कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी बढे

0
1003
फाईल फोटोः कौवा र गुञ्जी क्षेत्र

दार्चुला, असार २७ गते ।
भारतले अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा सुरक्षाकर्मी थपेको छ । लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रलाई समेटेर नेपालले नक्सा संसोधन गरेपछि त्यसक्षेत्रमा सुरक्षाकर्मी थपिएका छन् ।
नेपालले नक्सा संसोधन र व्यासको छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना गरेसंगै भारततर्फ सुरक्षाकर्मी र सुरक्षा सतर्कता बढेको हो । सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीको निगरानी र गस्ती बढिरहेको स्रोतले बतायो ।
नेपालतर्फको सुरक्षा तैनाथीबारे पनि भारतीय पक्षले चाँसो लिइरहेको सुरक्षा स्रोतले बतायो । ‘सिमानाका सबै क्षेत्रमा नेपालतर्फ भइरहेको सुरक्षा व्यवस्थापनप्रति भारतीय सुरक्षा निकायहरुको चाँसो बढेको देखिन्छ’ दार्चुलाका एक सुरक्षा अधिकारीले भन्नुभयो । धारचुलाका एसडिएम अनिलकुमार शुक्लाले केही भारतीय सञ्चारमाध्यमलाई यसबारे प्रतिक्रिया पनि दिएका छन् ।
धारचुलादेखि कालापानीसम्म सडकको ट्रयाक खुलेपछि सडक मार्गबाट भारतीय सुरक्षाकर्मीको संख्या बढाइएको छ । केही हप्ताअघि दर्जनौ सैनिक गाडीबाट त्यसक्षेत्रमा सुरक्षाकर्मी थपिएको दुहुँ क्षेत्रका वासिन्दा बताउँछन् । ‘एकै दिन तिन दर्जनभन्दा बढी सैनिक बोक्ने ट्रक लामवद्ध भएर माथितर्फ गएका थिए’ व्यास गाउँपालिका ४ सुन्सेराका एक स्थानीयले भन्नुभयो ।
भारतको बुँदी, छियालेक, गब्र्याङ, गुञ्जी र कालापानी क्षेत्रमा सुरक्षाकर्मी थपिएका छन् । नेपालसंग सीमा जोडिएका अन्य ठाँउको सुरक्षा उपस्थितिलाई सतर्क बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । धारचुलाभन्दा उत्तरतर्फका दोबाट, तावाघाट, गस्को, पाङला, छङकङ, लामारी भारतीय सुरक्षाकर्मीको उपस्थिति छ ।
धारचुलादेखि कालापानीसम्मको झण्डै ८० किलोमिटर लामो सिमाक्षेत्रमा २ हजारभन्दा बढी भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको अनुमान छ । नेपालको सीमाक्षेत्र हेर्ने जिम्मेवारी सशस्त्र सीमा वल (एसएसवी)को हुन्छ । चीनसंगको सिमा सुरक्षाका लागि भारत तिब्बत सीमा पुलिस वल छ भने भारतीय सेनालाई पनि सिमाक्षेत्रमा राखिएको छ ।
अतिक्रमित नेपाली भूमि गुञ्जीलाई आधार बनाएर सिमाक्षेत्रमा भारतले सुरक्षा व्यवस्थापन गर्दैआएको छ । धारचुलाभन्दा उत्तरतर्फको क्षेत्रमध्ये गुञ्जीको मनिलालाई प्रमुख सुरक्षा व्यवस्थापनको केन्द्र बनाइएको छ । गुञ्जीमा भारतीय सेना, आइटिविपी र एसएसवीको क्याम्प छ । ‘गुञ्जीमा धारचुलापछिको ठूलो सुरक्षा उपस्थिति रहेको छ’ व्यासको छाङरुका एक स्थानीयले भन्नुभयो ।
गुञ्जीको मनिलामा उत्तराखण्ड प्रहरीको थाना पनि छ । तर स्थानीय वासिन्दासंगै वर्षको ६ महिना मात्रै प्रहरी गुञ्जीमा बस्दछ । गुञ्जीबाटै कालापानी, नाभिढाग, नाभी, कुटी र गव्र्याङमा रहेको सुरक्षा टोली परिचालन हुने गरेको सुरक्षा स्रोतले बतायो ।
पिथौरागढ र धारचुलाबाट गुञ्जीसम्म समय समयमा हेलिकोप्टर पनि पुग्ने गर्छ । भारतीय सेनाका उच्च अधिकारीहरुले निरीक्षण भ्रमण गर्न र व्यवस्थापनका सामान ढुवानी गर्न पनि हेलिकोप्टर प्रयोग हुँदैआएको छ । महाकाली र लिपुखोलाको संगलस्थल रहेको गुञ्जीको मनिला भन्ने ठाउँमा एकैपटक चारवटा हेलिकोप्टरसम्म बस्न मिल्ने हेलिप्याडस्थल बनाइएको स्रोतले बतायो ।
केही हप्ताअघि गलवान क्षेत्र भएको मुठभेदमा २० भारतीय सैनिक मारिएपछि चीनिया सिमामा निगरानी बढाउन सैनिक हेलिकोप्टर र पिथौरागढबाट सैनिक विमानले समय उडान गरिरहेका छन् । भारत र चीनबीच सन् १९६२ मा युद्ध भए पनि यसक्षेत्रमा लडाइ नभएको व्यासका स्थानीय बताउँछन् । ‘भारत र चीनबीच अहिलेसम्म यसक्षेत्रमा युद्ध भएको छैन, तर चीनसंगको सिमाक्षेत्रमा भारतले पहिलेदेखि नै सुरक्षा सतर्कता र उपस्थिति बढाएको छ’ व्यासको छाङरुका एक स्थानीयले भन्नुभयो ।