लटिनाथमा जिल्लाभरीमै सस्तो ग्यास सिलिण्डर

0
130

दार्चुला, असार १७ गते ।
मार्मा गाउँपालिकाको केन्द्र लटिनाथ बजारमा दार्चुला जिल्लाभरीमै सस्तो ग्यास सिलिण्डर बिक्री भइरहेको छ । आधा भरिएको खाना पकाउने ग्यास लटिनाथ बजारमा १२ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । सदरमुकाम खलंगामा भने सिलिण्डरको मूल्य १४ सय ५० रुपैयाँ रहेको छ ।
लटिनाथस्थित मार्माली सिंह सप्लायर्सले ग्यासको खरिद र ढुवानी भाडामा न्युनतम मुनाफा जोडेर ग्यास सिलिण्डर बिक्री गरिरहेको बताएको छ । प्रति सिलिण्डर ५० रुपैयाँ मात्रै मुनाफा जोडेर ग्यास बिक्री गरिरहेको प्रोपाइटर अमर वहादुर सिंहले बताउनुभयो ।
मार्मा गाउँपालिका वडा नम्बर ३ स्थित लटिनाथ बजारमा सप्लायर्सको पसल र गोदाम रहेको छ । लटिनाथ, तपोवन, गुल्जरसहितको क्षेत्रमा ग्यास सिलिण्डर आफ्नो पसलबाट बिक्री भइरहेको उहाँले बताउनुभयो ।
सिंहका अनुसार अपीहिमाल गाउँपालिका केन्द्र खण्डेश्वरी र मकरीगाड बजारमा पनि ग्यास सिलिण्डर मार्माली सिंह सप्लायर्सबाट बिक्री भइरहेको छ । धनगढीमा भ्याटसहित १ हजार ५२ रुपैयाँमा खरिद भएको ग्यास सिलिण्डर ढुवानीमा १४० रुपैयाँ खर्च भइरहेको उहाँले बताउनुभयो । रेडियन्ट ग्यास कम्पनीले आफ्नै गाडीमा सिलिण्डर ढुवानी गर्दैआएको उहाँले जानकारी दिनुभयो ।
डिजलको मूल्य बढ्नुअघि कम्पनीले १२० रुपैयाँमा ग्यास सिलिण्डर ढुवानी गर्ने गरेकोमा पछिल्लो समय ढुवानी भाडा २० रुपैयाँ बढाइएको सिंहले बताउनुभयो । उहाँका अनुसार पूरै भरिएको सिलिण्डर यसअघि कम्पनीले १२० रुपैयाँमा ढुवानी गरेको थियो ।
कम्पनीको गाडीले रित्तो सिलिण्डर पनि लटिनाथबाट धनगढी फिर्ता लग्ने गरेको छ । उपभोक्ता हितका लागि ग्यासको मूल्य र ढुवानी भाडामा थोरै मुनाफा जोडेर ग्यास बिक्री गरिरहेको प्रोपाइटर सिंहको दाबी छ ।
मार्माली सिंह सप्लायर्सले विगत ५ वर्षदेखि लटिनाथमा ग्यासको बिक्री गर्दैआएको छ । ‘पूरै भरिएको सिलिण्डरको ढुवानी भाडा १२० रुपैयाँ हुँदा हामीले २१०० मा बिक्री गरेका थियौं, ग्यासको मूल्य बढेपछि सिलिण्डरको बिक्रीमा धेरै नाफा जोडेका छैनौं’ उहाँले भन्नुभयो ।
लटिनाथपछिको सस्तो सिलिण्डर शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वर बजारमा उपलब्ध छ । गोकुलेश्वरमा १२ सय ७५ रुपैयाँमा आधा भरिएको ग्यास सिलिण्डर बिक्री भइरहेको रेडियन्ट ग्यासका अधिकृत बिक्रेता सुबास पाण्डेयले बताउनुभयो ।
मालिकार्जुन गाउँपालिका केन्द्र शंकरपुर र मालिकार्जुन बजार क्षेत्रमा १३ सय ५० मा ग्यास सिलिण्डर बिक्री भइरहेको छ । नौगाड गाउँपालिका केन्द्र होपरीगाडमा पनि १३ सय ५० रुपैयाँमा आधा भरिएको ग्यास सिलिण्डर बिक्री भइरहेको स्थानीय व्यापारी गोविन्द सिंह ठगुन्नाले बताउनुभयो ।
अपीहिमाल गाउँपालिकाको मकरीगाडमा १३ सय ५० मा र खण्डेश्वरीमा जिल्लाभरीकै सर्वाधिक महंगो १७ सय ५० रुपैयाँमा ग्यास सिलिण्डर बिक्री भइरहेको अपीहिमाल गाउँपालिकाका प्रवक्ता रविन्द्र सिंह बोहराले बताउनुभयो ।
लेकम गाउँपालिकाको रिठाचौपातामा १४ सय ७५ र महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तुमा १४ सय रुपैयाँमा बिक्री भइरहेको छ । सदरमुकाम खलंगाभन्दा माथि दुहुँ गाउँपालिकाको धारीमा १५ सय ५० र हिकिलामा १६ सयमा सिलिण्डर बिक्री भइरहेको छ । खलंगाबाट ४० किलोमिटर सडक दूरीमा रहेको व्यास गाउँपालिका केन्द्र सुन्सेरामा ग्यास सिलिण्डरको मूल्य १६ सय रुपैयाँ रहेको स्थानीय पत्रकार मानसिंह कुवरले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here