दार्चुलामा ८१ हजार मोबाइल प्रयोगकर्ता

0
915

दार्चुला, असार २६ गते ।
दार्चुलामा नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ता संख्या ८१ हजार ६ सय ७२ पुगेका छन् । २०७७ जेठ मसान्तसम्म टेलिकमको दार्चुला कार्यालयबाट मोबाइल सिमको वितरण संख्यामा नमस्ते र स्काई दुबै समेटिएको हो ।
जिएसएम (नमस्ते) प्रिपेडका प्रयोगकर्ता सर्वाधिक छन् । नमस्ते प्रिपेडका ४६ हजार २ सय ४० र नमस्ते पोष्टपेडका १ सय ६६ ग्राहक संख्या रहेको टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताउनुभयो ।
स्काई मोबाइलका पोष्टपेड ग्राहक ८ सय ६१ र प्रिपेड ग्राहक संख्या ३४ हजार ४ सय ५ रहेको छ । दार्चुलामा हाल साढे ७ सय तारसहितको आधारभूत टेलिफोन लाइन वितरण गरिएका छन् । खलंगाबाट ५ सय १९, बंगाबगरमा १ सय २१ र गोकुलेश्वरमा १ सय २६ टेलिफोन लाइन वितरण भइसकेका छन् ।
खलंगामा ३ सय १७, बंगाबगरमा ४७ र गोकुलेश्वरमा ८४ वटा एडिएसएल सेवाका ग्राहक रहेको टेलिकम कर्मचारी दुर्गा बस्यालले जानकारी दिनुभयो । जिल्लाभरीका नौवटा स्थानीय तहका सबै वडामा टेलिकमको मोबाइल सेवा पुगेको टेलिकम दार्चुलाले जनाएको छ ।