अघिल्लो पटकका हेल्थडेक्सहरु सक्रिय गरिने

0
551
जिल्ला प्रशासन कार्यालय दार्चुलाः फोटो कालापानी न्युज डटकम

दार्चुला, बैशाख १६ गते ।
कोरोना महामारीको संक्रमण रोकथामका लागि प्रत्येक स्थानिय तहहरुमा प्रबेश गर्ने ठाउँमा अघिल्लो पटक बनाईका हेल्थ डेक्सहरु सक्रिय गरिने भएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा आज बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र दार्चुलाको बैठकले उक्त निर्णय गरेको हो ।
उपत्यका लगायत विभिन्न जिल्लाहरुमा लकडाउन गरिएकाले जिल्ला फर्किनेहरु बढ्ने भएकाले गाउँघर सम्म संक्रणको जोखिम बढेको छ । उक्त जोखिमलाई मध्यनजर गर्दै कोरोना संक्रमणको पहिलो लहरमा स्थापना गरिएका प्रत्येक स्थानिय तहहरुमा प्रबेश गर्ने सीमानाकाहरुका हेल्थ डेक्सहरु सक्रिय गरिन लागेको हो । कोभिड १९ संकट ब्यवस्थापन केन्द्र दार्चुलाको बैठकमा देशब्यापी रुपमा फैलिरहेको कोरोना भाइसरले दार्चुलामा पुगाउन सक्ने असरका बारेमा छलफल गरिएको छ ।
हेल्थ डेक्सहरु सक्रिय गरिएमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टको भनाई छ । हेल्थ डेक्सहरुमा बाहिरबाट आएकाहरुको विवरण राखिने भएकाले उनिहरु क्वारेन्टाइनमा बसे नबसेको बारे अनुगमन गर्न सकिने वा कसैमा संक्रमण देखिएमा कन्टेक्ट ट्रेसिङ गर्न समेत सहयोग पुग्ने उहाँको भनाई छ ।
बैठकले भारतबाट तथा वाहिरी जिल्लाहरुबाट भित्रिएकाहरुको सम्बन्धीत स्थानिय तहहरुले अभिलेख राखी १० दिन क्वारेन्टाइन बसे बसेको अनुमगन गरि कोभिड १९ संकट ब्यवस्थापन केन्द्र दार्चुलालाई अभिलेख बुझाउनुपर्ने, कोरोना परिक्षण गर्ने, आइसोलेसनमा राख्ने लगायतका जिम्मा लिन सम्बन्धित पालिकाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्ला अस्पताल दार्चुलामा पछिल्लो समय ज्वरोका विरामीहरु बढीरहेकाले ज्वरोका विरामीहरुलाई छुट्टै चेकजाँचको ब्यवस्थापन गर्ने समेत निर्णय गरिएको छ । सबै किसिमका बिरामीहरु एउटै ठाउँबाट चेकजाँच गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले ज्वरोका विरामीहरु छुट्टै चेकजाँच गर्न टेन्टको ब्यवस्थापन सशस्त्र प्रहरी र नेपाली सेनाले गर्नेछ । ज्वरोका विरामीहरुको छुट्टै चेकजाँच गरि कोरोना भए नभएको परिक्षण गरिने जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टको भनाई छ ।
साथै आजको बैठकले जिल्ला अस्पतालामा आइसोलेसन सञ्चालनका लागि कर्मचारी अभाव भइरहेकाले कर्मचारी ब्यवस्थापनका लागि स्वास्थ्य कार्यालय दार्चुलालाई अनुरोध गर्ने तथा कोरोना संकटका बेला आइसोलेसन ब्यस्थापनका लागि विभिन्न सामग्री ब्यवस्थापनका लागि रेडक्रसलाई अनुरोध गर्ने निर्णय गरिएको छ । ४ सय थान बम्बल, मास्क, सेनिटाइजर, बाल्टी ५० थान, पिपिइ १२ थान र सावुनको ब्यवस्थापनका लागि रेडक्रस दार्चुला शाखा मार्फत रेडक्रस केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलालले जनाएको छ ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशी, महाकाली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजय भुर्तेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एबं प्रतिनिधीहरु, स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्ट, जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्ट, रेडक्रस दार्चुलाका मन्त्री दिपक राज अवस्थी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।