तिंकर नाका सुरक्षा विहीनः भवन निर्माण भएको ८ महिना सम्म सञ्चालनमा आएन बिओपी

521

दार्चुला, बैशाख ७ गते ।


भारतीय अतिक्रमणमा परेको नेपाली भूमी नजिकको दार्चुलाको चीन सँग जोडिएको सीमा क्षेत्र तिंकर सुरक्षा विहीन छ । हिउँदमा भारी हिमपात हुने उक्त क्षेत्रमा गत कार्तिकको पहिलो हप्ता प्रहरी टोली १२ किलोमिटर तल छाङरु झरेको थियो । तिंकरका बासिन्दाहरु पनि हिउँद सुरु भए संगै दार्चुला सदरमुकाम खलंगा झरेका थिए । हाल उक्त गाउँ मानव विहिन बनेको छ ।

तिंकर क्षेत्रमा नेपाल प्रहरीको सीमा चौकी सञ्चालनमा छ भने सशस्त्र प्रहरीको विओपी राख्ने गृहकार्य भइरहेको छ । हिउँदमा सदरमुकाम झरेका त्यस क्षेत्रका नागरिकहरु पनि गाउँ जाने तयारीमा रहेका छन् ।
चैत्र महिनाबाट यस क्षेत्रमा हिउँ पग्लीने गर्छ । तर हाल सम्म उक्त क्षेत्रमा छाङरु झरेको प्रहरी टोली नखटिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।
तिंकरमा सशस्त्र प्रहरीको  बिओपी बस्नका लागि गाउँबाट दुई किलोमिटर माथिल्लो क्षेत्रमा भवनको निर्माण गरिएको छ । गत वर्ष भाद्र महिनामा निर्माण सम्पन्न भएको भवनमा सशस्त्र प्रहरी बस्न सकेको छैन ।
विओपीको दुई वटा भवन ब्लक संगै भान्सा र शौचालय निर्माण गरिएको छ । तिंकर सीमा प्रहरी चौकी नजिकै बनाइएको भवन तिंकर भन्सारको छियालेक क्षेत्रको जमिनमा निर्माण गरिएको छ ।
छियालेक भन्दा माथि मानव उपस्थिति छैन । यहाँबाट चार/पाँच घण्टाको उकालो पैदल यात्रा गरेपछि नेपाल र चिनको सिमाना छुट्याउने टिंकर भञ्ज्याङको १ नम्बर पिलरमा पुगिन्छ ।
तिंकरमा निर्माण भएको बिओपीमा जनशक्ति राख्नका लागि माथिबाट कुनै निर्देशन प्राप्त नभएको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टले बताउनुभयो ।
निर्वाचनका समयमा तिंकर क्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोली खटिन्छ, स्थायी रुपमा बस्नका लागि निर्देशन आएपछि बस्छौ, एसपी विष्टले भन्नुभयो ।
व्यास गाउँपालिका वडा नं १ को तिंकर सहित दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरीको विओपी स्थापनाको तयारी भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । मौसमको प्रतिकुलताले हाल सम्म तिंकरमा बिओपी बस्न नसकेको र स्थानीय तहको निर्वाचन पछि  स्थापनाको गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।
कोरोना प्रभावले चीन संगको सीमा नाकामा आवत जावत बन्द रहेकाले हाल तिंकर क्षेत्रमा सुरक्षाकर्मी बस्नु आस्यक देखिएन, छाङरुमा सशस्त्र प्रहरीको गुल्म बसेकै छ, निर्वाचनको समयमा सुरक्षा जनशक्ति विभिन्न ठाउँमा खटिने भएकाले त्यस पछि नै बिओपी बस्छ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नुभयो ।
साथै व्यास गाउँपालिकाको वडा नं १ कौवा, वडा नं ४ सुन्सेरा,लेकम गाउँपालिकाको रतौडामा पनि विओपी सञ्चालनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । व्यास गाउँपालिकाको सुन्सेरामा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेकोले त्यसको सुरक्षाका लागि सुन्सेरामा छिट्टै विओपी सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो । सुन्सेरामा विओपीको भवन निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया भइरहेको छ । 


तपाईको प्रतिक्रिया दिनुहोस् !