दार्चुला, असार १५ गते ।
आफैले शिलान्यास गरेको झोलुंगेपुलको उदघाटन गर्न श्रमशक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साङपाङ सोमबार दुम्लिङ पुग्दैछन् । आइतवार साँझ धनगढीबाट नेपालकै बाटो भएर दार्चुला सदरमुकाम पुगेका साङपाङ सोमबार विहानै व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङतर्फ लागेका छन् ।
साङपाङले गत चैत्र २४ गते दुम्लिङको चौरा र काठादुम्लिङ जोड्ने घट्टेखोलामा झोलुंगे पुलको शिलान्यास गरेका थिए । श्रमदान र आर्थिक सहयोग संकलनबाट पुल निर्माण गर्ने अभियानअन्तर्गत झोलुंगे पुल निर्माण पूरा भएको हो ।
महाकाली नदीमाथि तुईनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता देखेर साङपाङले पुल निर्माणको घोषणा गरेका थिए । सुरुमा दुम्लिङस्थित नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुल निर्माणको घोषणा गरिएको थियो । तर भारत सरकारबाट सहमति प्राप्त नभएकोले दुम्लिङको घट्टेखोलामा पुल निर्माण थालिएको थियो ।
स्थानीयवासीको माग र आवश्यकताअनुसार घट्टेखोलामा पुल निर्माण गरिएको आयोजकले बताएका छन् । ७२ मिटर लामो झोलुंगे पुल निर्माणका लागि देशभरबाट श्रमदाताहरु दुम्लिङ पुगेका थिए । पुल निर्माणले सयौं नागरिकले श्रमदान र आर्थिक सहयोग उपलब्ध गराएको सांसद साङपाङले बताएका छन् ।
पुल निर्माणका लागि केही श्रमदाताहरु शिलान्यासदेखि नै लगातार पुल निर्माणस्थलमा खटिएको र स्थानीयवासीको ठूलो सहयोग प्राप्त भएको आयोजकले बताएका छन् ।
असार १६ गते मंगलवार झोलुंगे पुलको उद्घाटन गर्ने कार्यक्रम छ । पुल उद्घाटनका लागि श्रमशक्ति पार्टीका अध्यक्ष साङपाङ र राजनीतिक विश्लेषण डा. सुरेन्द्र केसीसहितका टोली दुम्लिङतर्फ गएका छन् ।
झोलुंगे पुल निर्माणले दुम्लिङका स्थानीय जनता खुशी भएका छन् । पुल निर्माणसंगै दुम्लिङ जोड्ने सडक मार्ग पनि खुलेको छ । पछिल्लो समय विद्युतको राष्ट्रिय प्रशारण लाइन पनि दुम्लिङमा पुर्याइदै छ । नेपाल टेलिकमले नयाँ मोबाइल टावर राख्ने प्रक्रिया पनि थालेको छ ।
झोलुंगे पुल निर्माणसंगै सडक, विद्युत, सञ्चार सुविधा पनि एकसाथ दुम्लिङमा विस्तार हुन थालेपछि स्थानीयवासी खुशी भएको दुम्लिङका स्थानीय रमेश सिंह जोहारीले बताउनुभयो । सांसद हर्क साङपाङको पुल निर्माणको अभियानले दुम्लिङ गाउँले चर्चा पाएको छ भने पछिल्लो दुई महिनामा सयौं नागरिकले यसक्षेत्रको भ्रमण पनि गरेका छन् ।
पुल निर्माण अभियानले दुम्लिङ गाउँका साथै सिमाक्षेत्र र सिंगो दार्चुला जिल्लामा सकारात्मक सन्देश फैलिएको धेरैको बुझाइ छ । पुल निर्माणबारे सुरुमा केहीले आलोचना र प्रश्न गरेका थिए । महाकालीमा पुल बनाउनुको सट्टामा घट्टेखोलामा पुल बनाइएकोमा प्रश्न गरिएको थियो । तर राजनीतिक पूर्वाग्रह राखेर पुल निर्माणको आलोचना गरिएको बुझाइ राख्नेहरु पनि धेरै थिए ।
पछिल्लो समय जिल्लास्तर पुल निर्माणबारे सकारात्मक चर्चा भइरहेको छ । दुम्लिङ गाउँ र सिमाक्षेत्रमा भने सबैले झोलुंगे पुल निर्माणको प्रशंसा गरेका छन् । छोटो समयमै श्रमदान र आर्थिक योगदानबाट झोलुंगे पुल निर्माण भएकोमा सबैजसो दंग छ ।
झोलुंगे पुल निर्माणबाट विद्यार्थीका साथै स्थानीयवासी, यार्सागुम्बा संकलक र पैदल यात्रुलाई सुविधा पुग्ने बताइएको छ । पुल निर्माणस्थलभन्दा आधा घण्टाको पैदल दूरीमा दुई किलोमिटर तल घट्टेखोलामा अर्को झोलुंगे पुल छ । तर दुई वर्षअघिको बाढीपहिरोले उक्त पुल क्षतिग्रस्त भएकोले त्यसको विकल्पमा पनि यो पुल प्रयोग हुने स्थानीय बताउँछन् ।
आफ्नो घोषणा र प्रतिवद्धताअनुसार समयमै पुल निर्माण सम्पन्न भएकोमा सांसद साङपाङले खुशी व्यक्त गरेका छन् । पुल निर्माणमा श्रमदान गर्ने, आर्थिक सहयोग गर्ने र योगदान गर्ने सबैलाई धन्यवाद दिइएको छ ।






