लेकम क्षेत्रको दोस्रो ठुलो जयपुर जात्रा आज राती लाग्दै

0
354

दार्चुला,मंसिर ०५ गते ।
लेकम क्षेत्रकै प्रशिद्ध जयपुर जात्रा मंगलबार (आज) राति लाग्ने भएको छ । लेकम गाउँपालिका–५ जयपुरस्थित लटिनाथ मन्दिरमा नवमीको राती जात्रा लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रा व्यवस्थापनका लागि सरसफाई, विद्युतिकरण लगायत आवश्यक पूर्व तयारीको काम भइरहेको छ । जात्रामा मदिरा,जुवातास जस्ता क्रियाकलापलाई पूर्ण निषेध गरिएको छ ।
जात्रा हेर्न दार्चुलाका अधिकासं क्षेत्रसहित बैतडी लगायत जिल्ला र भारतको पिथौरागढबाट समेत भक्तजनहरु रिठाचौपाता पुगेका छन् । लेकम ५ जयपुर लटिनाथ मन्दीरमा बिहानैदेखी व्यापारीहरु, दर्शनार्थी आउँनेक्रम सुरु भएको छ । बिहानदेखी निरन्तर मानिसहरु आएसंगै मन्दीर परिसर भरीभराउ भएको र बाजागाजा र पुजाआजाको चहलपहल बढ्दै गएको बताइएको छ ।
जात्रामा रातभरी दामाहा बजाउँने, डेउडा, खेल, ठाडो खेल, ढुस्कु, धुमार लगायतका स्थानिय लोक संस्कृति झल्कने खेलहरु खेलेर रमाइलो गर्ने गरिन्छ । जात्रामा ठुलो संख्यामा मानिसहरुको भिडभाड हुने भएकोले शान्ति सुरक्षाकालागी सुरक्षाकर्मी र मन्दिर ब्यबस्थापन समिति सक्रिय भएर लागेको जनाएको छ ।
यस्तै मालिकार्जुन गाउँपालिका–३ मडस्थित मालिकार्जुन मन्दिरमा यहि मंसिर १० गते चतुर्दशीका दिन जिल्लाकै ठूलो रात्री जात्रा लाग्ने भएको छ । ९ गते शैल्यशिखर धुरामा कात्तिक शुक्ल त्रयोदशीका दिन पूजन जात्रा लाग्ने र त्यसको भोलिपल्ट मालिकार्जुन मन्दिरमा जात्रा लाग्ने मालिकार्जुन मन्दिर विकास समितिका सचिव जनक सिंह धामीले जानकारी दिनु भयो।