दार्चुला, वैशाख १ गते ।
भारतका सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले लिपुलेक सडक निर्माण एकवर्षमा सम्पन्न गरिने बताएका छन् । वैशाख १ गते मंगलवार उत्तराखण्डकाे देहरादुनमा आयाेजित एक कार्यक्रममा गडकरीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री नरेन्द्र माेदीले दिल्ली-देहरादून एक्सप्रेस राजमार्गकाे उदघाटन गर्ने कार्यक्रममा बाेल्दै गडकरीले लिपुलेक सडक उच्च प्राथमिकतामा रहेको बताउनुभयाे । `मानसराेवरका लागि भारतियहरूमा धेरै श्रद्धा भएको´ बताउदै गडकरीले `नेपाल र चीनकाे बाटाे भएर यात्रा गर्नुपर्ने बाध्यता हटाउन लागिएको´ बताउनुभयाे ।
`आदरणीय प्रधानमन्त्रीजीकाे नेतृत्वमा कठिनतम काम थालेका छाैं´ लिपुलेक सडक निर्माणबारे गडकरीले भनेका छन् । `५२ सय कराेडकाे लागतमा टनकपुर-पिथाैरागढ भएर लिपुलेकसम्म सडक बनाइदैछ´ गडकरीले भन्नुभयो । ३ सय ७० किलोमिटर लामाे याे सडकमध्ये हालसम्म २ सय किमिभन्दा बढी निर्माण सम्पन्न भइसकेको उहाँले बताउनुभयाे । `अब १ सय २९ किलोमिटर सडककाे काम बाँकी छ, यस्काे निर्माणमा धेरै कठिनाइ भए पनि एक वर्षभित्र निर्माण पूरा गर्छाै´ गडकरीले सम्बाेधनमा भनेका छन् ।
सन् २०१४ मा सत्ता आएदेखिनै माेदीले लिपुलेक सडकलाई महत्त्व दिदैआएका छन् । यसअघि काग्रेस नेतृत्वको सरकारले २००८ देखि लिपुलेक सडक निर्माण थाले पनि गति लिएकाे थिएन । माेदीले २०१६ देखि लिपुलेक सडक युद्धस्तरमा निर्माण गराएका छन् ।
सन् २०१९ मा एक लेनकाे सडक ट्रयाक निर्माण सम्पन्न भएपछि रक्षामन्त्री राजनाथ सिंहले खुशीयाली गर्दै यसकाे उदघाटन गरेका थिए । त्यसपछिका वर्षहरूमा सडक चाैडा बनाएर दुइलेन बनाइदैछ भने धेरैजसाे क्षेत्रमा सडक कालाेपत्रे समेत गरिएको छ ।
सुरूमा भारतिय सेनाकाे सडक निर्माण कम्पनी ग्रिफ र सिमा सडक संगठनबाट निर्माण थालिएको लिपुलेक सडकमा माेदीकाे प्राथमिकतापछि नीजि निर्माण कम्पनीमार्फत काम भइरहेको छ ।
टनकपुरदेखि पिथाैरागढसम्मकाे १ सय ५० किमि सडक दुइलेनमा कालाेपत्रे गर्ने काम दुई वर्षअघि नै सम्पन्न भएको छ । पिथाैरागढदेखि धारचुलासम्मकाे ९२ किमि सडक पनि दुई लेनमा स्तराेन्नति गरिएको छ । धारचुलादेखि लिपुलेकसम्मकाे बाँकी सडक निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
सुरूमा सन् २०२४ भित्रै सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियाे । तर भाैगाेलिक कठिनाइ र उच्च हिमालय क्षेत्रमा सडक निर्माण चुनाैतिपूर्ण हुदा ढिलाइ भएकाे बताइएको छ । हाल धारचुला तहसिलभन्दा उत्तरतर्फकाे बुँदी-छियालेक-गर्ब्याङ र गुञ्जी-कालापानी-नाभिढाग क्षेत्रमा सडक चाैडा बनाउने र कालाेपत्रे गर्ने कार्य भइरहेकाे छ ।
नाभिढागभन्दा माथि चीनकाे सिमाना जाेडिने लिपुलेक नाकाकाे अन्तिम विन्दु भने सडक निर्माणले जाेड्न बाँकी छ । भारत र चीनले गतवर्ष २०२५ देखि लिपुलेक हुँदै कैलाश-मानसराेवर यात्रा सुचारू गराइसकेका छन् । यसअघि काेभीड महामारीका कारण सन् २०१९ देखि याे यात्रा बन्द रहेको थियाे ।
काेभिडकै कारण बन्द भएको लिपुलेक नाका भएर गरिने भारत-चीन व्यापार पनि खाेल्ने तयारी छ । याे वर्ष २०२६ देखि लिपुलेक भएर चीनसंगकाे व्यापार खाेल्ने तयारीमा भारतिय सरकारी निकायहरू जुटेका छन् ।
लिपुलेक नाका भएर भारत र चीनबीच परम्परागत रूपमा व्यापार हुँदैआएकाेमा सडकमार्ग जाेडेर आधुनिक र ठूलो परिमाणमा व्यापार गर्ने दुबै देशकाे तयारी छ । यसकै लागि भारतले उच्च महत्त्वका साथ लिपुलेक सडक निर्माण गरिरहेको छ भने चीनले आफ्नो क्षेत्रबाट लिपुलेककाे सिमानासम्म दुई लेनकाे पक्की सडक बनाइसकेकाे छ ।
सन् २०१५ मा भारत र चीनबीच लिपुलेक नाका भएर व्यापार गर्ने सहमति भएकोमा नेपाल सरकारले भने यसप्रति आपत्ति जनाउदै आएको छ । महाकाली नदीपूर्वकाे आफ्नो भूगागमा पर्ने लिपुलुक नाकाबाट व्यापार गर्न सहमति गरिएको भन्दै नेपालले भारत र चीन दुबै छिमेकीलाई कुटनैतिक नाेट पठाएको थियाे ।
लिपुलेकबाट गरिने व्यापार पुनःसञ्चालनकाे लागि भारत र चीनले तयारी गरे पनि यसबारे नेपाल सरकारकाे प्रतिक्रिया सार्वजनिक भएको छैन ।








