भदौ १५ भित्र कर्मचारी खटाउन मन्त्रालयको सर्कुलर

0
2491

दार्चुला, भदौ ८ गते ।
जिल्ला समन्वय समितिहरुलाई भदौ १५ गतेभित्र स्थानीय तहहरुमा कर्मचारी खटाउन विभागिय मन्त्रालयले सर्कुलर गरेको छ । श्रावणको अन्तिममा पत्राचार गरी देशभरीका जिल्ला समन्वय समितिहरुमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भए स्थानीय तहमा खटाउन भनिएको छ ।
यसअघि स्थानीय तहमा खटाइएका कर्मचारीलाई सम्बन्धित क्षेत्रमा निरन्तरता दिन भनिएको छ । कर्मचारी खटाउन बाँकी भएमा जिल्लाभित्रका स्थानीय तहहरुमा आवश्यकता अनुसार खटाउन पत्राचार गरिएको छ ।
जिल्ला समन्वय अधिकारी, इन्जिनियर र लेखापाल बाहेक अन्य पदहरुमा दरबन्दीभन्दा बढी नहुने गरी कर्मचारी खटाउन सकिने जनाइएको छ । ‘शाखा अधिकृतको दरबन्दीमा साविकको जिल्ला विकास समिति तर्फको सातौ वा आठौ तहको स्थायी कर्मचारी खटाउन सकिने’ प्रावधान राखिएको छ ।
नायव सुब्बा, राजपत्र अनंकित प्रथम, अधिकृत छैठौ र सहायक पाँचौ तहको दरबन्दीमा तह मिल्नेगरी साविकको जिविसको स्थायी कर्मचारी भए खटाउन सकिने प्रावधान पनि छ । ‘सबै स्थानीय तहहरुमा नेपाल सरकार र जिल्ला समन्वय समितिबाट कामकाज गर्न खटाइएका सबै कर्मचारीलाई समायोजन नभएसम्म अनिवार्य हाजिर गराई कामकाजमा लगाउन’ पनि भनिएको छ ।
आफ्नो जिल्लाभित्रका स्थानीय तहहरुमा कार्यरत कर्मचारीहरुको सेवा, समूह, श्रेणी, पद र तह समेत खुल्नेगरी विवरण अद्यावधिक गर्न र सोको जानकारी मन्त्रालयमा पठाउन सर्कुलर गरिएको छ ।
जिल्ला समन्वय समिति दार्चुलामा हाल १३ जनाको स्वीकृत दरबन्दी रहेको सुचना अधिकारी युवराज जोशीले बताउनुभयो । जिल्ला समन्वय अधिकारी, शाखा अधिकृत, इन्जिनियर, नासु, खरिदार, सव इन्जिनियर र लेखापाल एकएक जनाको स्वीकृत दरबन्दी छ । यसैगरी ४ जना कार्यालय सहयोगी र २ जना सवारीचालकको दरबन्दी पनि रहेको छ ।
कर्मचारी खटनपटन गर्न दार्चुलामा समस्या नरहेको जिल्ला समन्वय समितिका शाखा अधिकृत एवं सुचना अधिकारी युवराज जोशीले बताउनुभयो । समन्वय समितिले यसअघि नै सबैजसो कर्मचारीलाई खटाइसकेको उहाँले जानकारी दिनुभयो । सम्बन्धित स्थानीय तहबाट तलबभत्ता खाने गरी जिल्ला समन्वय समितिका कर्मचारी खटाइसकिएको उहाँको भनाई छ । देशभरीमै सम्बन्धित तहबाट तलबभत्ता खानेगरी कर्मचारी खटाउने दार्चुला पहिलो जिल्ला रहेको समेत उहाँको दावी छ ।