टिंकर सडक निर्माणमा ः सेना छ, डोजर छ तर बजेट छैन

0
28

दार्चुला, वैशाख २१ गते ।
सरकारले रणनीतिक महत्वको र उच्च प्राथमिकताको भन्दै टिंकर सडक निर्माणमा नेपाली सेना खटाए पनि बजेट अभावले सडक निर्माण कार्य ठप्पप्रायः छ । चुच्चे नक्साको भूगोलनजिक छाङरुमा सडक निर्माणका लागि गत जेठ महिनामा पुर्याएको एक्जाभेटर (डोजर) नौ महिनादेखि प्रयोगविहिन अवस्थामा छ ।
भाषण, कागज र बैठकहरुमा उच्च प्राथमिकता र रणनीतिक महत्वको भनिए पनि सरकारले टिंकर सडकलाई बजेट विनियोजनमा उपेक्षा गर्दैआएको छ । चालू आर्थिक वर्ष २०८२÷८३ मा टिंकर सडक निर्माणमा ६ करोड ३१ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको छ ।
न्युन बजेट विनियोजनका कारण गतवर्ष हेलिकोप्टरमार्फत छाङरु पुर्याइएको एक्साभेटर मेसिन प्रयोगविहिन छ । यो वर्ष विनियोजन गरिएको बजेटमध्ये सडक निर्माण कार्यमा १ करोड मात्रै राखिएको छ । बाँकी बजेट छाङरुमा सेनाको क्याम्प निर्माण र मेसिन–उपकरण खरिदमा राखिएको छ ।
सडक निर्माणको एक करोड बजेटबाट साउनदेखि माघ दोस्रो सातासम्म निर्माण कार्य गरिएको स्थानीय बताउँछन् । व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि महाकाली नदीको पूर्वी किनारमा सडक निर्माण गर्ने योजना छ । व्यास गाउँपालिकाको वडा नम्बर १ टिंकर भञ्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माण गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ ।
सेनाले हाल व्यास गाउँपालिका–३ तुसारपानीदेखि वडा नम्बर २ को तम्बाकुसम्मको १६ किलोमिटर लामो क्षेत्र सडक निर्माण गरिरहेको छ । सडक निर्माणलाई गति दिनेभन्दै गत आर्थिक वर्षमा हेलिकोप्टरमार्फत एक्साभेटर मेसिन छाङरुमा ढुवानी गरिएको थियो ।
गत जेठ र असार महिनामा छाङरुनजिकको भूभागमा दुइ किलोमिटर सडकको ट्रयाक निर्माण पनि गरिएको थियो । तर चालू आर्थिक वर्षमा न्युन बजेट विनियोजन भएपछि छाङरुमा राखिएको एक्साभेटर मेसिन प्रयोगविहिन बनेको छ ।
हाल छाङरुको गागास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्म परिसरमा एक्साभेटर मेसिन राखिएको छ । सशस्त्र प्रहरी गुल्मको छेउमा रहेको नीजि घर भाडामा ल्याएर सेनाको टोली पनि बसेको छ । तर चालू आर्थिक वर्षको साउनदेखि हालसम्म छाङरु क्षेत्रमा सडक निर्माण कार्य नभएको स्थानीय बताउँछन् ।
एक्साभेटर मेसिन बिग्रिने डरले हप्तामा एकपटक मेसिन स्टार्ट गर्ने (चलाउने) गरिएको छ । ‘यो वर्ष सडक निर्माण कार्य त भएको छैन, तर हप्तामा एक पटक मेसिन स्टार्ट गरिन्छ’ सैनिक स्रोतको भनाई छ ।
छाङरुमा सडक निर्माण कार्यका लागि भन्दै गतवर्षदेखि सेनाको टोली राखिएको छ । सहायक सेनानीको कमाण्डमा हतियारसहित तैनाथ सेनाको टोलीले सडक निर्माण भने गर्न सकेको छैन । ‘वरिपरिका हिमाल र वनजंगल हेर्दै समय कटाउनुपरेको छ, सडक निर्माण केही हुन सकेको छैन’ छाङरुमा रहेको सेनाको सडक निर्माण टोलीको अवस्थाबारे स्रोतको भनाई छ ।
यो वर्ष टिंकर सडकमा छुट्याएको ६ करोड ३१ लाख बजेटमध्ये छाङरुमा सेनाको क्याम्प निर्माण गर्न १ करोड ८० लाख रुपैयाँ राखिएको छ । क्याम्प निर्माणको ठेक्का भइसकेको र आगामी असार महिनाभित्र क्याम्प निर्माण गर्न सम्पन्न गरिने तयारी रहेको छ । ‘७५ लाख रुपैयाँमा क्याम्प निर्माणको ठेक्का सम्झौता भएको छ, यो वर्ष सडक निर्माण नभए पनि क्याम्प भने निर्माण हुँदैछ, असार महिनासम्म क्याम्प निर्माण भइसक्छ’ स्रोतले भन्यो ।
चालू वर्षको बजेटमध्ये मेसिन तथा उपकरण खरिदका लागि २ करोड ५३ लाख रुपैयाँ राखिएको छ । यो बजेटबाट दुइटा एक्साभेटर मेसिन र एउटा ट्याक्टर खरिद गर्ने सेनाको योजना थियो । तर सडक निर्माण कार्यमा बजेट सकिएपछि मेसिन र ट्याक्टर मात्रै किनेर त्यसको उपयोग नहुने निस्कर्षमा सेना पुगेको छ ।
सेनाले मेसिन तथा उपकरणका लागि छुट्याएको अढाई करोड र क्याम्प निर्माणको ठेक्काबाट बचेको रकम गरी चार करोड रुपैयाँ रकमान्तर गरी सडक निर्माण गर्न प्रस्ताव गरेको छ । सेनाले गत पुषमै यस्तो प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले अढाइ महिनापछि मात्रै स्वीकृति दिएको छ ।
टिंकर सडकमा यो वर्ष विनियोजन गरिएको बजेटभित्रै एउटा क्रियाकलापको बजेट अर्को क्रियाकलापमा रकमान्तर गर्न पनि महिनौ लगाइएको छ । सेना र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट गत माघ मै बजेट रकमान्तरको प्रस्ताव अर्थमा पुगेको थियो । तर अर्थ मन्त्रालयले भने चुनावी आचारसंहिताको कारण देखाउदै रकमान्तरमा ढिलाइ गरेको हो ।
चुनावपछि गठन भएको नयाँ सरकारले भने बजेट रकमान्तरको प्रस्ताव स्वीकृत गरेको छ । तर चार करोड रुपैयाँ मात्रै बजेट रहेकोले चालू वर्षमा सडक निर्माण कार्यले खासै गति नपाउने स्रोतको भनाई छ । जिरो किलोमिटरदेखि हाल सडक निर्माण भइरहेको दुम्लिङ गाउँसम्मको सडक स्तरोन्नती गर्ने सेनाको तयारी छ । हाल आठ किलोमिटर सडकमा गाडी सञ्चालन भइरहेका छन् । व्यास गाउँपालिका–२ दुम्लिङ गाउँसम्मको थप चार किलोमिटर सडक स्तरोन्नती गरेर गाडी सञ्चालन गर्ने सेनाको तयारी छ ।
माघ दोस्रो सातादेखि निर्माण कार्य ठप्प रहेको तुसारपानी–दुम्लिङ क्षेत्रमा रकमान्तर गरिएको चार करोड रुपैयाँले निर्माण कार्य सुचारु गरिने भएको छ । एक हप्ताभित्रै यसक्षेत्रको सडक निर्माण सुचारु गरिने आयोजना स्रोतले बतायो ।
बजेट अभावले दुम्लिङभन्दा माथि व्यास गाउँपालिका–२ कल्जु र तम्बाकु क्षेत्र तथा व्यास गाउँपालिका–१ छाङरु क्षेत्रमा भने सडक निर्माण ठप्प छ ।
सरकारले २०७७ वैशाख १४ गते क्याविनेट निर्णय गर्दै ७९ किलोमिटर लामो दार्चुला–टिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । कठिन भूगोल, कडा चट्टान र अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा निर्माण गरिने टिंकर सडकलाई उच्च प्राथमिकता दिइएको भनिन्छ तर हरेक वर्षको बजेट विनियोजनमा टिंकर सडक उपेक्षामा परेको व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीको गुनासो छ ।
‘सेनाले चालू वर्षमा २५ करोड बजेट मागेको थियो तर छ करोड मात्रै पाइयो’ गाउँपालिका अध्यक्ष धामी भन्छन्, ‘एक वर्षमा दुइ–चार करोड छुट्याएर कसरी टिंकर सडक निर्माण हुन्छ ? यो सडक निर्माणमा अहिलेसम्मका सरकारको नियत नै ठिक देखिएन, अब नयाँ सरकारले के गर्छ हेरौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here