आदि कैलाश यात्रामा रोक

0
15

दार्चुला, असार १९ गते ।
भारतको पिथौरागढ जिल्ला प्रशासनले आदि कैलाश तथा ओम पर्वत यात्रामा रोक लगाएको छ । विहिवार दिउसोदेखि अर्को सुचना जारी नहुदासम्म यात्रामा रोक लगाइएको जानकारी सार्वजनिक गरिएको छ ।
मनसुनका कारण यात्रामा रोक लगाउनुपरेको प्रशासनको भनाई छ । पिथौरागढका डिएम आशीष भटगाइलाई उद्दृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले आदि कैलाश र ओम पर्वत यात्रा हाललाई रोकिएको खबर सार्वजनिक गरेका छन् ।
यात्राका लागि जारी हुँदैआएको इनर लाइन परमिट (अनुमतिपत्र) वितरण बन्द गरिएको छ । धारचुलास्थित एसडिएम कार्यालयबाट यो परमिट जारी हुनेगर्छ । हिमालय क्षेत्रमा मनसुनका कारण भारी वर्षा भइरहेकोले यात्री र सवारीसाधनको सुरक्षाका लागि यस्तो कदम चालिएको प्रशासनको भनाई छ ।
अर्को आदेश जारी नहुँदासम्म परमिट जारी गर्ने कार्य स्थगित गरिएको छ । धारचुलास्थित एसडिएम आशीष जोशीले जिल्ला प्रशासनको निर्णय विहिवारदेखि नै कार्यान्वयनमा आएको स्थानीय पत्रकारसंग प्रतिक्रिया दिएका छन् ।
अतिक्रमित नेपाली भूमि गुञ्जी, नाभी र कुटी हुँदै आदि कैलाश र ओम पर्वत यात्रा सञ्चालन हुँदै आएको छ । भारतको प्रशासनिक र सुरक्षा नियन्त्रणमा रहेको उक्त क्षेत्रमा भारतीय नागरिकले मात्रै यात्रा गर्न पाउँछन् ।
भारतीय नागरिकलाई आधार कार्ड र स्वास्थ्य परीक्षणको आधारमा यात्रको अनुमतिपत्र वितरण हुने गर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२३ मा आदि कैलाश र गुञ्जी क्षेत्रको भ्रमण गरेपछि यो क्षेत्र भ्रमण गर्नेको संख्या बढेको छ । यो वर्ष अहिलेसम्मकै सर्वाधिक यात्रुले भ्रमण गरेका छन् ।
आदि कैलाश पर्वत महाकाली मुहान क्षेत्रको पश्चिमतर्फ रहेको छ । यो नेपालले दाबी गर्दैआएको भूमिमा पर्दैन । महाकाली नदीभन्दा पश्चिमतर्फ रहेको आदि कैलाश हिमाल चीनको तिब्बतस्थित पवित्र कैलाश पर्वतको जस्तै आकृतिमा छ ।
अर्को गन्तव्य ओम पर्वत दर्शनका लागि भने गुञ्जीबाट लिपुखोला किनारैकिनार भएर कालापानी हुँदै नाभीढाग पुग्नुपर्छ । लिपुलेक नाकाभन्दा केही किलोमिटर तल नाभीढाँग क्षेत्रबाट ओम पर्वत दर्शन हुन्छ । प्राकृतिक रुपमै ॐ को आकृति भएकोले यसलाई ओम पर्वत नाम दिइएको छ ।
लिपुखोलाभन्दा पूर्वमा अवस्थित ओम पर्वत टिंकर नाकाको उत्तरतर्पm अवस्थित छ । ओम पर्वतलाई आफ्नो सम्पदा कायम गर्न पनि भारतले कालापानीभन्दा पूर्वतर्फ टाटा र टिंकर भञ्ज्याङ नजिकसम्मको क्षेत्र अतिक्रमण गरेको स्थानीय बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here