दार्चुला, असार ५ गते ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुको लाइफलाइनको रुपमा महाकाली राजमार्ग रहेको छ । यो राजमार्गको विकल्पको रुपमा दशकौंदेखि पाँच सडक निर्माण भइरहे पनि हालसम्म एउटा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
प्रदेश राजधानी धनगढीदेखि सातवटै पहाडी जिल्लाहरुलाई महाकाली राजमार्गले जोड्छ । धनगढीबाट डडेल्धुरा हुँदै सबै जिल्लालाई यो सडकमार्गले जोडेको छ । जुनसुकै पहाडी जिल्लाका लागि डडेल्धुरा भएर जानुपर्ने बाध्यता पनि रहिआएको छ । छोटो दुरीका वैकल्पिक सडकहरुले डडेल्धुरा पुग्नैपर्ने बाध्यता पनि हटाउनेछन् । तर लामो समयदेखि निर्माणाधिन वैकल्पिक सडकहरु पूरा भएका छैनन् ।
हाल महाकाली राजमार्गअन्तर्गत धनगढीबाट डडेल्धुरा–दिपायल–साँफेबगर–मार्तडी जोड्ने सडक सबैभन्दा लामो रहेको छ । यसको लम्बाई ३ सय ३७ किलोमिटर छ । यसैगरी धनगढीबाट डडेल्धुरा–खोड्पे–बझाङ सडक २ सय ६५ किलोमिटर र धनगढीबाट डडेल्धुरा–खोड्पे–सतबाझ–दार्चुला सडक ३ सय २३ किलोमिटर लामो छ ।
पहाडी जिल्लाहरु जोड्ने सडक दूरी घटाउनेगरी निर्माण भइरहेका वैकल्पिक सडकहरु भने सुस्ती गतिमा निर्माण भइरहेका छन् । तराईदेखि पहाडी भूभाग हुँदै हिमाली क्षेत्र अर्थात उत्तर–दक्षिण जोड्नेगरी महाकाली कोरिडोर, सेती लोकमार्ग र धनगढी–खुटिया–दिपायल–चैनपुर फास्टट्रयाक संघीय सरकारबाट निर्माण भइरहेको छ ।
संघीय सरकारले निर्माण गरिरहेका तिनवटै सडकहरुले तराईको भूगोलदेखि उत्तरतर्फ चीनको ताक्लाकोट बजार जोड्ने लक्ष्य राखिएको छ । महाकाली कोरिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाको भूगोल हुँदै टिंकर नाका भएर ताक्लाकोट जोड्नेछ । सेती राजमार्गले कैलालीको पूर्वी क्षेत्र टिकापुरदेखि अछाम, डोटी, बाजुरा र बझाङ हुँदै ताक्लाकोट जोड्ने लक्ष्य छ ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडकले पनि चीनको ताक्लाकोटसंगको कनेक्टिभिटीलाई लक्ष्य बनाएको छ । तर बझाङको सदरमुकामदेखि चैनपुरदेखि उत्तरतर्फ सेती लोकमार्गकै सडकमा फास्टट्रयाक मिसिन्छ । धनगढीबाट दिपायल हुँदै बझाङ जोड्ने सबैभन्दा छोटो दूरीको सडक भने फास्टट्रयाक बन्दैछ । यसको लम्बाई १ सय ८६ किलोमिटर मात्रै छ ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्मको ४ सय १३ किलोमिटर महाकाली कोरिडोर आर्थिक वर्ष २०६५/६६ देखि निर्माण सुरु गरिएको हो । निर्माणाधिन सबै सडकमध्ये पुरानो सडक हो । तर पर्याप्त बजेट विनियोजन नहुँदा महाकाली कोरिडोर निर्माणले गति लिनसकेको छैन ।
कुल १८ अर्ब १६ करोड अनुमानित लागतको महाकाली कोरिडोर निर्माणमा हालसम्म ३ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खर्च भएको महाकाली कोरिडोर सडक योजनाका इन्जिनियर दिनेश सिंह रैखोलाले बताउनुभयो । हाल कोरिडोर निर्माणअन्तर्गत रुख कटान कार्य ८५ प्रतिशत, ट्रयाक निर्माण कार्य ८६ प्रतिशत (सेनाले निर्माण गरिरहेको टिंकर खण्डबाहेक) र टेवापर्खाल निर्माण एवं सडक चौडा बनाउने कार्य ३० प्रतिशत सम्पन्न भएको छ ।
महाकाली कोरिडोरमा हाल सडक निर्माण कार्यका लागि १७ वटा ठेक्काहरु कार्यान्वयनमा रहेका छन् । चालू आर्थिक वर्ष २०८२/८३ मा २२ करोड ९७ लाख बजेट विनियोजन गरिएकोमा पछिल्लो समय १५ करोड रुपैयाँ बजेट थपिएको इन्जिनियर रैखोलाले जानकारी दिनुभयो । कोरिडोरअन्तर्गत सबै ठेक्काहरुको दायित्व १ अर्ब ३९ करोड ८४ लाख पुगेको छ ।
सेती लोकमार्गको निर्माण आर्थिक वर्ष २०६६/६७ देखि सुरु गरिएको थियो । ३ सय ५९ किलोमिटर लामो यो लोकमार्ग हाल उत्तरी र दक्षिण गरी दुई खण्डमा निर्माण भइरहेको छ । हालसम्म २ सय २१ किलोमिटर ट्रयाक खुलेको छ । बझाङमा चैनपुर–ताक्लाकोट सडक योजनाको रुपमा उत्तरी खण्ड र अछाममा सेती लोकमार्ग दक्षिणी खण्डको रुपमा कार्यालय सञ्चालनमा छ ।
सेती लोकमार्गको उत्तरी खण्डअन्तर्गत १ सय ५५ किलोमिटरमध्ये ७६ किलोमिटर लामो सडकको ट्रयाक खोलिएको छ । यसैगरी दक्षिणी खण्डअन्तर्गत २ सय ४ किलोमिटरमध्ये १ सय ३६ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । उत्तरी खण्डमा कडा चट्टान र दक्षिणी खण्डमा रुख कटानमा ढिलाइका कारण सेती लोकमार्ग निर्माणले गति लिन नसकेको सम्बद्ध कर्मचारीहरुको भनाई छ ।
धनगढी–खुटिया–दिपायल–चैनपुर फास्टट्रयाकको लम्बाई १ सय ८६ किलोमिटर रहेकोमा सबैक्षेत्रमा ट्रयाक खुलिरहेको छ । हाल सडक स्तरोन्नती, कालोपत्रे र पुल निर्माणको कार्य भइरहेको छ । आर्थिक वर्ष २०७२/७३ देखि निर्माण सुरु भएको फास्टट्रयाकमा हालसम्म ४१ किलोमिटर लामो सडक कालोपत्रे गरिएको छ ।
सात अर्ब ५४ करोड ६३ लाख ८१ हजार कुल लागत रहेको फास्टट्रयाकमा हालसम्म १ अर्ब ३९ करोड ७१ लाख ७८ हजार रुपैयाँ खर्च भएको योजना कार्यालयले जनाएको छ । भौतिकतर्फ २२ प्रतिशत र वित्तियतर्फ १८ प्रतिशत प्रगति भएको छ । फास्टट्रयाकमा आठवटा पुलहरु निर्माणको ठेक्का व्यवस्थापन भएकोमा हालसम्म तीनवटा पुल निर्माण सम्पन्न भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि पहाड र हिमाली क्षेत्रलाई तराईसंग जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिदैआएको छ । एक दशकअघि प्रदेश गौरवका सडकको रुपमा दैजी–जोडबुडा–पोखरा–ढुंगाड सडक र चिसापानी–जंगलघाट–मंगलसेन–बडिमालिका सडक पनि निर्माणाधिन अवस्थामै छन् ।
प्रदेश गौरवका सडक योजनामध्ये दैजी–जोगबुढा–पोखरा–ढुंगान सडक १ सय ३३ किलोमिटर लामो छ । यो सडकको सबै ट्रयाक खोलिएको छ भने ३४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको यो सडकले कञ्चनपुर, डडेल्धुरा र बैतडी जिल्लालाई जोड्दैछ । महाकाली राजमार्गको धनगढी–फल्टुडे–डडेल्धुरा सडक खण्डको विकल्पको रुपमा यो सडक रहेको छ ।
कैलालीको चिसापानीदेखि जंगलघाट–मंगलसेन–बडिमालिका जोड्ने सडक पनि प्रदेश गौरवको योजना हो । सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेको यो सडकमा हालसम्म ४१ किलोमिटर कालोपत्रे कार्य सम्पन्न भएको छ । यो सडकको निर्माणपछि अछाम मंगलसेनका नागरिकलाई तराई झर्न १ सय ५० किलोमिटर र बाजुराको बडिमालिका क्षेत्रका वासिन्दालाई २ सय किलोमिटर छोटो सडक सुविधा हुनेछ ।
प्रदेश गौरवका दुबै सडकहरुको कुल लागत भने एकिन भएको छैन । खण्ड–खण्डमा विभाजन गरी सडक निर्माण कार्य भइरहेकोले कुल लागत यकिन नभएको अधिकारीहरुको भनाई छ । बजेट अभाव र निर्माण कार्यको सुस्तताले प्रदेश सरकारका दुबै सडकको निर्माण अवधि समेत निश्चित भइसकेको छैन ।








