाले दार्चुला तिंकर सडकको निर्माणका लागि गत आर्थिक वर्षमा नै सुन्सेरा र दुम्लीङमा क्याम्पको स्थापना गरेको थियो ।

हाल व्यास गाउँपालिकाको वडा नं २ कोठेधारमा सेनाले सडक निर्माणको काम गरिरहेको छ । केपी ओली नेतृत्वको सरकारले कोठेधार देखि तिंकर सम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । पछिल्लो समय सरकारले तुसरपानी देखि कोठेधार सम्म थप चार किलोमिटर सडक निर्माणको जिम्मा पनि सेनालाई दिएको छ ।

कोठेधार–तिंकर सडकको नयाँ डिपिआर गरि नेपाली सेनाले सडक निर्माण गरिहेको छ । सरकारले सेनालाई जिम्मा दिदाँ ८७ किलोमिटर डिपिआरको कोठेधार–तिंकर सडकको जिम्मा दिएको थियो । नेपाली सेनाले घुम्तीहरु घटाएर तथा कुनै ठाउँमा मार्ग परिवर्तन गरेर कोठेधार देखि तिंकर सम्म ७४ किलोमिटरको नयाँ डिपिआर गरि सडक निर्माण गरिरहेको छ ।
कोठेधार तिंकर सडकको नयाँ डिपिआर गरि ७४ किलोमिटर कायम गरिएको नेपाली सेनाका एक जना अधिकारीले बताउनुभयो । तुसरपानी देखि कोठेधार सम्मको ४ किलोमिटर सडक निर्माणका लागि पनि सेनाले गृहकार्य गरिरहेको छ ।

तुसरपानीको फतङगाडबाट सेनाले सडक निर्माण गर्ने भएकाले व्यास गाउँपालिका वडा नं ३ तुसारपानीमा वर्षादका कारण अवरुद्ध भएको सडक मर्मत गरिदैछ । सडक अवरुद्ध हुदाँ नेपाली सेनालाई फतङगाड सम्म निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेकाले दार्चुला तिंकर सडक आयोजनाले सडक सफा गर्ने काम गरिरहेको छ । तुसरपानी गाउँको तल्लो क्षेत्रमा स्थानीयहरुले पहिरो खसेको भन्दै सडक खुलाउन विवाद गरेपछि रिठिङगाड नदीको मार्ग भएर सडक खुलाउने काम भइरहेका व्यास गाउँपालिका वडा नं ३ का स्थानिय कृष्ण सिह कुवरले बताउनुभयो ।