महाकाली कोरिडोरमा दुइ हजार रुख काट्न सहमति

0
351

दार्चुला, माघ १७ गते ।
महाकाली कोरिडोर निर्माणका लागि दार्चुलामा २ हजार ४३ वटा रुखहरु कटान गर्न सहमति दिइएको छ । डिभिजन वन कार्यालय दार्चुलाले वन विभागको स्वीकृतिमा सडक निर्माण क्षेत्रमा पर्ने रुखहरु कटान गर्न मंगलवार लिखित सहमति दिएको हो ।
गतवर्षदेखि नै महाकाली कोरिडोर क्षेत्रमा पर्ने रुखहरु कटान गर्न पहल गरिएको महाकाली कोरिडोर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । सडक विभाग र वन विभागबीच दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लाको सडक निर्माण क्षेत्रमा पर्ने रुखहरु कटान गर्नेबारे २०७८ वैशाखमा लिखित सहमति भएको थियो ।
दार्चुलाको धरमघरदेखि अम्तोलासम्मको क्षेत्रमा सडक निर्माण गर्न बाटो खुलेको महाकाली कोरिडोर सडक आयोजनाले जनाएको छ । कोरिडोरअन्तर्गत दार्चुला जिल्लामा ३७ किलोमिटर लामो ट्रयाक खोल्न बाँकी रहेको योजना प्रमुख जोशीले बताउनुभयो ।
सडक निर्माणका लागि दार्चुला जिल्लामा ६२ दशमलव २ हेक्टर वनक्षेत्रको जमिन प्रयोग गरिन लागेको छ । डिभिजन वन कार्यालय दार्चुलाले तयार गरेको लगतअनुसारका रुखहरु कटान गर्न बाटो खुलेको सडक योजना कार्यालयले जनाएको छ ।
वन विभाग र वन निर्देशनालयबाट लगतअनुसार रुखहरु कटान गर्न स्वीकृत प्राप्त भएकोले महाकाली कोरिडोर सडक योजनालाई लिखित सहमति दिइएको डिभिजन वन अधिकृत परमानन्द कुवरले बताउनुभयो । डिभिजन वन कार्यालयको समन्वयमा रुखहरु काटिने तथा काटिएको काठ र दाउरा लिलामविक्री गरि राजश्वमा दाखिला गरिने डिभिजनल वन अधिकृत कुवरले बताउनुभयो ।
वन ऐन २०७६ को दफा ४२ र राष्ट्रिय प्राथमिकताप्राप्त योजनाको लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न दिने सम्बन्धि मापदण्डसहितको कार्यविधि २०७६ अनुसार रुख कटान गरी सडक निर्माणका लागि वनक्षेत्र उपलब्ध गराउन लागिएको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।
महाकाली कोरिडोर सडक योजनाअन्तर्गत दार्चुला जिल्लाको क्षेत्रमा रुख कटानको सहमति प्राप्त भए पनि बाँकी ३ जिल्लामा रुख कटानको सहमति प्राप्त नभएको योजनामा कार्यरत इन्जिनियर योगेन्द्र अधिकारीले बताउनुभयो । बैतडीमा २३ किलोमिटर लामो सडक निर्माण क्षेत्रमा रुख कटानको सहमति प्राप्त हुन बाँकी रहेको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो । डडेल्धुरामा ५८ किलोमिटरमध्ये १४ किलोमिटर लामो वनक्षेत्रमा रुख कटानको सहमति प्राप्त भएको छ । यसैगरी, कञ्चनपुर जिल्लामा पर्ने ११ किलोमिटर लामो क्षेत्रमा रुख कटानको सहमति प्राप्त हुन बाँकी रहेको महाकाली कोरिडोर सडक योजनाले जनाएको छ ।
बैतडीको कटान सहमतिको फाइल स्वीकृतिका लागि प्रदेश वन मन्त्रालयमा पुगेको इन्जिनियर अधिकारीले बताउनुभयो । डडेल्धुरामा ४४ किलोमिटर लामो वनक्षेत्रको रुख कटान सहमति प्राप्त हुन बाँकी छ भने कञ्चनपुर जिल्लामा पर्ने पुरैं ११ किलोमिटर लामो सडक निर्माण क्षेत्रमा पनि रुख कटानको सहमति प्राप्त हुन नसकेको सडक योजना कार्यालयले जनाएको छ ।
विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार सडक निर्माणका लागि काट्नुपर्ने रुखहरुको संख्या एकिन गर्ने, पुष्टि गर्ने, छपान गर्ने र कटानका लागि सहमति दिने कार्यमा लामो समय लाग्ने गरेको छ । सडक निर्माण गरिने क्षेत्रमा रुख कटानको सहमति प्राप्त गर्न ढिलाइ हुँदा सडक निर्माणको कार्यमा ढिलाइ भएको छ । ‘कोरिडोरअन्तर्गतका सबैक्षेत्रमा ट्रयाक निर्माण गर्ने ठेक्का सम्झौता भइसकेको छ तर वनक्षेत्रमा रुख कटानको सहमति पाउन ढिलाइ भएकाले सडक निर्माणको कार्य अघि बढ्न सकेको छैन’ महाकाली कोरिडोर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले भन्नुभयो ।