दार्चुलाका तीन छोटी भन्सार खारेज, टिंकरमा राखिने

0
38

दार्चुला, असार १७ गते ।
सरकारले दार्चुलाका तीन छोटी भन्सार कार्यालय खारेज गरेको छ । नयाँ भन्सार नियमावली जारी गर्दै सरकारले सीतापुल, दत्तु र जोलजिवीको छोटी भन्सार कार्यालय खारेज गरेको हो । चीनसंगको नाका टिंकरमा भने छोटी भन्सार कार्यालय रहने भएको छ ।
रास्वपा नेतृत्वको सरकारले ल्याएको नयाँ भन्सार नियमावली गत वैशाख २१ गते राजपत्रमा प्रकासित भएको छ । नियमावलीको अनुसूची १ मा छोटी भन्सार कार्यालयहरुको सुची राखिएको छ । सुचीमा केही वर्षअघिसम्म सञ्चालनमा रहेको दार्चुलाका तीनवटा भन्सार कार्यालय राखिएको छैन ।
देशभरका १८ भन्सार कार्यालयलाई छोटी भन्सार कार्यालयको रुपमा सुचिकृत गरिएको छ । सुदूरपश्चिम प्रदेशका कञ्चनपुरको बेलौरी र दार्चुलाको टिंकर भन्सार कार्यालय छन् । बाँकी १६ छोटी भन्सार कार्यालयहरु अन्य प्रदेशको भूगोलमा छन् ।
भन्सार राजश्व संकलनको अवस्था र आवश्यकता हेरेर छोटी भन्सार कार्यालयहरु हटाइएको दार्चुला भन्सार कार्यालयका प्रमुख दिनेश सिंह धामीले बताउनुभयो । सीतापुल, दत्तु र जोलजिवीमा विगतमा भन्सार कार्यालय थिए । तर लामो समयदेखि ती स्थानमा भन्सार कार्यालय सञ्चालन हुन सकेका थिएनन् ।
नेपाल–भारतबीच नागरिकको सहज आवतजावतका लागि १० स्थानमा झोलुंगे पुल राखिएका छन् । महाकाली नदीमाथिका झोलुंगे पुलहरुबाट नागरिकले आवतजावत गरे पनि व्यापारिक प्रयोजनका सामान खलंगाको नाकाबाट मात्रै ल्याउन सकिने व्यवस्था छ । खलंगाको नाकामा नेपाल र भारत दुबैतर्फ भन्सार सुविधा भएकोले सामान ढुवानीका लागि यो नाका मात्रै प्रयोग हुने भन्सार कार्यालयका प्रमुख धामीले बताउनुभयो ।
सरकारले व्यास गाउँपालिकाको वडा नम्बर १ मा पर्ने टिंकर नाकालाई भने स्थान दिएको छ । चीनसंगको सीमानाका टिंकरमा छोटी भन्सार कार्यालयको दरबन्दी राखिएको छ । वर्षमा ५–६ महिनामात्रै सञ्चालन हुने भए पनि व्यापारिक कारोबार हुने भएकोले टिंकरको भन्सार कार्यालय खारेज नभएको बताइन्छ ।
टिंकरमा पञ्चायतकालदेखि नै भन्सार कार्यालयको दरबन्दी रहिआएको छ । २०६९–७० सालसम्म पनि टिंकरको भन्सार कार्यालयबाट राजश्व संकलन भएको अभिलेख छ । त्यसपछि भने टिंकरमा भन्सार कार्यालय सञ्चालन हुनसकेको छैन ।
सरकारले बझाङ जिल्लामा पर्ने उरैनाकामा भने भन्सार कार्यालय राखेको छैन । चीनसंगको सीमा जोडिने उरैनाकामा यसअघि पनि भन्सार थिएन । सुदूरपश्चिम प्रदेशलाई चीनसंग जोड्ने दुइटा नाकामध्ये टिंकर नाकामा भन्सार सुविधा राख्न सरकारको प्राथमिकता देखिन्छ ।
टिंकरको छोटी भन्सार कार्यालयसंगै सदरमुकाम खलंगामा मूल भन्सार कार्यालय रहेको छ । हाल सञ्चालनमा रहेको दार्चुला भन्सार कार्यालयले टिंकर छोटी भन्सार कार्यालयको पनि सञ्चालन गर्ने कार्यालय प्रमुख धामीले बताउनुभयो । खलंगाको भन्सार कार्यालयले धापको असिगडामा निर्माण गरिएको मोटरपुलसहितको नयाँ नाकाको पनि सञ्चालन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here