व्यासको छाङरुमा एकजना वेपत्ता

0
2561

दार्चुला, भदौ १४ गते ।
व्यास गाँउपालिकाको वडा नम्बर १ छाङरु गागाबाट एकजना वेपत्ता भएका छन् । नाम्पा वनक्षेत्रमा बाख्रा चराउदै आएका महाकाली नगरपालिका वडा नम्बर १ छापरी ‘बबा’ गाँउका ४५ वर्षिय जीतवहादुर बम वेपत्ता भएका हुन् ।
भदौ १२ गते अपरान्ह ५ बजे गागाको नाम्पाखोला नजिकबाट बम हराएका हुन् । बमको खोजी कार्य भइरहेको र नाम्पाखोला पुलमा एउटा चप्पल भेट्टिएको दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताउनुभयो ।
प्रहरीका अनुसार बमले रक्सी सेवन गरेका थिए । नाम्पा वनक्षेत्रमा आएका बमले एउटा बाख्राको किनमेल समेत गरेका थिए । घटनास्थल क्षेत्रमा रहेका दार्चुला प्रहरी प्रमुख अधिकारीले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । चीनको ताक्लाकोटमा सीमा बैठक सकेर फर्किने क्रममा डिएसपी अधिकारी व्यासको सितापुलमा रहेका छन् ।
नाम्पाखोलामा राखिएको काठेपुल नजिकबाट जीतवहादुर हराएका छन् । एउटा चप्पल फेला परेकाले नाम्पाखोलामा बगेको आशंका समेत गरिएको छ । घटनापछि बमका ४ जना आफन्तजन व्यासको छाङरु पुगेका छन् ।
वेपत्ता भएको मान्छेको खोजी कार्य भए पनि भेट्टाउन नसकिएको व्यास गाँउपालिका वडा नम्बर १ का अध्यक्ष अशोकसिह बोहराले फोनमा बताउनुभयो ।