दार्चुला, असार ८ गते ।
अतिक्रमित नेपाली भूमि कालापानीभन्दा माथि नाभीढाँगमा ॐ हिमालको सामुन्ने तीन हजार किलोग्रामको शिवलिंग राख्ने प्रयास असफल भएको छ । सनातन धर्मको प्रचारमा संलग्न ‘आदि कैलाश २०–२०’ नामको संस्थाले शिवलिंग स्थापनाको गृहकार्य गरे पनि गुञ्जीक्षेत्रका स्थानीयले यसको विरोध गरेपछि पिथौरागढको स्थानीय प्रशासनले यसमा रोक लगाएको हो ।
महाराष्ट्र राज्यका नागरिक भरत जोशीको नेतृत्वमा शिवलिंग स्थापनाको तयारी गरिएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ । असार १ गते सोमबार औशीं तिथिमा शिवलिंग स्थापना गर्ने तयारी थियो । शनिवार पिथौरागढ पुर्याइएको शिवलिंग धारचुला हुँदै नाभीढागतर्फ ढुवानी हुँदैगरेको अवस्थामा पाङलाबाट फर्काइएको छ ।
छ फिट उचाई र चार फिट चौडाइ रहेको शिवलिंगको वजन तीन हजार (तीन टन) रहेको छ । शिवको वाहन नन्दीसहित शिवलिंग स्थापना गर्ने तयारी थियो । शिवलिंग स्थापना गर्ने अभियानमा भारत–तिब्बत सीमा पुलिस (आइटिविपी)का पूर्व आइजी (महानिरीक्षक) एपीएस निम्बाडियासहित ७० जनाको समूह छ । भारतको राजस्थानमा शिवलिंग निर्माण गरिएको जनाइएको छ ।
आफ्नो संस्थाको उद्देश्य सनातन धर्मको प्रचारप्रसार र संरक्षण गर्नु भएकोले उच्च हिमालय क्षेत्रमा शिवलिंग स्थापना गर्न लागिएको संस्थाका नेतृत्वकर्ता भरत जोशीले बताउनुभयो । आदि कैलाश र ॐ पर्वतको प्रसिद्धिका कारण यसक्षेत्रमा शिवलिंग स्थापना गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।
यसक्षेत्रमा भ्रमण गर्ने यात्रुहरुको संख्या बढिरहेकोले उनीहरुको आस्थालाई सम्मान गर्न पनि शिवलिंग स्थापना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । सोमबार अमावश्य तिथिको शुभसाइतमा हिन्दु विधिविधानअनुसार शिवलिंगको स्थापना गर्ने तयारी थियो ।
स्थानीयको विरोधपछि भने पिथौरागढ जिल्ला प्रशासनले शिवलिंग स्थापनामा रोक लगाएको छ । स्थानीयको भावना र मागलाई सम्बोधन गर्दै शिवलिंग स्थापनामा रोक लगाएको जनाइएको छ ।
स्थानीयको विरोध किन ?
गुञ्जीक्षेत्रका स्थानीयले भने शिवलिंग स्थापनाको विरोध गरेका छन् । गुञ्जीका स्थानीयवासी एवं होमस्टे सञ्चालक बलवन्त गुन्ज्यालले पिथौरागढका डिएमलाई जेठ ३१ मा लिखित निवेदन पठाएर शिवलिंग स्थापनाको कार्य तत्काल रोक्न माग गरेका छन् ।
ॐ पर्वत क्षेत्र आफुहरुको धार्मिक, सांस्कृतिक र प्राकृतिक आस्थाको केन्द्र भएकोले यसक्षेत्रमा कृत्रिम संरचना राख्नु असान्दर्भिक हुने उहाँको भनाई छ । शिवलिंग, नन्दीसहितका कृत्रिम संरचनाले यसक्षेत्रको प्राकृतिक र आध्यात्मिक पहिचान प्रभावित हुने स्थानीयको भनाई छ ।
स्थानीयवासीको आस्थामा आघात पुग्नेगरी कुनै पनि प्रकारका कृत्रिम संरचना राख्ने कार्य नगर्न माग गरिएको छ । गुञ्जीक्षेत्रका स्थानीयको भावना र सांस्कृतिक आस्थालाई सम्मान गर्दै कृत्रिम संरचना स्थापनामा रोक लगाउन माग गरिएको छ ।
पछिल्लो समय आदि कैलाश तथा ॐ पर्वत दर्शन यात्रा गर्नेको संख्या अत्यधिक बढेको छ । डेढ महिनाको अवधिमा ४५ हजारभन्दा बढी यात्रुले यसक्षेत्रको यात्रा गरेका छन् । भारत सरकारले उत्तराखण्ड राज्य सरकारको व्यवस्थापनमा आदि कैलाश तथा ॐ पर्वत दर्शन यात्रा सञ्चालन गरिरहेको छ । गतवर्ष ३६ हजार यात्रुले आदि कैलाश यात्रा गरेकोमा यो वर्ष एक महिनामै यो रिकर्ड तोडिएको छ ।
धारचुलाभन्दा माथि गुञ्जी हुँदै लिपुलेक र गुञ्जी–कुटी–जोलिङकाङ जोड्ने सडक निर्माण गरिएपछि यसक्षेत्रमा भ्रमण गर्नेको संख्या बढेको छ । तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गुञ्जी र आदि कैलाश क्षेत्रको भ्रमण गरेका छन् । मोदीको भ्रमणपछि दैनिक एक हजार नागरिकले यसक्षेत्रको भ्रमण गरिरहेका छन् ।








