नेपालको आपत्तिबीच लिपुलेकबाट व्यापार र कैलाश यात्राको तयारी

0
17

दार्चुला, असार ९ गते ।
लिपुलेकबाट कैलाश–मानसरोवर यात्रा र व्यापार गर्ने भारत–चीनको सम्झौताप्रति नेपालले आपत्ति जनाइरहेको छ । तर दुबै छिमेकीले भने व्यापार र यात्रा सञ्चालनको तयारी गरिरहेका छन् ।
दुबै छिमेकीले कोभीड महामारीका कारण छ वर्षसम्म बन्द रहेको व्यापार खोल्ने तयारी गरेका छन् भने गतवर्षदेखि नै कैलाश–मानसरोवर यात्रा पुनःसञ्चालन गरिएको छ ।
यो वर्षदेखि लिपुलेक नाका भएर व्यापार सुचारु गर्नेबारे गत चैत्रमा भारत र चीनबीच सहमति भएको थियो । बालेन नेतृत्वको वर्तमान सरकार गठन हुनुभन्दा केही दिनअघि मात्रै भएको यो सहमतिबारे नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको थिएन ।
सुशीला नेतृत्वको मन्त्रिपरिषद्का परराष्ट्रमन्त्री वालानन्द शर्माले यसबारे सरकारले अध्ययन गरिरहेको प्रतिक्रिया दिएका थिए । चैत्र १३ मा गठन भएको वालेन नेतृत्वको सरकार पनि एक महिनासम्म यो विषयमा मौन बसेको थियो ।
जुन १ देखि अक्टोबर ३१ तारेखसम्मको अवधिमा लिपुलेक नाका भएर व्यापार सञ्चालन गर्ने दुई देशबीच सहमति गरिएको थियो । त्यो सहमतिको एक महिनापछि वैशाख १८ गते अर्को सहमति सार्वजनिक भयो ।
लिपुलेक नाका भएर कैलाश–मानसरोवर यात्रा पनि सञ्चालन गर्ने सहमति दुबै छिमेकीले गरेपछि भने नेपाल सरकारले मुख खोल्यो । गत वैशाख २० मा नेपाल सरकारले औपचारिक रुपमा आपत्ति जनाएको हो ।
नेपाल सरकारले भारत र चीन दुबै छिमेकीलाई कुटनीतिक नोट पठाएको छ । साथै नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राका विषयमा आफ्नो धारणा समेत सार्वजनिक गरेको थियो । वैशाख २० को परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा कैलाश यात्राको साथै लिपुलेकबाट गर्ने भनिएको सिमा व्यापारबारे पनि आपत्ति जनाइएको छ । विज्ञप्तिको बुँदा नम्बर ४ मा ‘उक्त क्षेत्र(लिपुलेक)मा सडक निर्माण तथा विस्तार, सीमा व्यापार र तिर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दैआएको’ उल्लेख गरिएको छ ।
लिपुलेक नाकामा नेपालको आपत्तिलाई दुबै छिमेकीलाई नजरअन्दाज गर्दैछन् । यो वर्षको कैलाश–मानसरोवर यात्राको टोली र यात्री संख्या दोब्बर गरिएको छ । गतवर्ष लिपुलेक नाका भएर ५ टोलीमा २ सय ५० यात्रुहरुले कैलाश यात्रा गरेका थिए । यो वर्ष भने यात्राको टोली १० रहने र ५ सय यात्री सहभागी हुने जनाइएको छ । हरेक टोलीमा ५० जना यात्रु हुन्छन् ।
भारतको विदेश मन्त्रालयले अनलाइन प्रणालीमार्फत आवेदन संकलन गरी यात्रीहरुको छनौट गरिसकेको छ । सिक्किमको नाथुलाबाट पनि लिपुलेकको जस्तै १० टोली कैलाश यात्री सहभागी हुँदैछन् ।
लिपुलेकबाट कैलाश यात्रा गर्ने पहिलो टोली आगामी जुलाइ ६ मा पिथौरागढको धारचुला तहसिलमा पुग्ने तालिका छ । धारचुला, गुञ्जी, कालापानीसहितको क्षेत्रमा २ दिन विश्राम गरेर लिपुलेक नाकाबाट कैलाश यात्राको टोली चीन प्रवेश गर्नेछ ।
उत्तराखण्ड सरकारको कुमाउँ मण्डल विकास निगमले कैलाश यात्राको व्यवस्थापन गरिरहेको छ । भारत–तिब्बत सीमा पुलिसलाई सुरक्षा व्यवस्थापनको जिम्मेवारी दिइएको छ । कैलाश यात्राको अन्तिम टोली अगस्ट १७ मा धारचुला पुग्ने तालिका छ । लिपुलेकबाट कैलाश यात्रा गर्ने टोलीले तिब्बतको ताक्लाकोट बजार हुँदै कैलाश पर्वत र मानसरोवरको दर्शन गर्नेछ । अधिकांश यात्रुहरुले कैलाश पर्वत र मानसरोवर तालको परिक्रमा गर्छन् ।
पूर्वको नाथुला नाकाभन्दा कैलाश यात्राका लागि लिपुलेक नाका छोटो र सहज मानिन्छ । लिपुलेक नाकाको अन्तिम सिमाक्षेत्रमा दुई किलोमिटर पैदल हिड्नुपर्ने अवस्था छ । त्यसक्षेत्रमा सडक निर्माण गर्न बाँकी छ भने धारचुलादेखि गुञ्जी, कालापानी क्षेत्र हुँदै नाभीढाँगसम्म सडक निर्माण भइसकेको छ ।
कैलाश यात्राको तयारीबारे जानकारी लिन चीनका लागि भारतीय राजदूत विक्रम दोराईस्वामीले चीनिया भूमिबाट लिपुलेक नाकाको भ्रमण समेत गरेका छन् । बेइजिङबाट ल्हासा हुँदै कैलाश–मानसरोवर क्षेत्र पुगेका राजदूतले कैलाश पर्वतको परिक्रमपछि सामाजिक सञ्जाल एक्समा आइतबार एउटा भिडियो सन्देश सार्वजनिक गरेका छन् ।
भारत–चीनबीचको सहमतिअनुसार यो वर्ष २०२६ मा सञ्चालन गरिन लागेको कैलाश–मानसरोवर यात्राको तयारी एवं व्यवस्थापनबारे जानकारी लिन राजदूत दोराईस्वामी तिब्बतको ताक्लाकोट र लिपुलेक सिमाक्षेत्रसम्म पुगेका हुन् ।
आसन्न कैलाश–मानसरोवर यात्राको तयारी अवस्थाबारे जानकारी लिन आफुले लिपुलेक र नाथुला दुबै प्रवेश विन्दुको भ्रमण गरेको जानकारी राजदूतले दिएका छन् ।
कोभिड महामारीका कारण छ वर्षसम्म बन्द रहेको भारत–चीनबीचको सिमा व्यापार पनि यो वर्षदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ । लिपुलेक नाका भएर स्थलिय व्यापार सञ्चालनका लागि सुरक्षा व्यवस्थापन, भन्सार र बैंकिङ सेवा सञ्चालन लगायतको तयारी भइसकेको छ ।
चीनको ताक्लाकोट बजारसम्म जुन १ देखि अक्टोबर ३१ सम्मको अवधिमा व्यापार गर्न भारतीय व्यापारीहरु जाने गर्दछन् । गुड, चीनि, खाद्यान्न, सलाइसहितका सामान चीनतर्फ पठाइन्छ भने चीनबाट कपडा, ऊन र कस्मेटिक सामानहरु भारतमा आयात गरिन्छ ।
चीनसंगको व्यापार सञ्चालनका लागि पिथौरागढको धारचुला तहसिलमा अन्तर्राष्ट्रिय व्यापार कार्यालय खोलिएको छ । धारचुलाका एसडिएम आशीष जोशीलाई व्यापार (ट्रेड) अधिकारी तोकिएको छ ।
सोमबार मात्रै व्यापार अधिकारी जोशीले ताक्लाकोट व्यापारका लागि २६ जनालाई ट्रेड पास वितरण गरेका छन् । १७ जना व्यापारी र ९ जना सहयोगीहरुलाई पास दिइएको एसडिएम जोशीले जानकारी दिएका छन् । ताक्लाकोट पुगेर व्यापार गर्नका लागि हालसम्म १ सय ३ भारतीय नागरिकले ट्रेडपासका लागि आवेदन दिएका छन् ।
लिपुलेक नाकाबाट कैलाश यात्राको पहिलो टोली ताक्लाकोटतर्फ प्रवेश गरेपछि भारतीय व्यापारीहरुको टोलीका लागि पनि नाका खोल्ने तयारी छ । पछिल्लो समय सडक सुविधा विस्तार गरिएकोले लिपुलेक नाकाबाट हुँदैआएको व्यापार सहज भएको भारतीय व्यापारीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here