बैतडीभन्दा दार्चुलामा ग्यास सिलिण्डरको भाडा र मुनाफा दोब्बर

0
27

दार्चुला, असार १५ गते ।
नेपाल आयल निगमले हाल उपलब्ध गराउदैआएको आधा भरिएको ग्यास सिलिण्डरको उपभोक्ता मूल्य दार्चुलामा अत्यधिक रहेको छ । सदरमुकाम खलंगा क्षेत्रमा सुदूरपश्चिम प्रदेशकै उच्च मूल्यमा ग्यास सिलिण्डर बिक्रीवितरण भइरहेको छ ।
छिमेकी जिल्ला बैतडी सदरमुकाममा आधा भरिएको ग्यास सिलिण्डर १२ सय ५० रुपैयाँमा बिक्रीवितरण भइरहेको छ । धनगढीबाट ट्रकमा ढुवानी गरिएको ग्यास सिलिण्डर गोठालापानीमा १२ सय ५० रुपैयाँ बिक्री भइरहेको स्थानीय बिक्रेता बीरेन्द्र चन्दले बताउनुभयो ।
सुदूरपश्चिमका सबै जिल्लामा धनगढीबाट ग्यास सिलिण्डर आपुर्ति हुने गर्छ । सबै जिल्ला सदरमुकामलाई कालोपत्रे सडकले जोडेको छ । सडक दूरीका हिसाबले धनगढीबाट सर्वाधिक दूरीमा रहेको बाजुरामा १३ सय ५० रुपैयाँमा ग्यास सिलिण्डर बिक्री भइरहेको छ । सदरमुकाम मार्तडी क्षेत्रमा अधिकतम १३ सय ५० रुपैयाँमा आधा भरिएको ग्यास सिलिण्डर बिक्री भइरहेको पत्रकार प्रकाश वहादुर सिंहले बताउनुभयो ।
धनगढीबाट सतबाँझहुँदै बैतडीसम्मको सडक दूरी २१४ किलोमिटर छ । बैतडीमा ग्यास सिलिण्डर ढुवानी र बिक्रेताको नाफासहित धनगढीको मूल्यमा २०० रुपैयाँ थपिन्छ । धनगढीमा ग्यास सिलिण्डरको मूल्य १ हजार ५० देखि १ हजार ८० रुपैयाँसम्म छ । ग्यास कम्पनीहरुले धनगढीमा थोक बिक्रेताहरुलाई केही छुटमा ग्यास सिलिण्डर उपलब्ध गराउँछन् ।
धनगढीबाट ३२३ किलोमिटर दूरीमा रहेको दार्चुला सदरमुकाम खलंगामा भने ग्यासको पछिल्लो मूल्य १४ सय ५० रुपैयाँ तोकिएको छ । जिल्ला प्रशासन कार्यालयले ग्यास व्यापारीसंगको छलफलपछि यो मूल्य तोकेको हो । धनगढीबाट बैतडीको गोठालापानीसम्मको ढुवानी र मुनाफागरी २०० रुपैयाँ महँगो ग्यास दार्चुलामा भने बैतडीको भन्दा दोब्बर अर्थात ४०० रुपैयाँ महंगो पर्दैछ ।
सिलिण्डरको ढुवानी र बिक्रेताको मुनाफा बैतडीको भन्दा दार्चुलामा दोब्बर देखिन्छ । बैतडीको सतबाँझदेखि दार्चुलासम्मको १२६ किलोमिटर सडकमा ढुवानी भाडा चर्को जोडिएको छ । सतबाँझदेखि दार्चुलासम्मको १२६ किलोमिटरको ढुवानी भाडा र धनगढीदेखि बैतडीसम्मको २१४ किलोमिटरको ढुवानी भाडा हाराहारी देखिन्छ ।
धनगढीदेखि बैतडी र दार्चुलाको खलंगा दुबै स्थानसम्म पक्की सडक सुविधा छ । ठूला ट्रक र गाडीहरु सहज रुपमा सञ्चालन भइरहेको क्षेत्रमा ढुवानी भाडा भने असमान छ । दार्चुलामा ग्यास व्यापारीहरुले ढुवानी भाडा महंगो भएको बताउदैआएका छन् । जिल्ला प्रशासन कार्यालयले व्यापारीहरुको भनाईका आधारमा ग्यास सिलिण्डरको मूल्य १४ सय ५० रुपैयाँ निर्धारण गरेको छ ।
ग्यास ढुवानी मात्रै नभएर सार्वजनिक यातायात र ढुवानी भाडाको अनुगमन गर्ने निकाय पनि स्थानीय प्रशासन हो । निर्धारित दररेट र भूगोलको वास्तविकताका आधारमा ढुवानी भाडाको अनुगमन गरिनुपर्नेमा ग्यास व्यापारीले पेश गरेको ढुवानी विवरणकै आधारमा स्थानीय प्रशासनले महंगो ढुवानी भाडालाई मान्यता दिएको छ ।
सुदूरपश्चिमका अन्य जिल्लाभन्दा दार्चुलाको ढुवानी भाडा महंगो देखिन्छ । एउटै प्रकारको सडक सुविधा भएको अवस्थामा अन्य जिल्लाको भन्दा दार्चुलाको ढुवानी भाडा चर्को भएकोप्रति स्थानीय प्रशासनको ध्यान जानुपर्ने नागरिक समाज दार्चुलाका संयोजक महेश भट्टको भनाई छ ।
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा १४ सय रुपैयाँमा आधा भरिएको ग्यास सिलिण्डर बिक्री भइरहेको छ । अछाममा १३ सय ५० र डोटीमा १२ सय ग्यास बिक्री भइरहेको छ । धनगढीबाट १४० किलोमिटर दूरीमा रहेको डडेल्धुरामा ११ सय ५० रुपैयाँमा ग्यास बिक्री भइरहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लामध्ये डडेल्धुरामा सबैभन्दा सस्तोमा ग्यास सिलिण्डर उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here