शंकर सिंह धामी
महाकाली नदीमा तुइनको जोखिमपूर्ण यात्रा गरिरहेको भिडियो हेरेर माननीय हर्क साङपाङको मन रोयो । आधुनिक समयमा पनि यस्तो जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन झोलुंगे पुल निर्माणको अठोट र संकल्प गरेका हर्क गत चैत्र २४ गते दुम्लिङ पुगे । जसरी पनि महाकालीमा पुल निर्माण गर्ने र तुइनको जोखिमपूर्ण यात्रा अन्त्य गर्ने अठोटमा रहेका हर्कलाई दार्चुलाको दुम्लिङ पुग्दासम्म भूगोलको अवस्थिति र पुल निर्माणका चुनौतीबारे धेरै जानकारी प्राप्त भयो ।
आफुले निर्माण गर्न खोजेको महाकाली नदीमा भारत सरकारको सहमति बेगर पुल बनाउन असम्भव रहेको वास्तविकता साङपाङले बोध गरे । र, विकल्पको रुपमा दुम्लिङ गाउँकै काठादुम्लिङ र चौरा बस्ती जोड्ने झोलुंगे पुल निर्माणको शिलान्यास गरे । दुम्लिङ र सीमाक्षेत्रका वासिन्दाले यो कार्यमा सहमति जनाए । किनकि स्थानीयवासीलाई पनि प्रष्ट थाहा थियो कि भारत सरकारको सहमतिविना महाकालीमा पुल निर्माण सम्भव छैन ।
यति टाढाबाट दुम्लिङको पीडा बुझेर सहयोग गर्न आएको टीमलाई स्थानीयले स्वागत गरे । तत्काल महाकालीको पुल निर्माण सम्भव नभए पनि काठादुम्लिङ जोड्ने घट्टेखोलाको पुल निर्माणमा सबै जुटे । पुल निर्माणमा सयौं श्रमदाता काठमाडौं, धरानसहित देशका विभिन्न ठाउँबाट दुम्लिङ पुगे । दुम्लिङ गाउँको अवस्था, पीडा, आवश्यकताबारे श्रमदाताहरु जानकार पनि भए । सक्दो भौतिक श्रमदान पनि गरे । सयौंले पुल निर्माणका लागि आर्थिक सहयोग पनि उपलब्ध गराए ।
महाकालीमा पुल बनाउछु भनेका हर्कले एउटा सानो खोलामा पुल बनाएको भन्दै केहीले आलोचना पनि गरे । तर, भारतको सहमतिबिना महाकालीमा पुल बन्न नसक्ने वास्तविकतालाई यी आलोचकहरुले देखेनन् । र, एकोहोरो रुपमा काठादुम्लिङको पुल निर्माणको खिल्ली उडाउने कार्य गरिरहे । राजनीतिक स्वार्थका कारण हर्कले पुल निर्माणको फण्डा गर्दैछन् भन्ने ती आलोचकहरुको बुझाइ पनि रह्यो ।
जे होस् हर्कको अभियानले पुल बनाइ छाड्यो । ७० दिनमा ७२ मिटर लामो झोलुंगे पुल तयार भयो । पुल निर्माणमा दुम्लिङका स्थानीयले भने पूरा साथ र समर्थन गरेका छन् । राजनीतिक स्वार्थकै कारण पुल निर्माण गरेको भए पनि राम्रो काम भएको तर्क पनि धेरैको छ । आफुले केही नगर्ने तर हर्कले विकट वस्तीमा पुल निर्माण गर्दा थरीथरीका आलोचना गर्ने भन्दै आलोचकहरुमाथि नै प्रतिप्रश्न गर्ने पनि धेरै छन् ।
प्रतिनिधिसभामा श्रमशक्ति पार्टीका संसदीय दलका नेतासमेत रहेका हर्क चैत्र २४ मा काठादुम्लिङको पुल शिलान्यासपछि काठमाडौं फर्किए । चैत्र २६ मा भएको उपसभामुखको निर्वाचनमा श्रमशक्ति पार्टीका सांसद रुबी ठाकुर निर्वाचित भइन । उपसभामुखको उम्मेदवारीप्रति समर्थन मन्तव्य राख्ने क्रममा हर्कमा संसद बैठकमा एउटा ‘असान्दर्भिक कुरा’ पनि भने ।
आफैले एउटा ‘असान्दर्भिक कुरा’ राख्छु भन्दै दार्चुलाको दुम्लिङ क्षेत्रमा तुइनको पीडा र सडकको आवश्यकताबारे भनाइ राखे । ‘म दार्चुलाबाट रोएर फर्किए, त्यहाँको समस्या र पीडाले दुखित भए । त्यहाँका जनता सडक सुविधाको अभावमा तुइनको जोखिमपूर्ण यात्रा गर्न विवश छन् । तपाईहरु पनि त्यसक्षेत्रमा जानुहोस्, त्यहाँको पीडा र समस्या बुझिदिनुस् । विशेषगरी गृहमन्त्री, भौतिकमन्त्री त्यहाँ पुगिदिनुहोस्’ सांसद साङपाङले राखेका ‘असान्दर्भिक कुरा’ थिए ।
हर्कको त्यो ‘असान्दर्भिक कुरा’ले सीमाक्षेत्रका वासिन्दाको मन जित्यो । सीमाक्षेत्रको पीडा र समस्याबारे जानकार धेरैको मन छोयो । सत्तारुढ रास्वपाकै समर्थनमा हर्कको पार्टीका सांसद उपसभामुखमा निर्वाचित भए । अब हर्कले उठाएको ‘असान्दर्भिक कुरा’ पनि रास्वपा सरकारले राम्रोसंग सुन्छ, अनि सम्बोधन पनि गर्छ भन्ने आश पनि जाग्यो ।
तर विडम्बना, हर्कको ‘असान्दर्भिक कुरा’ रास्वपा सरकारले असान्दर्भिक नै ठानिदियो । हर्कसंग मोबाइल नम्बर साटासाट गरेका प्रधानमन्त्री बालेनले यो ‘असान्दर्भिक कुरा’ गम्भीर रुपमा ग्रहण गर्छन् भन्ने धेरैलाई लाग्यो । तर बालेनले पनि कुनै महत्व दिएनन् । बालेन क्याबिनेटका गृहमन्त्री वा भौतिकमन्त्री कसैले पनि दुम्लिङको पीडा सुनेनन्, बुझेनन् ।
मन्त्रीहरुले दुम्लिङ भ्रमण गर्नु त टाढाको कुरा मन्त्रीले चलाउने मन्त्रालय, विभाग र सरकारी निकायका कुनै पनि अधिकारीले समेत दुम्लिङ क्षेत्र भ्रमण गरेनन् । सीमाक्षेत्रको स्थलगत भ्रमण गर्नुको छुट्टै महत्व र अर्थ हुन्छ । भूगोलको वास्तविकता र सीमावासीको आवश्यकताबारे यथार्थ जानकारी ग्रहण सकिन्थ्यो । तर व्यस्तताले हो वा उपेक्षाले हो सरकारीस्तरबाट कसैले पनि दुम्लिङको भ्रमण गरेनन् । जिल्लास्तरमै रहेका सरकारी निकायहरुसमेत दुम्लिङसम्म पुग्न असमर्थ देखिए ।
कारणबस स्थलगत भ्रमण नभए पनि दुम्लिङको आवश्यकताबारे सरकार जानकार हुनुपथ्र्यो । दुम्लिङको आवश्यकताबोध गर्दै सरकारले सम्बोधन गर्नुपथ्र्यो । तर हर्कका ‘असान्दर्भिक कुरा’ मा घण्टी सरकारले कुनै ध्यान दिएन ।
हो, यो बीचमा गत वैशाख २६ गते नेपाली सेनाले दुम्लिङमा गाडी पुगायो । व्यास गाउँपालिकाको वडा नम्बर २ राङथलदेखि ४ किलोमिटर लामो सडक खुलाएर दुम्लिङमा पुग्यो । यो एउटा उपलब्धि नै हो । तर, सीमाक्षेत्रको पीडा र समस्या यथावत छ ।
जेठ १५ मा नयाँ बजेट आयो । सरकारका मन्त्री र अधिकारीहरु सीमाक्षेत्र नपुगे पनि सेनाले निर्माण गरिरहेको टिंकर सडकमा पर्याप्त बजेट राखेर महत्व दिने मौका थियो । तर घण्टी सरकारले यो मौका पनि गुमायो । बर्षौदेखि पाइपलाइनमा रहेको विद्युतको राष्ट्रिय प्रशारण लाइन तत्काल दुम्लिङसम्म पुर्याउने मौका पनि थियो । तर, यो कार्यले पनि गती लिएको छैन, सुस्त गतिमा मात्रै काम भइरहेको छ ।
दुम्लिङमा मोबाइल नेटवर्कको समस्या रहेकोमा यसमा पनि सुधार भएन । टेलिकमले मोबाइल टावर राखिदिने बतायो । स्थानीय र पुल निर्माणमा संलग्न श्रमदाताले श्रमदान गरी टावर स्थापनाका लागि पोलसहितका सामान ढुवानी गरे । तर अहिलेसम्म टावर बनिसकेको छैन, दुम्लिङ गाउँमा मोबाइल नेटवर्कको सहजता भएको छैन ।
काठादुम्लिङको पुल शिलान्यास गर्दा रोएर गएका हर्क दुम्लिङ फर्किएका छन् । उनले थालेको पुल निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यो पुलको उद्घाटन गर्न हर्क दोस्रोपटक दुम्लिङ पुगेका छन् । तर सरकारको उपस्थिति र अनुभूतिमा फेरि परिवर्तन भएको छैन । हुन् त दुम्लिङमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति छ । अपीनाम्पा संरक्षण क्षेत्रको पोष्ट छ, विद्यालय छ, स्वास्थ्य इकाइ छ । तर सरकारी संरचनाको भौतिक संरचना र उपस्थितिले मात्रै अर्थ राख्दैन । सरकार भएको अनुभूति हुनुपर्छ ।
कोशी प्रदेशको सुनसरीबाट निर्वाचित एउटा सांसद विकटको दुम्लिङ पुग्छन् । यहाँको पीडा र समस्याबारे बोल्छन् । तर सरकार सीमाक्षेत्रको विकासमा गम्भीर देखिदैन । सरकारको सक्रियताप्रति नागरिक निराश छन् ।
विकास निर्माणको नेतृत्व सरकारले गर्नुपर्ने हो । विकास साझेदार, अभियन्ता र नागरिक त विकास निर्माणका सहायक मात्र हुन् । तर, दुम्लिङ र सीमाक्षेत्रको विकासमा सरकार चुकिरहेको छ । रणनीतिक महत्वको टिंकर सडकमा निम्छरो बजेट राखेर सरकार आफैलाई लज्जित बनाइरहेको छ । विडम्बना, आफ्नो जिम्मेवारी, सक्रियता र भूमिकाप्रति सरकार र सरकारी निकायहरु कुनै लज्जाबोध गरिरहेका छैनन् ।
यसबीचमा सांसद हर्क साङपाङले परराष्ट्र मन्त्रालयलाई दुम्लिङमा महाकाली नदीमाथि झोलुंगे पुल निर्माणको लागि भारतसंग समन्वय गर्न माग गरेका छन् । साङपाङले आफ्नो लेटरप्याडमै यसबारे पत्र लेखेका छन् । परराष्ट्रमन्त्री शिशिर खनाल र रास्वपा अध्यक्ष रवि लामिछानेले यसबीचमा भारत भ्रमण पनि गरेका छन् । तर दुम्लिङमा पुल निर्माणको विषय भने कहिकतै देखिएको छैन ।
दुई देशको सम्बन्ध सुधार र विकास कुटनीतिको नयाँ थेगो सुनिए पनि बर्षौदेखिको दुम्लिङ झोलुंगे पुलको विषयलाई सरकार र सत्तारुढ रास्वपाले महत्व दिएको छैन । हिजो जयसिंह धामीको तुइन घटनामा चर्को मिडिया बहस गर्ने रवि लामिछाने आज भारतसंग दुम्लिङको झोलुंगे पुलबारे छलफल गर्न समेत असमर्थ देखिएका छन् ।








