काठमाडौँ, जेठ ३ गते ।
देशभरका ८० वटा राजमार्गलाई छुट्याइएको बजेट अर्कै सडक आयोजनामा खर्च गरेको पाइएको छ । शुक्रबार महालेखा परिक्षकको ६३औं वार्षिक प्रतिवेदन-२०८३ को सांराशमा उल्लेख भएअनुसार सडक विभाग तथा मातहतका निकायहरूबाट स्वीकृत राष्ट्रिय राजमार्ग तथा लोकमार्गमा समावेश नभएका स्थानीय सडक पुल, निर्वाचन क्षेत्र रणनैतिक सडक, वैकल्पिक सहायक राजमार्ग विकास लगायतका ६ वटा कार्यक्रममा २८ अर्ब ७५ करोड ७० लाख विनियोजन भई २५ अर्ब ७ करोड ८४ लाख खर्च भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात (हालको पूर्वाधार विकास) मन्त्रालयले कुल पुँजीगत खर्चको तुलनामा २२.७५ प्रतिशत रकम मन्त्रालयको कार्यक्षेत्र (राष्ट्रिय राजमार्ग) बाहेकको सडकमा खर्च गरेको हो ।
कार्यक्षेत्रमा उल्लेख भएअनुसार राष्ट्रिय राजमार् भन्दा बाहिरका योजना कार्यान्वयन गर्ने कार्यमा नियन्त्रण हुनुपर्ने महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।
महालेखाको प्रतिवेदनअनुसार सरकारले १३ जेठ २०७० को निर्णयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारीमा २१ राजमार्ग तथा २ सय ९ वटा सहायक मार्ग रहने उल्लेख छ । मन्त्रिपरिषद्को ६ जेठ २०७६ को निर्णय अनुसार ९ किलोमिटरदेखि १ हजार ८ सय ८७ किमिसम्मका १४ हजार ९ सय १३ किमिका ८० सडकलाई राष्ट्रिय राजमार्गका रूपमा सूचीकृत गरेको छ ।
(इकान्तिपुर डटकमबाट साभार)








