महाकाली मोटरपुलको स्थान छनौट भारतीय ‘अनुकुलता’मा

0
2881

दार्चुला, भदौ १० गते ।
दार्चुलामा नेपाल र भारत जोड्ने मोटरपुल निर्माणको गृहकार्य थालिएको छ । दुई देशबीचको सहमतिअनुसार मोटरपुल निर्माणको प्रक्रिया अघि बढेको हो । तर पुल निर्माणस्थलको चयनमा भारतीय पक्षको ‘अनुकुलता’ हावी देखिएको छ ।
महाकाली नदीमाथि बनाइने मोटरपुलको स्थान छनौट दुई देशको संयुक्त प्राविधिक टोलीले गरेको भनिए पनि भारतीय पक्षको ‘अनुकुलता’ छ । नेपालतर्फको स्थान छनौट भने भिरालो र साघुरो ठाँउमा गरिएको छ ।
प्रस्तावित मोटरपुल भारततर्फ धारचुला तहसिलअन्तर्गतको बलुवाकोट बजारदेखि करिब ५ किलोमिटर माथि तल्लो छारछुममा बनाइने छ । छारछुमको ठिक महाकाली वारी नेपालतर्फ भने साघुरो र भिरालो ठाँउ छ । नेपालतर्फ सडकको छेउमै मोटरपुल बनाइने भएको छ । तर साघुरो र भिरालो भएकाले पुल निर्माणको स्थान छनौट गर्दा नेपालको अनुकुलता नदेखिएको एक सरकारी अधिकारीले बताउनुभयो ।
केही दिनअघि भारतीय प्राविधिक टोली तथा नेपालको प्रशासनिक र प्राविधिक टोलीले मोटरपुल निर्माण हुने स्थानको भ्रमण गरेको छ । पुल निर्माणका लागि नेपाली पक्षबाट ‘नो अब्जेक्सन लेटर’को माग गरिएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य, सुरक्षा निकायका प्रमुख र सडक डिभिजन कार्यालय पाटनका इन्जिनियरसहितको टोलीले पुल निर्माणस्थलको अवलोकन गरेका हुन् ।
नेपालतर्फ पुल निर्माण गरिने जमिनको पहिचान र टुंगो लगाउन गृहकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । मालपोत, नापी कार्यालयका कर्मचारीले समेत पुल निर्माण हुने स्थानमा भ्रमण गरेका छन् । महाकाली नगपालिकाको वडा नम्बर १ सुरकाडामा महाकाली लोकमार्गको छेउमै पुल निर्माणस्थल छ ।
नेपालतर्फको प्रस्तावित पुल निर्माणस्थल भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि सहज नभएको सरकारी अधिकारीहरुको बुझाइ छ । शुक्रवार प्रमुख जिल्ला अधिकारीसहितको टोलीले दोस्रो पटक पुल निर्माणस्थलको भ्रमण गरेको छ । मोटरपुल निर्माणपछि सुरक्षाकर्मी, भन्सार लगायतको लागि भौतिक संरचना बनाउन ठाँउ अभाव हुने एक अधिकारीले बताउनुभयो ।
पुल निर्माणको अहिलेको प्रस्तावित ठाँउभन्दा ४ मिटरको दूरीमा मात्र सार्वजनिक जमिन उपलब्ध छ । पुल निर्माण गरिने ठाँउमै भवनलगायतका संरचना निर्माणका लागि चुनौती रहेको नेपाली पक्षको बुझाइ छ ।
दुबै देशको प्राविधिक टोलीले पुल निर्माणस्थल टुंगो लगाएकाले यसमा तत्काल हेरफेर हुन नसक्ने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको भनाई छ । पुल निर्माण भएपछि आवश्यकता अनुसार अन्य भौतिक संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।
मोटरपुल निर्माण गरिने भारततर्फको ठाँउमा भने वस्ती रहेको छ । तल्लो छारछुम गाँउको सडक छेउमा रहेको पिपलको रुख भएको स्थानमा पुल बनाइने प्राविधिकहरुले जानकारी दिएका छन् । भारतीय पक्षको लगानीमा महाकालीमा पुल बनाउन लागिएको छ । पुलको डिजाइन, इष्टिमेट र प्राविधिक अनुगमन लगायत सबै कार्य भारतको लोक निर्माण विभागले गर्ने डिभिजन सडक कार्यालय पाटनका इन्जिनियर शंकर खनालले बताउनुभयो ।
आफ्नो लगानी र प्राविधिक सहयोगमा पुल निर्माण हुने भएपछि भारतीय पक्षले आफ्नो अनुकुलतामा पुल निर्माणस्थलको टुंगो लगाएको धेरैको बुझाइ छ ।