महाकाली कोरिडोरमा कालोपत्रेका लागि ५२ करोड बजेट थपिदै

0
71

दार्चुला, वैशाख २४ गते ।
महाकाली कोरिडोरका थप ६ किलोमिटर सडक कालोपत्रे गर्न बजेट थपिदैछ । भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालयमार्फत राष्ट्रिय योजना आयोगमा पुगेको प्रस्तावलाई आयोगले सहमतिका लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ ।
राष्ट्रिय योजना आयोगको वैशाख १४ गते बसेको २३औं बैठकले यस सम्बन्धि निर्णय गरेको जनाइएको छ । बहुवर्षिय आयोजनाको स्रोत सहमति सम्बन्धि मापदण्ड–२०८२ बमोजिम स्रोत सहमतिका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्ने आयोगको निर्णय छ ।
महाकाली कोरिडोर सडक योजनाले दार्चुला जिल्लामा पर्ने तिमुरपाटा, हुती, धौलाकोट खण्डको ६ किलोमिटर लामो सडक कालोपत्रे गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको थियो । गत पुषमा गरिएको प्रस्तावलाई भौतिक पूर्वाधार मन्त्रालयले सहमति र स्वीकृतिका लागि राष्ट्रिय योजना आयोगमा पठाएको हो ।
आयोगले सिफारिस गरेपछि अब अर्थ मन्त्रालयबाट सहमति प्राप्त हुनेछ । भौतिक पूर्वाधार मन्त्रालय र आयोगबाट सिफारिस भइसकेकोले अर्थबाट केही दिनमै स्रोत सुनिश्चिताको सहमति प्राप्त हुने महाकाली कोरिडोर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो ।
‘फिल्डस्तर र योजना कार्यालयमा आवश्यक गृहकार्य गरी स्रोत सुनिश्चिताको फाइल पठाएका थियौं, हाम्रो प्रस्ताव विभागिय मन्त्रालय हुँदै आयोगबाट पारित भएको जानकारी छ, केही दिनभित्रै अर्थबाट पनि सहमति प्राप्त हुन्छ’ महाकाली कोरिडोर सडक योजनाका सुचना अधिकारीसमेत रहनुभएका इन्जिनियर रैखोलाले भन्नुभयो ।
चालू आर्थिक वर्षमा महाकाली कोरिडोरमा २२ करोड ९७ लाख रुपैयाँ पूजीगत बजेट विनियोजन भएको छ । यो बजेटले गतवर्षहरुमै गरिएका ठेक्का सम्झौताअनुसारका कामहरु भइरहेका छन् ।
थपिने नयाँ बजेटबाट दुहुँ गाउँपालिकाको तिमुरपाटादेखि जोशीगाउँसम्मको क्षेत्रमा ४ किलोमिटर र त्यसभन्दा अगाडिको सडक खण्डमा थप २ किलोमिटर सडक कालोपत्रे गर्ने योजना कार्यालयको तयारी छ ।
अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि तत्कालै टेण्डर प्रकासित गरिने र चालू आर्थिक वर्षभित्रै निर्माण सम्झौता समेत गरिने योजनाले जनाएको छ । ६ हजार २० मिटर लामो सडक कालोपत्रे निर्माणका लागि ५१ लाख ९९ हजार रुपैयाँ बजेट मागिएको छ । अर्थ मन्त्रालयले स्रोत सुनिश्चिताको सहमति दिएपछि खरिद प्रक्रिया अघि बढनेछ ।
हाल महाकाली कोरिडोरअन्तर्गत दार्चुला जिल्लामा ३० दशमलव ८४ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । यसमध्ये खलंगादेखि उत्तरतर्फ दुहुँ र व्यास गाउँपालिका क्षेत्रमा १८ किलोमिटर तथा महाकाली नगरपालिकाको बेतदेखि मालिकार्जुन गाउँपालिकाको उकुसम्मको १२ किलोमिटर सडक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here